अर्थ

नेताहरूको भोट बैंक बन्यो ‘कोटवाडा विमानस्थल’

परीक्षण उडानको दिन सुनथराली विमानस्थलमा अवतरण भएको चिलगाडी र स्वागतका लागि आएका स्थानीय। तस्बिर नागरिक

कालिकोटको नरहरिनाथमा निर्माणको क्रममा रहेको कोटवाडा विमानस्थलको चर्चा सुरू भएको ३७ वर्षभन्दा बढी भयो। पहिलोपटक २०७३ माघ २९ गते चिलगाडी (हवाइजहाज) सफल अवतरण भयो। स्थानीयले अबिरजात्रा पनि गरे। नेताहरूले पटक-पटक स्थलगत अनुगमन पनि गरे तर अहिलेसम्म बिमानस्थल निर्माण सम्पन्न हुन सकेको छैन। उक्त विमानस्थलको नाममा भोट बटुल्न प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महेन्द्रबहादुर शाहीले आफूले जितेको एक वर्षमा बिमानस्थलको काम सम्पन्न गने प्रतिबद्धता गरेका छन्।

२०६४ सालभन्दा अगाडि भएका निर्वाचन र त्यसपछि भएका निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले आफ्नो भोट बैंक विमानस्थललाई बनाउने गरेको स्थानीय प्रकाश न्यौपानेले बताउँछन्।

कालिकोटका पूर्वमुख्यमन्त्रीदेखि मन्त्रीसम्मले विमानस्थल निर्माण गर्ने भन्दै पटकपटक भोट माग्दै अनुगमन बाहेक ठोस कामगर्न नसकेको छैनन्। ‘नेता कार्यकर्ताको लस्कर आउने तर काम केही नहुने। यसपालिको निर्वाचनमा पनि भोटकै लागि विमानस्थल निर्माणको चर्चा सुरू हुन थालेका छ। स्थानीय मिना विष्टले भनिन्, ‘हामीलाई छिटो बन्नेमा विश्वास छैन।’ नेताहरूले विमानस्थल निर्माण मात्र होइन लालुलैफु सडक निर्माणलाई पनि भोट बैंककै रूपमा उपयोग गरिरहेको स्थानीयको गुनासो छ।

झण्डै ४ दशकसम्म पनि विमानस्थल बन्न सकेको छैन। चुनावका बेला धेरै चर्चा हुने विमानस्थलले कालिकोटे जनतलाई आकाशमा उडाउने सपना सपनामै सीमित बनाएको छ। ‘चुनावको बेलामा खुब चर्चा पाउने विमानस्थलले चुनावपछि भने महत्त्व पाएको छैन। चुनावमा भोट माग्ने बेलामा मात्र सुनथराली विमानस्थल बन्छ भन्छन्, अघिपछि वास्ता गर्दैनन्,’ एक स्थानीयले भने, ‘सुनथराली विमानस्थल एउटा भोट माग्ने माध्यम बन्दै आएको छ। राजनीतिक दल र नेताको पहुँच नपुग्नुले विमानस्थल निर्माण कार्य अलपत्र परेको हो।’

‘यहाँ विमानस्थल बनाउने कुरा चुनावको बेला मात्र चर्चा हुन्छ,चुनाव सकिएलगत्तै चर्चा पनि सकिने गरेको छ।’ ०७४ प्रदेशसभाको निर्वाचमा पनि महेन्द्र बहादुर शाहीले मुख्य अजेन्डा नै विमानस्थल बनाउने हुन्छ। भनेका थिए। तर उनी मन्त्री पनि भए कालिकोटबाट निर्वाचित भएर मन्त्री बनिसकेपछि आफूले चुनावका बेलामा गरेका प्रतिवद्धता पूरा गर्न फकिएर आएनन्।’

कोटवाडा विमानस्थलको कथा फरक छ। सदरमुकाम मान्मादेखि पाँच घण्टा टाढाको यो विमानस्थल बनाउँदा धेरैको रगत बगेको छ। ३५ जना मजदुरको ‘चिहान’माथि ‘चिलगाडी’ बस्ने ठाउँ बनाउँदैछ। सशस्त्र द्वन्द्वका क्रममा विमानस्थल बनाइरहेका धादिङको जोगीमाराका १७ सहित ३५ जनालाई स्थानीय एक विष्टको घरको आँगनमा २०५८ सालमा सेनाले एउटै चिहान बनायोे। सेनाले स्थानीय प्रयोग गरेर अहिले बन्दै गरेको विमानस्थलभित्रै ३५ जनाको शव गाडिएको छ।

२०७३ माघ २९ गते परीक्षण उडान सफल हुँदा स्थानीयमा खुसीको सीमा थिएन। चिहानमाथि चिलगाडी बसेको हेर्ने धोको पूरा भएको खुसीयालीमा स्थानीयले अवीर जात्रा गरे। परीक्षण उडान सफल भएपछि नियमित उडान होला भन्ने आशामा रहेका स्थानीय ६ वर्षसम्म पनि चिलगाडी फर्केर नआउँदा अहिले निरास छन्। त्यसमाथि ३७ वर्षसम्म विमानस्थल निर्माण पूरा भएको छैन।

