अर्थ

माटोको मूर्ति बनाएरै साढे ३ लाख बढी आम्दानी

दशैँका लागि बनाएको मूर्तिमा पेन्टीङ गर्दै कपिलवस्तु नगरपालिका वडा नम्बर १ भिक्षु टोलका सुनिल तिवारी।

जिल्लामै मूर्तिकार भनेर चिनिएका कपिलवस्तु नगरपालिका वडा नम्बर १ भिक्षुटोलका सुनिल तिवारीलाई यतिबेला मूर्ति बनाउनै चटारो छ। विगत ५ वर्षदेखि मूर्ति बनाउने धन्दामा लागेका तिवारीलाई नजिकिँदै गरेको दशैँकालागि मूर्ति बनाउन भ्याइ–नभ्याइ छ।

मूर्ति व्यवसायलाई आफ्नो जीवनको आधार बनाएका उनले बावा मूर्ति कला केन्द्र नाम फर्म दर्ता समेत गराएका छन्। दशैंको बेला प्रदर्शन गरिने दुर्गा भगवतीका मूर्तिहरुका बनाउन अर्डर आएकोले दिनरात मूर्ति बनाउन लागि परेको उनी बताउँछन्।

विजया दशमीमा जिल्लाका विभिन्न स्थानमा निकालिने देवी देवताको माटोका मूर्तिहरु बनाउन भ्याइन–नभ्याइ छ। तीन महिना अघिदेखि मूर्ति बनाउन सुरु गरेका उनी अहिले विभिन्न आकारका मूर्ति तल्लनी छन्। मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेकोले उनी अहिले सजावट तथा रंगरोगन कार्यमा लागेका छन्।

‘डेलीभरी समयमै दिन छ अहिले मूर्ति बनाउन भ्याइ–नभ्याइ छ’ उनले भने। उनी अहिले दुर्गा भगवाती दानव तथा विभिन्न देवी देउताका बनाएको मोाटको मूर्तिमा रंग लगाउनमा लागी परेका छन्। दशैंको बेला प्रदर्शन गरिने दुर्गा भगवतीका मूर्तिहरुका बनाउन आर्डर आएकोले दिनरात मूर्ति बनाउन लागि परेको उनी बताउँछन्।

‘एक दर्जन सेट मूर्तिको अर्डर आएको छ, सयममा डेलिभरी दिन परेकोले अहिले एकछिन फुर्सद छैन’ उनले भने। उनले २५ हजारदेखि ३५ हजार बढीसम्मका मूर्तिहरुको अर्डर भएको बताए। १२ वटा मूर्तिको सेट बनाएर यसपालीको सिजनमा मात्र साढे ३ लाख आम्दानी भएको उनले बताए।

तीन महिनादेखि छोरा यज्ञमणि र श्रीमतीसहित ३ जना नै मूर्ति बनाउने कार्यमा व्यस्त रहेका व्यस्त रहेको तिवारी बताउँछन्। एउटा मूर्ति बनाउन ८ हजार खर्च रहेको उनले बताए। त्यस हिसाबले पनि अहिलेका सिजनमा मात्र ढाइ लाख शुद्ध आम्दानी हुने उनले बताए।

कामदारको अभावले यसवर्ष मूर्तिको बढी अर्डर आए पनि विगत वर्ष भन्दा आधा मात्र मूर्र्ति बनाएको उनले बताए। उनले माटो भन्दा फाइभरको मूर्तिमा आफूलाई बढी फाइदा हुने गरेको बताए। ‘आम्दानी र धर्म पनि कमाइने हुँदा अल्ली बढी मेहनेत गरेका छु।’  पेन्टिङ र मूर्तिको सजावट पछि तयार हुने उनले बताए।

१२ मध्ये नौं वटा मूर्ति घटस्थटापनासम्म बनाएर बिक्री गरी सकेको उनले बताए। तीन वटा मूर्ति मात्र पञ्चमीका दिन दिने उनले बताए। दुर्गा, बाघ, भैंसी, राक्षस, गणेश, लक्ष्मी, कार्तिके लगायतका आर्डर अनुसारका मूर्ति निर्माण गर्ने गरेको बताउँदै मूर्तिको लागि चाहिले औजार र सजावटका सामग्रीहरु भारतबाट ल्याउने गरेका छन्।

तिवारी जस्तै कपिलवस्तु नगरपालिका वडा नम्बर १ नयाटोलस्थित अनिल गुप्ता, नगरपालिका वडा नम्बर २ सेमराहावास्थित संग्राम अग्रहरी र बगेन्द्रले पनि मूर्ति बनाएर एख लाख बढीको आम्दानी गरेको बताए। जिल्लामा कतै असोज १० गते घटस्थापना र कतै सप्तमीदेखि मूर्ति प्रदर्शन गर्ने चलन छ। मूर्तिलाई द्वादशी तिथीका दिन स्थानीय नदी, नाला र खोलामामा सेलाउने गरिन्छ।

प्रकाशित: १० आश्विन २०७९ १३:०३ सोमबार

मूर्तिकार कपिलवस्तु नगरपालिका