अर्थ

विद्युत् निर्यात १ अर्ब युनिट नाघ्यो,झण्डै ८ अर्ब आम्दानी

भारततर्फको विद्युत् निर्यात १ अर्ब युनिट नाघेको छ। नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो। त्यसपछि मंगलबारसम्म अर्थात् २५ असोज सम्ममा १ अर्ब ३० लाख युनिट विद्युत् निर्यात भएको हो।

देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यात गरी यस अवधिमा ७ अर्ब ९३ करोड २२ लाख रूपैयाँ खुद आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। ‘विद्युत् निर्यात एक अर्ब युनिट नाघ्नु हाम्रो लागि अर्को कोसेढुंगा हो’, उनले भने। निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत मूल्य ७ रूपैयाँ ९१ पैसा रहेको छ।

सुरुमा दुईवटा विद्युतगृहबाट उत्पादित ३९ मेगावाट विद्युत्लाई स्रोत मानी दैनिक रूपमा आइएक्समा बिक्री गरिएको थियो। त्यसपछि जेठ २७ गते ६ वटा जलविद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिक ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ।

भारतसँगको विद्युत् व्यापार भारतीय रूपैयाँ (भारु)मा हुने भएकाले यस अवधिमा विद्युत् बिक्रीबाट ४ अर्ब ९५ करोड ७६ लाख भारु नेपाल भित्रिएको छ। यसबाट नेपालको विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको छ। प्राधिकरणले चालु आर्थिक वर्षमा विद्युत् निर्यातबाट करिब १६ अर्ब रूपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ।

आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ। त्यसैले हरेक ब्लकको मूल्य फरक-फरक हुने गरेको छ। प्राधिकरणले अहिलेसम्म निर्यात गरेको विद्युत्को औसत दर प्रतियुनिट ७ रूपैयाँ ९१ पैसा रहेको छ।

प्रकाशित: २६ आश्विन २०७९ ०३:२५ बुधबार

इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) नेपालको विदेशी मुद्रा सञ्चिति