अर्थ

विराटनगर भन्सारको राजस्व खुम्चियो

विश्वव्यापी आर्थिक मन्दीको प्रभाव भन्सारको राजस्वमा देखिन थालेको छ। आयात घट्दो क्रममा रहेको र निर्यात पनि बढ्न नसकेका कारण विराटनगर भन्सारको राजस्व संकलनको लक्ष्य टाढा हुँदै गएको देखिएको छ।  

विराटनगर भन्सारले चालु आर्थिक वर्षको कुनै पनि महिना लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विराटनगर भन्सार कार्यालयले लक्षको ६५ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ। विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १३ अर्ब ४७ करोड २२ लाख ५१ हजार रुपैयाँ संकलनको लक्ष्य राखेकोमा ८ अर्ब ८४ करोड ८४ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। 

विराटनगर भन्सार कार्यालयले साउन महिनामा लक्षको ८०.९०, भदौ महिनामा लक्ष्यको ६५.२३, असोज महिनामा लक्ष्यको ५५.१३ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ। साउन महिनामा विराटनगर भन्सार कार्यालयले ३ अर्ब ६४ करोड ८६ लाख ४१ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य  लिएकोमा २ अर्ब ९५ करोड १४ लाख १७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। 

भदौ महिनामा ४ अर्ब ८६ करोड ८५ लाख २९ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकोमा ३ अर्ब ११ करोड १ लाख ८० हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ। यस्तै असोज महिनामा ५ अर्ब ५ करोड ५० लाख ८२ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकोमा २ अर्ब ७८ करोड ६७ लाख ८२ हजार रुपैयाँ मात्रै राजस्व संकलन भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ।

प्रकाशित: ८ कार्तिक २०७९ १०:२८ मंगलबार