अर्थ

‘चोरी पैठारी नियन्त्रण गर्न चुक्यो सरकार’

व्यवसायीहरूले जुत्ता चप्पल र छालाजन्य वस्तुमा हुने गरेको अनियन्त्रित चोरी पैठारी नियन्त्रण गर्न सरकार चुकेको आरोप लगाएका छन्।  

देशको माग धान्ने गरी उत्पादन गर्न सक्ने क्षमताको विकास भइसकेको अवस्थामा अनियन्त्रित रूपमा दक्षिणतिरको खुल्ला सीमाबाट हुने चोरी पैठारी र न्यून विजकीकरणका कारण उद्योगी व्यवसायीहरूलाई मार परेको उनीहरूको भनाइ छ।  फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनका अध्यक्ष नानिराज घिमिरेले अनियन्त्रित चोरी पैठारीलाई नियन्त्रण गर्न बजार अनुगमन कडा ढङ्गको र नियमित हुनुपर्ने, बिल जारी भए नभएको अनुगमन गरिनुपर्ने, वास्तविक मूल्य कायम गरेर आयात गर्ने व्यवस्था गरिनुपर्ने लगायतका कामहरू सरकारले गरिहाल्नुपर्ने बताए।  

व्यवसायीहरूको ठूलो लगानी र परिश्रम प्रयोग भएको अवस्थामा व्यवसाय नै धराशायी हुने गरी हुने गरेको अनियन्त्रित चोरी पैठारीलाई नियन्त्रण गर्न सरकारले गरेको प्रयास अपुग भएकोले सरकारको प्रयास थप सशक्त र चुस्त बनाउन व्यवसायीहरूको माग छ।  

सरकारी नीति नियममा नियन्त्रण र व्यवस्थापनको लागि पर्याप्त व्यवस्था गरिए पनि व्यवहारिक रूपमा लागु नभएको हुँदा यस्ता गतिविधि नियन्त्रण गर्न अझ बढी सक्रिय हुनु आवश्यक रहेको उनीहरूको बुझाइ छ।  

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनले भनेको छ– ‘यस विषयलाई गम्भीरतापूर्वक लिई यस्ता कार्यलाई निरूत्साहित गरेर स्वदेशी उद्योग बचाउन नेपाल सरकारको सम्बद्ध निकाय समक्ष यो एशोसिएसन हार्दिक अपिल गर्दछ। ’

प्रकाशित: २८ आश्विन २०७९ ०३:५८ शुक्रबार

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन