यस्तै, गत आर्थिक वर्षमा महाभूकम्पका कारण आर्थिक वृद्धिदर ३.०४ प्रतिशत हुने अनुमान गरिए पनि विभागले अनुमान संशोधन गरेर २.३२ प्रतिशत मात्रै पुग्ने जनाएको छ। विशेषतः गत वर्षको वैशाखमा गएको भूकम्पको असर बाँकी रहेको र चालु आर्थिक वर्षको नाकाबन्दी र खेती–किसानी गर्ने मौसममा पानी कम परेकाले कृषिउत्पादनमा आएको कमीका कारण चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर सुस्त भएको तथ्यांक विभागका महानिर्देशक सुमनराज अर्यालले बताए ।
गत वर्ष वैशाखमा गएको महाभूकम्पले जरैदेखि हल्लाएको अर्थतन्त्र चालु आर्थिक वर्ष २०७२/७३ मा तराई–मधेस आन्दोलनका नाममा भारतको पाँचमहिने नाकाबन्दी तथा कमजोर मनसुनले कृषिउत्पादनमा ह्रास आउनाले संकुचन भए पनि स्वास्थ्य तथा शिक्षाजस्ता सेवा क्षेत्रका कारण नकारात्मक नै भने नभएको विभागले मंगलबार सार्वजनिक गरेको अनुमानले देखाएको छ ।
विभागका अनुसार कृषि क्षेत्रको कुल गार्हस्थ उत्पादनमा ३१.१९ प्रतिशत योगदान रहेको प्रारम्भिक अनुमान गरिए पनि कृषि क्षेत्रको वार्षिक वृद्धिदर भने १.१४ प्रतिशत मात्रै हुनेछ ।
कुल गार्हस्थ उत्पादनमा गणना गरिने अर्थतन्त्रका १५ क्षेत्रमध्ये शिक्षा, स्वास्थ्य, सरकारी क्षेत्र, रियलस्टेट, जस्ता सेवा क्षेत्रको बृद्धिदर सकारात्मक भएतापनि खानी तथा उत्खनन, उद्योग, विद्युत, होलसेल तथा रिटेल, होटल तथा रेस्टुरेन्टजस्ता ६ क्षेत्रको वृद्धिदर भने नकारात्मक हुने अनुमान छ ।
सबैभन्दा कमजोर उत्पादनमूलक क्षेत्रमा पाँचमहिने नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ अभाव तथा विद्युत आपूर्तिमा पनि कमीले औद्योगिक उत्पादन घट्नु स्वाभाविक हो । गत आर्थिक वर्षको तुलनामा यस वर्ष औद्योगिक क्षेत्रको उत्पादन करिब ९.८६ प्रतिशत घटेको विभागको तथ्यांक छ । यो क्षेत्रको उत्पादनमा करिब साढे चार अर्ब रुपैयाँले कमी आउने देखिन्छ ।
अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने कृषि क्षेत्रको वृद्धिदर अपेक्षाअनुरुप नभए पनि १.१४ प्रतिशत हुने अनुमान छ । अघिल्लो वर्ष धान, कोदो तथा गहुँबालीजस्ता कृषिउत्पादनमा कमी आएपछि कृषि क्षेत्रको योगदान उल्लेख्य घटेको हो ।
यसैगरी, कुल गार्हस्थ उत्पादनमा क्षेत्रगत आधारमा कृषि क्षेत्र अझै पनि सबैभन्दा बढी अर्थात् ३१.१९ प्रतिशत योगदान दिने क्षेत्र रहने अनुमान छ भने सबैभन्दा कम योगदान मत्स्यपालन अर्थात् ०.५० प्रतिशत योगदान रहने देखिएको विभागले जनाएको छ । कृषिपछि अर्थतन्त्रमा धेरै योगदान थोक तथा खुद्रा व्यापार (१४.२३ प्रतिशत), रियलस्टेट तथा व्यावसायिक सेवाको योगदान ९.१६ प्रतिशत र यातायात, सञ्चार तथा भण्डारण क्षेत्रको योगदान ८.४२ प्रतिशत रहने अनुमान छ ।
यस्तै, अर्थतन्त्रमा निर्माण क्षेत्रको ६.८८ प्रतिशत र शिक्षा क्षेत्रको ६.७६ प्रतिशत योगदान रहने छ भने उद्योग क्षेत्रको योगदान अर्थतन्त्रमा घटेर ५.५३ प्रतिशतमा झरेको छ ।
यस्तै, कुल गार्हस्थ उत्पादनका आधारमा नेपालको अर्थतन्त्रको आकार भने चालु आर्थिक वर्षमा २२ खर्ब ४८ अर्ब रुपैयाँ पुग्ने देखिन्छ । गत आर्थिक वर्षमा भने नेपालको अर्थतन्त्रको आकार २१ खर्ब २० अर्ब थियो ।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाले चालु आर्थिक वर्षको आर्थिक वृद्धिद्धर ०.९ प्रतिशतले ऋणात्मकदेखि २.२ प्रतिशतसम्म हुने अनुमान गरिरहेका थिए । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ०.९ प्रतिशतले ऋणात्मक हुने प्रतिवेदन सार्वजनिक गरेको थियो भने संयुक्त राष्ट्र संघको एसिया प्रशान्तको आर्थिक तथा सामाजिक सर्वेक्षण २०१६ले सोमबारमात्रै २.२ प्रतिशतसम्म आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक गरेको थियो ।
प्रतिवेदन सार्वजनिक गर्दै विभागका महानिर्देशक अर्यालले विभिन्न संस्थाले आ–आफ्नै तरिकाले कुल गार्हस्थ उत्पादन (जिडिपी) को प्रक्षेपण गरे पनि विभागको तथ्यांक आधिकारिक रहेको बताए ।
उनले विभागले चालु आर्थिक वर्षको नौ महिनाको तथ्यांकका आधारमा आर्थिक वृद्धिदर अनुमान गरेको भन्दै आर्थिक वर्ष सकिनै लाग्दा अर्थतन्त्र केही चलायमान देखिएकाले वृद्धिदरमा केही सुधार हुनसक्ने बताए ।
यसैबीच, विभागले आगामी आर्थिक वर्षदेखि कुल गार्हस्थ उत्पादन मापनको आधार वर्ष परिवर्तन गर्ने भएको छ । हाल २०५८–५९ लाई आधार वर्ष मानेर मापन गर्दै आएकोमा आगामी आवदेखि सन् २०६७–६८ लाई आधार वर्ष बनाएर मापन गरिने जानकारी दिइएको छ ।
आम्दानी बढ्यो/घट्यो
एक वर्षमा नेपालीको आम्दानी औसतमा ३ हजार ८ सय ४२ रुपैयाँले बढेको छ। विभागका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा करिब ४.९८ प्रतिशत मात्रै आय बढेको हो । राष्ट्र बैंकले भने चालु आर्थिक वर्षमा बजारभाउ भने करिब १० प्रतिशत हाराहारी रहेकाले तुलनात्मक रुपमा आय बढेको भन्न नमिल्ने बताउँछ। विभागका अनुसार चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आम्दानी ८० हजार ९ सय २१ रुपैयाँ पुगेको छ ।
अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ७७ हजार ७९ रुपैयाँ थियो । यसैले गत एक वर्षमा तथ्यांकमा मात्र आम्दानी बढेको हो तर वास्तविक रुपमा भने मूल्यवृद्धिका कारण नेपालीको खर्च बढेकाले आम्दानी घटेको छ ।
अर्थतन्त्रका क्षेत्र तथा वृद्धिदर (अघिल्लो आर्थिक वर्षको तुलनामा)
१) कृषि तथा वन १.१४ प्रतिशत२) मत्स्यपालन ११.७६ प्रतिशत
३) खानी तथा उत्खनन ६.५४ प्रतिशतले (ऋणात्मक)
४) उद्योग क्षेत्र ९.८६ प्रतिशतले (ऋणात्मक)
५) विद्युत, ग्यास तथा पानी क्षेत्र १.६६ प्रतिशतको (ऋणात्मक)
६) निर्माण ३.९८ प्रतिशतले (ऋणात्मक)
७) थोक तथा खुद्रा व्यापार १.१३ प्रतिशत (ऋणात्मक)
८) होटल तथा रेस्टोरेन्टमा ४.८५ प्रतिशत (ऋणात्मक)
९) यातायात, सञ्चार तथा भण्डारण २.५५ प्रतिशत
१०) वित्तीय मध्यस्तता ३.३० प्रतिशत
११) रियलस्टेट तथा व्यावसायिक सेवा ३.७२ प्रतिशत
१२) सार्वजनिक प्रशासन तथा रक्षा ५.७८ प्रतिशत
१३) शिक्षा क्षेत्र ६.६९ प्रतिशत
१४) स्वास्थ्य क्षेत्र ८.८५ प्रतिशत
१५) अन्य सामुदायिक तथा सामाजिक क्षेत्र ५.६० प्रतिशत
प्रकाशित: २१ वैशाख २०७३ १९:५० मंगलबार