अर्थ

भित्र्याउनै लागेको धान सखाप

भित्र्याउने तयारी भइरहेको धानमा बाढी। बाढीले धान भिजाएपछि यहाँका किसान चिन्तित भएका छन्। साथमा तत्कालीन प्रदेश सांसद कृष्णा केसी।

राप्तीसोनारी गाउँपालिका–९ खैरेनीस्थित गजाधर थारु दसैंअघि नै धान भित्र्याउने चटारोमा थिए। तर, दसैं भित्रिएपछि काटिसकेको धान भित्र्याउन अर्को दिन कुरे। उनी दसैंको रमझममै रमे। एक कठ्टामा लगाएको धान दसैंको दिनदेखि तीन दिनसम्म परेको अवीरल वर्षाले लुथुरुक्कै भिजाइदियो। बाली भित्र्याउनै लाग्दा लगातारको झरिले सखाप पारिदियो। उनीजस्तै पोकसरी डाँगीले तीन कठ्टामा लगाएको धान पनि भित्र्याउन पाइनिन्। बारीमै काटेर राखेको धान भिजेर काम नलाग्ने भएको छ।  

धान भित्र्याउँदै गर्दा झरि आएर भित्र्याउन नपाइएको गजाधरले बताए। ‘धान काटिसकेको थिए,’ उनले भने, ‘काटेर खेतमै सुकाएको धान भित्र्याउन पाएन।’ धान भिजेर काम नलाग्ने भएको उनी बताउँछन्। यसपालि वर्षाले धान सखाप पारेपछि उनी चिन्तित भएका छन्। ‘यसपालिले राम्रो बाला लगाएको थियो,’ पोकसरी भन्छिन्, ‘के गर्ने लगातारको वर्षाले भित्र्याउनै पाएन।’ लगातारको वर्षाले बाँकेका किसानले भित्र्याउनलाई काटेर राखेको धानमा ठूलो क्षति भएको छ। यसको तथ्यांक संकलन भइरहेको जिल्ला कृषि ज्ञान केन्द्रले  

जनाएको छ। धान भिजेपछि यहाँका किसान दुखी भएका छन्। नेपालगन्ज, कोहलपुर बजार क्षेत्रभन्दा बाहिरका अधिकांश सर्वसाधारण कृषि पेशामा निर्भर छन्। ‘धान लगाउँदा समयमै पानी परेन। परे जतिले भ्याएसम्म पानी रोपेका थियौं,’ कर्णवीर थारुले भने, ‘पूरै धान नलगाए पनि थोरै लगाएको थिएँ। त्यो पनि पानीले क्षति पुर्‍यायो।’ गत वर्ष पनि बेमौसमी वर्षाले यहाँका किसानले लगाएको धान सखाप पारेको थियो। करिब करोडौंको धान नोक्सानी भएको थियो। वर्षा हुने पूर्व सूचना पाएपछि अधिकांश किसानले भने धान काटेका थिएनन्। धान काटेको भए गत वर्षकै नियति दोहोरिने सम्भावना रहेको किसानले जनाएका छन्।  

निवर्तमान प्रदेश सांसद कृष्णा केसी (नमुना) का अनुसार राप्तीसोनारीका अधिकांश खेत पानीले जलमग्न भएका छन्। ‘नकाटिएको धान पनि भिजेर काम नलाग्ने भएको छ,’ उनले भनिन्, ‘काटेको धान भिजेर लुरुथुक्कै छ।’ यहाँका किसानलाई ठूलो विपती परेको उनीहरू बताउँछिन्। बाली बिमा गर्दा किसानलाई राहत हुने उनको भनाइ छ।

प्रकाशित: २३ आश्विन २०७९ ०२:५२ आइतबार

धान