मंसिर ४ गतेको निर्वाचनमा प्रतिनिधिसभाका उम्मेदवार महेन्द्रबहादुर शाही, स्वतन्त्र उम्मेदवार काशिचन्द बराल, प्रदेशसभाका उम्मेरदवार हिक्मत बिष्ट, स्वतन्त्र उम्मेदवार लक्ष्मणबहादुर बम लगायतले विमानस्थलको निर्माण सम्पन्न गर्ने चर्चा सुरू गरेर भोट माग्न थालेको स्थानीयले बताएका छन्। २०७४ को निर्वाचनबाट कर्णाली प्रदेशको मुख्यमन्त्री हुँदा महेन्द्र बहादुर शाहीले केही माखो मार्न नसकोले अहिले पनि विमानस्थल बनाउँछु भन्नु लजास्पद भएको स्थानीय रेवल विष्टले बताए।

‘विमानस्थल कालिकोटका जनताको लागि सुविधाका लागि मात्रै होइन, विमानस्थलको रनवेभित्र गाडिएका ३५ जना मजदूरको आत्माको शान्तिका लागि पनि चाँडोभन्दा चाँडो सञ्चालनमा आउनुपर्छ भन्ने हाम्रो माग छ,’ वडा नम्वर ९ का अध्यक्ष प्रदीप बोहोराले भने, ‘एउटा विमानस्थल बनाउन ३७ वर्ष समय लाग्नु लाजमर्दो विषय पनि हो।’

विमानस्थलका अरू संरचना निर्माण सम्पन्न भए पनि कालोपत्रेको काम भने अझै सुरू भएको छैन। सम्झौताअनुसार अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा निर्माण व्यवसायीले विमानस्थल कालोपत्रे सम्पन्न गरिसक्नु पर्ने हो। विमानस्थल कालोपत्रेको ठेक्का गौरी/पार्वती/श्याम एण्ड शंकर जेभीले लिएको छ।

६ सय ९० मिटर लामो र ६० मिटर चौडाइको धावनमार्ग कालोपत्रे र नाली निर्माणका लागि निर्माण कम्पनीले १३ करोड ८१ लाख रूपैयाँमा ठेक्का लिएको थियो। निर्माण कम्पनीका प्रतिनिधि कमल केसीले भौगोलिक विकटता र कोरोनाका कारण तोकिएको समयमा काम गर्न नसकेको बताए। ‘सुरूका दुई वर्ष कोरोनाका कारण काम गर्न सकेनौं,’ उनले भने, ‘कालिकोटको पनि विकट ठाउँ र मौसमी प्रतिकूलताका कारण समस्या भयो।’

विमानस्थल निर्माणका लागि हालसम्म ३९ करोड रकम खर्च भइसकेको छ। निर्माण व्यवसायीका प्रतिनिधि केसीले नागरिक उड्डयन प्राधिकरणले म्याद थप्नबित्तिकै काम सुरू गर्ने बताए। ‘नाला निर्माण, माटो कटिङ लगायतका काम सम्पन्न भएका छन्,’ उनले भने, ‘अब कालोपत्रेको मात्रै काम बाँकी छ, म्याद थप भएपछि बाँकी काम सम्पन्न गर्छौं।’

नागरिक उड्डयन प्राधिकरणले भवन र टावर निर्माणको काम पिआर इन्फ्रास्टक्चरलाई तीन करोड ४७ लाख रूपैयाँमा ठेक्का लिएको थियो। भवन र टावर निर्माणको काम सम्पन्न भइसकेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर रत्नबहादुर श्रेष्ठले विमानस्थल निर्माणका बाँकी काम सम्पन्न भएपनि मुख्य काम भने बाँकी रहेको बताए। ‘अरू सबै संरचना निर्माणका कामहरू पूरा भएका छन्,’ उनले भने, ‘कालोपत्रेको जिम्मा लिएको कम्पनीसँगको संझौता सकिएको छ, सम्झौता नवीकरण गरेपछि मात्रै कहिलेसम्म विमानस्थल निर्माण सम्पन्न हुन्छ थाहा होला।’

सेरीपान्तडी सडक पनि भोट बैंक

३७ वर्ष पुरानो सेरीपान्तडी सडक पनि नेताहरूको भोट बैंक बनेको छ। २०७४ को प्रदेशसभा निर्वाचनमा प्रदेशसभाका उम्मेरदवार कुर्मराज शाही, प्रतिनिधिसभाका उम्मेरदवार दुर्गबहादुर रावत लगायतका नेताहरूले सेरीपान्तडी सडक सम्पन्न गर्ने वचन दिएर विजयी भए तर अहिले पनि उक्त सडक निर्माण सम्पन्न भएको छैन। उनीहरू फेरि पनि मंसिर ४ गतेको निर्वाचनमा दुवैजना प्रदेशसभाका उम्मेरदवार छन्।

कुर्मराज शाही एमालेबाट र दुर्गबहादुर रावत माओवादी केन्द्रबाट लड्दैछन्। अहिले पनि भोट माग्न जादा सेरीपान्तडी सडक निर्माणको वचन दिने गरेको स्थानीयले बताएका छन्। चुनावमा मात्र सडक, शिक्षा, खानेपानी बनाउने झुटा बचन दिने गरेको र चुनावपछि फकेर नआउने गरेको स्थानीय बताउँछन्। पटक-पटकको मितिमा सिलान्यस गरेर पनि सडक निर्माण सम्पन्न नहुँदा स्थानीय निरास छन्।

प्रकाशित: १४ कार्तिक २०७९ ०३:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App