अर्थ

खडेरीले खेतबारी खङ्ग्रङ्ग

झापा–बोटले थामिनसक्नु गरी लागेका आँपका चिचिला धमाधम झर्न थालेका छन् । लिचीको हालत पनि उस्तै छ । सधैँ यतिबेला खेतबारीमा हरियै भएर मौलाउने मकैका बोट ओइलाउँदैछन् । चिया बगानमा अरुबेला देखिने कल्कलाउँदो हरियो पत्तिको ठाउँमा डाँठजस्तै गरी पात आएको छ । भर्खरै रोपिएको चैते धानको बोट गाँजिनुको साटो पहेँलो हुन थालेको छ।लामो र लगातारको खडेरीका कारण झापाको कृषि क्षेत्रले व्यहोरिरहेको सकस हो यो । अपेक्षाकृत पानी पर्न नसक्दा झापाको यतिबेलाको खेतीपाती खेर जाने अवस्थामा छ । 'मकैबारीमा डढेलो लागेको जस्तो अवस्था छ, बोट ओइलाएर मर्न थाले,' बाहुनडाँगी मेचीडाँगीका किसान खेमराज प्रधानले भने, 'तीन बिघा जमिनमा लगाएको मकै एकै घोगा पनि भिœयाउन पाइने आशा छैन ।'

धानपछि सर्वाधिक खेती गरिने मकैमा आशा मार्ने किसान उनी एक्ला होइनन् । खासगरी सिँचाइ प्रबन्ध नभएको र पर्याप्त आकाशे पानी पनि नभइरहेका कारण मकै खेतीको अवस्था नाजुक मोडमा पुगेको छ । यसबाट सयौं किसान निराश छन् । धेरैतिरबाट यस्तै गुनासो आइरहेको जिल्ला कृषि विकास कार्यालयले पनि जनाएको छ । 'आँप, लिचीजस्ता फलफूलका लागि पनि झापा उर्वर ठाउँ हो तर खडेरीले तिनका चिचिला सबै झर्न थालेका छन्,' कृषि प्राविधिक शालिकराम भट्टराई भन्छन्, 'मकैका लागि पनि खडेरीले ठूलो क्षति गरेको छ ।'

कृषि क्षेत्रका जानकारका अनुसार जिल्लाको पूर्वोत्तर क्षेत्रका ठाउँमा खडेरीको प्रभाव बढी छ । बाहुनडाँगी, शान्तिनगरलगायत क्षेत्रमा मकै खेती लगभग नष्ट हुने अवस्थामा छ । जिल्लाको दक्षिण क्षेत्रमा थोरै भए पनि सिँचाइ सुविधा छ तर मकैलाई सिँचाइको भन्दा पनि मौसमी अनुकूलता बढी लाभदायी हुने भट्टराई बताउँछन् । 'यसपटकको मौसम मकैका लागि पटक्कै अनुकूल भएन,' प्राविधिक भट्टराईले थपे, 'यसर्थ पनि धानपछि सर्वाधिक उत्पादन हुने मकै उत्पादन घट्ने निश्चित छ ।'

जिल्लामा ९८ हजार ७ सय १६ हेक्टर क्षेत्रफलको जमिन खेतीयोग्य मानिन्छ । तर, त्यसको आधाभन्दा बढी क्षेत्रफलमा सिँचाइका लागि आकाशे पानीको विकल्प छैन । जसका कारण खडेरीले सबैतिरको मकै खङ्ग्रङ्ग पारेको छ । कूल खेतीयोग्य जमिनमध्ये ३८ हजार ५ सय हेक्टर जमिनमा सिँचाइ उपलब्ध छ । १२ हजार ८४ हेक्टरमा बेला–बेला मात्रै सिँचाइ सुविधा पुग्ने भएकाले त्यसलाई अर्धसिँचित क्षेत्र भनिएको छ । तर, ६० हजार २ सय १६ हेक्टर जमिनको अवस्था यस्तो छ कि यति क्षेत्रफलको जुनसुकै फसलले पनि सिँचाइका लागि आकाशे पानीकै भर पर्न बाध्य हुनुपर्छ । ४ हजार २ सय ८० हेक्टर क्षेत्रफलमा भएको फलफूल खेती पनि खडेरीले नष्ट हुन थालेको छ । केही साताअघि सामान्य वर्षा भए पनि दिनहुँ बढिरहेको तापक्रमले जमिन सुक्खा बनाउने र भएको हरियाली पनि मास्ने काम गरिरहेको छ । यसको असर किसानको खेतबारीमा बढी छ ।

किसानको खेतबारी खडेरीले खाइरहेको छ, सँगसँगै तापक्रम लगातार बढ्दो छ । झापामा शुक्रबारको अधिकतम तापक्रम ३८ देखि ३९ डिग्री सेल्सियससम्म थियो भने बिहीबार ३८ डिग्री थियो । केही वर्ष अघिसम्म अधिकतम तापक्रम ३७ डिग्री सेल्सियस हुँदा त्यो नै सबैभन्दा उच्च गर्मीको दिन मानिन्थ्यो । अचेल केही दिनयता तापक्रम अचाक्ली बढ्न थालेको छ ।

सातायता आकाशमा खण्ड–खण्ड बादल लागेको छ । वर्षा हुनै सकेको छैन । गर्मी यति धेरै छ कि घरबाट बाहिर निस्किने आँट कसैले गर्दैन । चर्को घाम लागेर वायुमण्डल तापिलो बन्दा जनजीवन अस्तव्यस्त भएको छ । तापक्रम मापन केन्द्र गैडैँका अनुसार आइतबार झापाको तापक्रम ३३ डिग्री सेल्सियस थियो । सोमबार ४३ डिग्री, मंगलबार ३० डिग्री, बुधबार ३३ डिग्री र बिहीबार ३८ डिग्री सेल्सियस थियो । उच्च तापक्रमको असरले खेतीबालीमा नकारात्मक असर गरिरहेको छ ।

लामो खडेरीले झापामा चियाको हरियो पत्ती उत्पादन पूरै घटेको छ । हरियो पत्ती उत्पादनको सुरुआती सिजन किसानका लागि सबैभन्दा लाभदायी मानिन्छ । यसपटक खडेरीले उत्पादन ह्वात्तै घटेपछि किसानका लागि सिजनको सुरु नै खल्लो रह्यो । खासगरी साना किसान खडेरीको मारमा छन् किनभने उनीहरूले सिँचाइको वैकल्पिक प्रबन्ध गर्ने सामथ्र्य राख्दैनन् । अन्नबाली मासेर पाँच कट्ठादेखि दस विघासम्मको क्षेत्रफलमा किसानले चिया लगाएका छन् । तीमध्ये लगभग २० प्रतिशत किसानसँग मात्रै सिँचाइ सुविधाको भरपर्दो उपाय छ । अरुले आकाशे पानीको भरमा बस्नुपर्छ । वार्षिक रूपमा सरदर साढे ६ करोडदेखि ७ करोड केजीसम्म हरियो पत्ती उत्पादन हुँदै आएको झापामा यो वर्ष गिरावट आउने निश्चित भएको किसानको भनाइ छ ।

प्रकाशित: १७ वैशाख २०७३ २३:१७ शुक्रबार