अर्थ

राजमार्ग सडकको दुर्दशाले यात्रुलाई सकस

तीन दिनदेखिको लगातार वर्षाका कारण महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–३, मानाकोट नजिकै झरेको पहिरोले अबरुद्ध भएको सडक। पहिराले राजमार्ग अबरुद्ध गरेपछि सवारी साधनमा आवतजावत गर्ने यात्रु अलपत्र परेका छन्। तस्बिर: रासस

मुलुकका अधिकांश राजमार्ग नियमित मर्मतसम्भार नहुँदा यो वर्ष दशैं मनाउन घर जाने र फर्कने सर्वसाधारणले निकै सास्ती बेहानुपर्‍यो। बर्सातको पानीले भत्काएको हुँदा नेपालका अधिकांश मुख्य राजमार्गहरू कतै सग्लो देखिँदैनन्।

दशैंको टीकाको दिन अर्थात् (गत बुधबार) बिहानैदेखि परेको बर्सातको कारणले आफ्नो आफन्तको घरमा गएर टीका लगाउनका लागि निकै सास्ती पाए।

गाउँघरमा-दशैं मनाएर आफ्नो कर्मथलोमा फर्किनेहरूले बाढीपहिरो र खाल्डाखुल्डीयुक्त ‘एम्बुस’जस्तो सडककै कारण आउजाउमा निकै समस्या देखिएको छ। सामान्य अवस्थामा पोखरा–काठमाडौं माइक्रो बसमा यात्रा गर्दा ६ घण्टामा सहजै यात्रा गर्न सकिन्थ्यो तर अहिले सोही रूटमा यात्रा गर्न कम्तिमा पनि १२ घण्टाभन्दा धेरै समय लाग्ने गरेको छ।

संघीय सरकारले मुलुकभरका अधिकांश ठूला राजमार्गका सडकहरू विस्तार तथा स्तरोन्नतिको ठेक्का लगाउँदा पनि बेहाल देखिएको छ। विशेष गरेर बुटबल-नारायणगढ (१०६) किलोमिटर सडक खण्ड, पृथ्वी राजमार्ग, अरनिको राजमार्ग, पासाङल्हामु राजमार्ग, पूर्व–पश्चिम राजमार्गका अधिकांश स्थानमा यात्रा गर्ने सर्वसाधारणले धेरै नै सास्ती खेप्नुपरेको थियो। बर्सातको कारणले सडक माथिल्लो भागबाट खसेको ढुंगामाटासहितको गेग्य्रान थुप्रिएर सडक अवरूद्ध भएको थियो।

ट्राफिक इन्जिनियर आशिष गजुरेलले सरकारले नियमित रूपमा राजमार्गका सडक नियमित मर्मतसम्भार/स्तरोन्नति नगर्दा सर्वसाधारणले हैरानी खेप्दै आउनुपरेको बताए। ‘सरकारले राजमार्गको सडक पनि ट्र्याक खने जसरी विस्तार गर्दै आइरहेको छ। त्यसैले पनि राजमार्गका सडक खाल्डाखुल्डी र असुरक्षित बन्दै आइरहेका छन्,’ उनले भने ‘सरकारले राजमार्ग निर्माणको मात्रै होइन्, नियमित मर्मतसम्भारको काम पनि तालिका बमोजिम गर्नुपर्ने हुन्छ तर यहाँ नियमित मर्मतसम्भारको अभावमा नेपालका सडक असुरक्षित हुँदै आइराखेका छन्।’ सरकारले राजमार्गका सडक सेफ्टीमा विशेष चासो दिनुपर्ने बताए।

सडकको दुरावस्था र यान्त्रिक गडबडीका कारण फूलपाती (असोज १६) यता बिहीबारसम्ममा ५ सय ५६ वटा सवारी दुर्घटना भएका छन्। बितेका पाँच दिनमा मात्रै ५४ जनाको ज्यान गएको र १ हजार ५७ जना घाइते भएको नेपाल प्रहरीका अनुसार छन्।

