अर्थ

नगरपालिकाले तोकेको भन्दा बढी कर असुली

लेटाङ नगरपालिकाको कर उठाउनका लागि ठेक्का पाएको ठेकेदार कम्पनीले मनपरी ढंगले पूर्वाधार सम्भार शुल्क असुली गरिरहेको छ।  

नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि पाथीभरा कन्स्ट्रक्सनलाई शुल्क (कर)असुलीको ठेक्का लगाएको थियो। तर, ठेक्का पाएको ठेकेदार कम्पनीले नियमको धज्जी उडाउँदै कर संकलनका नाममा जथाभावी शुल्क असुली गरिरहेको पाइएको हो। कन्स्ट्रक्सनले हाट–बजार, निकासी, पूर्वाधार सम्भारसमेतका कर संकलनका लागि ठेक्का पाएको छ।  

कन्स्ट्रक्सनले भ्याटसहित ९२ लाख ४० हजार ८ सय ८८ रूपैयाँ बराबरमा ठेक्का पाएको हो। कन्स्ट्रक्सनले प्रतिनिधि परिचालन गरेर नगरपालिकाले तोकेभन्दा बढी पूर्वाधार सम्भार शुल्क लिएको पाइएको छ।  

ठेक्का दिँदा नगरपालिकाले मिनी ट्रकको २० रुपैयाँ तोकेको छ भने अहिले मिनी ट्रकको ५० रुपैयाँ शुल्क ठेकेदार कम्पनीले उठाउँदै आएको छ। ठेकेदार कम्पनीका प्रतिनिधिले जबरजस्ती ५० रुपैयाँको रसिद थमाउने गरेको व्यवसायीहरुले गुनासो गरेका छन्। नगरपालिकाले तोकेको भन्दा किन बढी हामीले तिर्नु पर्ने भन्दा उनीहरुले ‘हामीहरुलाई यति नै रुपैयाँ (कर) असुल्न भनेका छन्’ एक व्यवसायीले भने।  

दैनिक व्यवसायका लागि लेटाङ जानु पर्छ। नगरपालिकामा बढी कर असुली गरेको जानकारी गराउँदासमेत सम्बन्धित निकायले कुनै चासो नदिएका व्यवसायी दीपक ढकाल बताए। मनपरी असुलीका कारण व्यवसायीले सास्ती भोग्नु परेको गुनासो गरे।  

‘नगरपालिकाले तोकेको भन्दा बढी शुल्क उठाएका छैनाैं,’ पाथीभरा कन्स्ट्रक्सनका प्रोप्राइटर जीवन न्यौपानेले भने, ‘कुनै प्रतिनिधिले थाहा नपाएर बढी शुल्क उठाएको हुन सक्छ। हामीलाई तोकेर दिएको भन्दा बढी कहाँ उठाउन मिल्छ र कसैले भुलवस उठाएको रहेछ भने सच्चाउ छु।’  

लेटाङ नगरपालिकाका योजना अधिकृत भूपेन्द्र खनालले कुनै पनि बहानामा नगरपालिकाले तोकेको भन्दा बढी शुल्क असुल्न पाइँदैन। कन्स्ट्रक्सनले पूर्वाधार सम्भारमा मात्रै हैन, हाट–बजार र निकासी कर पनि बढी उठाइरहेको गुनासो आएको छ। उनले भने, ‘यस विषयमा बुझ्नै छौं। सबैको सहजताका लागि कर संकलन ठाउँमा शुल्कको विवरण राखिएको छ।’  

पूर्वाधार सम्भार शुल्क सवारीसाधन अनुसार अलगअलग तोकिएको छ। १० चक्के टिपरलाई ७५ रूपैयाँ, ६ चक्केलाई ५० एवं निजी तथा भाडाका बस, ट्रक र लहरीलाई ३०, निजी तथा भाडाका ट्याक्टर, मिनी ट्रक र मिनी बसको २० एवं निजी तथा भाडाका ट्याक्सी, ट्याम्पो, कारलगायतका साना सवारीसँग १० रुपैयाँ शुल्क तोकिएको छ। एम्बुलेन्स, शववहान, सरकारी गाडी, दमकल, कुटनैतिक नियोगका गाडीलाई कुनै शुल्क नलाग्ने नगरपालिकाले जनाएको छ।

प्रकाशित: ९ आश्विन २०७९ १४:२२ आइतबार