अर्थ

दाम्रीगाडको पुल निर्माणमा ढिलाइ

पलाँता गाउँपालिका-९ दाम्रीगाडको पुल निर्माणमा बेवास्ता हुँदा काठको भरमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। निर्माणाधीन पुल तीन वर्ष बितिसक्दा समेत पूर्ण रूपमा नबन्दा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीय पूर्णसिंह बमले बताए। पुल समयमा नबन्दा वर्षामा आवतजावात गर्न काठको भरमा यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। ‘लामो समय पुल नबन्दा हामीलाई सास्ती भइरहेको छ’, उनले भने, ‘रातविरात वृद्ध, बालबालिकाले जोखिम मोलेर यात्रा गर्नु परिरहेको छ। न त गाडी नै जान्छ। कहिलेसम्म कष्टकर जीवन बाँच्न पर्ने हो? दाम्रीगाडको अवस्था उस्तै छ। नागरिकले दुख पाइरहेका छन्। ठेकेदारको लापरर्वाही भएका कारण पुल तयार भएन।’

लामो समयदेखि पुल बन्ने आशामा रहेका पलाँत गाउँका बासिन्दा यतिखेर निराश छन्। २०७७ मा ३ करोड रूपैयाँ ठेक्कामा काम सुरु गरेको दाम्रीगाडको पुलमा तीन वर्षदेखि निर्माण व्यावसायी कम्पनी जगदम्बा सुपरस्टार जेवीले काम सुरु गरेको र यसको जिम्मा निर्माण व्यवसायी तारा शाहले पाएकी छन् तर पुल निर्माणको कामले अझै गति लिन सकेको छैन्।  

वर्षाले गर्दा यतिखेर पुल निर्माणको काम रोकिएको छ। वर्षा याममा सधैँ काम रोकिने र हिउँदको समयमा मात्र काम हुने भएकाले कामको प्रगति हुन सकेको छैन। पुल निर्माणमा कामदार नै थोरै परिचालन गर्ने गरेकाले पनि कामले गति लिन नसकेको स्थानीय सुमन बमले बताए।

पुल नबन्दा त्यहाँ वर्षौंदेखि नदी तर्न काठको भर पर्नुपर्ने अवस्था हट्न सकेको छैन। उक्त पुल निर्माणकार्य असार मसान्तमा सकिने गरी फेरि म्याद थप गरेको निर्माण व्यवसायी तारा शाहाले बताइन्। पहिला कोरोना कहरले ढिलो भएको र अब छिटै काम सम्पन्न गर्ने गरी दसैंपछि काम सुरु गरिने उनले बताइन्।

प्रकाशित: १५ कार्तिक २०७९ ०२:०४ मंगलबार

दाम्रीगाड पुल