कुलेसा तथा खहरे खोलाको पानीले सडक खोतल्दा पनि धेरै नै समस्या सिर्जना गरेको थियो। लामो दूरीको यात्रा गर्ने यात्रुले ८ देखि १० घण्टाभन्दा धेरै समयको जामको सामना गर्नुपरेको थियो। अधिकांश पहिरो र बाढीले क्षतविक्षत भएको सडक एकतर्फी रूपमा मात्रै सञ्चालन गरिएको थियो।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले दशैंको बेला बर्सात भएकाले पनि राजमार्गका सडकको अवस्था झन् दयनीय भएको बताउँछन्। ‘दशैंमा केही ठाउँमा त मर्मतसम्भार गरेका थियौं तर बर्सातको भेलसहित आएको बाढीपहिरोले मर्मतसम्भार कहाँ थेग्न सक्छ !’ उनले भने ‘ढुंगामाटोसहितको गेग्य्रानले सडकलाई छोपी दिँदा सडकको यो दुर्दशा देखिएको हो।’ सडक विभागका महानिर्देशकले दशै अघि मर्मतसम्भार गरेको दाबी गरेपनि राजमार्गको सडकको बेहालले उनको भनाइलाई चुनौती दिने गरेको छ।

सडक विभागका महानिर्देशक थापाले बर्सातको समयमा अत्याधिक पानी परेकाले र दशैंको अवसरमा कर्मचारी पनि बिदामा बसेकाले तुरून्त सडक मर्मतसम्भारको काम गर्न केही अप्ठेरो भएको बताए। ‘हाम्रा राजमार्गहरू पहाडैपहाड भएर जान्छन्।

अहिले धेरैजसो राजमार्ग विस्तार तथा स्तरोन्नतिको लागि ठेक्कापट्टामा गएका छन्। विदेशी कम्पनीलाई निर्माण गर्नका लागि भनेर हस्तान्तरण गरिएका छन्। त्यसले पनि सडक मर्मतसम्भारमा केही जटिलता देखिएको छ,’ उनले भने-‘भर्खरै दशैं सकिएकाले पनि राजमार्गमा परेका खाल्डाखुल्डी सडक मर्मतसम्भारको काम अघि बढ्नेछ।’

सडक विभागले अहिले नागढुंगा–नौबिसे–मलेखु–मुग्लिन–पोखरा सडक खण्ड स्तरोन्नति गर्नका लागि ठेक्का आह्वान गरिसकेको छ। त्यसैगरी नारायणगढ– बुटबल सडक खण्ड पनि स्तरोन्नतिको काम अलपत्र हुँदा पनि सर्वसाधारणले हैरानी खेप्दै आइरहेका छन्।

नारायणगढ–बुटवल सडक योजना कार्यालयले असोज ९ गते सार्वजनिक सूचना जारी गरेर एक महिनाभित्रै अपेक्षाकृत प्रगति नभएको खण्डमा सिधै ठेक्का तोडिने जनाएको छ। यो आयोजनाको ४२ महिनाको अवधिमा मुस्किलले २० प्रतिशत पनि प्रगति भएको छैन। सरकारले आव २०७५/७६ मा ११३ किलोमिटर सडक निर्माण तथा स्तरोन्नति गर्ने योजना अघि सारेको थियो।

अर्थले सडक बोर्डको बजेट फ्रिज गर्दा मर्मतसम्भारमा समस्या

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक बोर्ड मातहतको ७ अर्ब रूपैयाँ अर्थ मन्त्रालयले फ्रिज गरिदिँदा सडक मर्मतसम्भारको काम प्रभावित भएको जनाएको छ। यसअघि सडक बोर्ड मातहतको रकमबाट सडकको नियमित मर्मतसम्भारको काम हुँदै आइरहेको थियो तर अर्थमन्त्रालयले असार मसान्तपछि बोर्ड मातहत रहेको रकम फ्रिज गरिदिएसँगै अहिले नियमित मर्मतसम्भारको लागि बजेटको चर्काे अभाव हुँदै आइरहेको छ।

सडक विभागका महानिर्देशक थापाले अर्थमन्त्रालयले सडक बोर्ड मातहतको मर्मतसम्भारको रकम फ्रिज गरिदिँदा नियमित सडक मर्मतसम्भारको काम प्रभावित हुँदै आइरहेको बताए।

प्रकाशित: २४ आश्विन २०७९ ०२:३२ सोमबार

राजमार्ग सडकको दुर्दशा यात्रुलाई सकस मर्मतसम्भारमा समस्या