विनाशकारी भूकम्प र त्यसपछिको नाकाबन्दीबाट असहज परिस्थिति हुँदाहुँदै पनि तपाईंले होटलको व्यापारलाई तल ओर्लन दिनुभएन, सफलताको सूत्र के हो?
सोल्टी क्राउन प्लाजा नेपालकै सबैभन्दा पुरानो डिलक्स पाँचतारे होटल हो। नेपालकै अग्रणी यो होटलको सञ्चालक सोल्टी होटल लिमिटेड हो भने इन्टरकन्टिनेन्टल होटल्स ग्रुपले यसको व्यवस्थापन हेरिरहेको छ। यसको एउटा फाइदा के हो भने ग्रुपको उपस्थिति विश्वभर छ। ग्रुपले हाल एसिया, मध्यपूर्व, अफ्रिका र दक्षिण एसिया सञ्जालमार्फत होटल सञ्चालन तथा व्यवस्थापन गरिरहेको छ। सोल्टीको कुल व्यापारको २५ देखि ३० प्रतिशत हाम्रा यस्तै सञ्जालमार्फत आउँछन्। त्यसबाहेक हामीसँग अन्तर्राष्ट्रिय बिक्री संगठन पनि छ जसले भारतीय कर्पोरेट व्यापार हामीसम्म पठाइरहेको छ। अहिलेको समस्या भनेको नेपाल पर्यटकका लागि सुरक्षित गन्तव्य भए पनि प्राकृतिक विपत्तिपछि यो सन्देश पठाउन नसक्दा पर्यटक आउन डराइरहेका छन्। हामीले ठूला अन्तर्राष्ट्रिय सञ्चारमाध्यममार्फत नेपाल पर्यटकका लागि सुरक्षित रहेको र पुरानै अवस्थामा फर्किसकेको सन्दैश फैलाउनुपर्छ। यसमा पर्यटनसम्बद्ध कम्पनीले खासै केही गरेको जस्तै लाग्दैन। त्यस्तै, जब नेपाल समस्यामा थियो त्यही बेला अन्य नयाँ गन्तव्य उदाए र धेरैजसो पर्यटक त्यतैतिर गए। त्यसकारण वृहत मिडिया अभियान चलाएर ती पर्यटकलाई नेपाल फिर्ता ल्याउनुपर्छ।
एउटा होटल भएका नाताले हामी अब नयाँ बजार रणनीतिअनुसार अगाडि बढ्दै छौं। यसका लागि हाम्रा प्रमुख पर्यटन बजार भारत र चीनमा हामी केन्द्रित हुँदै छौं। चिनियाँ वायुसेवा कम्पनीले नेपालमा नाकाबन्दी र इन्धन अभावको कारण देखाउँदै उडान कटौती गरेका छन्। त्यसबीचमा हामीले बंगलादेशलाई नयाँ बजारका रूपमा स्थापित गरेका थियौं तर भूकम्पपछि यो सबै रोकियो। जब नेपाल वायुसेवा निगमले भारतीय सहरमा उडान गर्न थाल्यो तब हामीले निगमसँग हातेमालो गर्यौं र हामो पहलपछि पर्यटक आउन थालेका छन्।
तपाईंले भनेजस्तो पहलमा नेपाल पर्यटन बोर्ड, होटल एसोसिएसन नेपाल (हान) र नेपाल सरकारबीच संयोजन छ?
नेपाल पर्यटन बोर्ड लामो समय प्रमुखविहीन रह्यो। हालसालै नयाँ प्रमुख पाएको छ र उनले यसमा सहकार्य गर्ने प्रयास गरिरहेका छन्। अब सबै मिलेर अगाडि बढ्ने बेला आइसकेको छ। पर्यटन मन्त्री पनि यसमा धेरै काम गर्ने प्रयासमा लागेका छन्। उनी धेरै सकारात्मक छन्। नाकाबन्दीका बेला हामीसँग इन्धन थिएन र उनलाई हामीले लिखित आग्रह गरेपछि सम्बद्ध संस्थालाई उनले होटल उद्योगलाई प्राथमिकता दिन भनेका थिए। हामीले जति गरेका छौं त्यो पनि पर्याप्त छैन। प्रत्येक होटलको आफ्नै चुनौती छन्। ठूलासँग ठूलै र सानासँग सानै चुनौती छन्। सानाले केही सेवासमेत बन्द गरे तर हामीले कुनै पनि सेवा बन्द गरेनौं। हामीलाई सबैभन्दा ठूलो समस्या इन्धन अभाव हुँदा यातायात साधन पाउन नसक्नु थियो। त्यसबेला इन्धन अभावले होटलका कोठा तताउन सकिएन। पर्यटक काठमाडौं आउँछन् र यहाँबाट अन्त घुम्न जान्छन्, यसको अर्थ काठमाडौं ट्रान्जिट जस्तो हो। नेपाल छुट्टी मनाउने एउटा उत्कृष्ट गन्तव्य हो। इन्धन अभावका कारण राम्रो बसाइ र गुणस्तरीय सेवा उपलब्ध गराउनु चुनौतीपूर्ण भएको छ। आगामी मार्चमा धेरै पर्यटन नेपाल आउनेछन्। धेरै उडानको टिकट बिक्री भइसकेका छन्। यसमा पर्यटन मन्त्रालयले आपूर्ति मन्त्रालयलाई भनेर वायुसेवा कम्पनीका लागि हवाई इन्धनको भाउमा छुट दिन लगाउनुपर्छ। तै पनि काठमाडौं विमानस्थलमा ब्यागेज ह्यान्डलिङको समस्या जस्ताको तस्तै छ। यो विमानस्थललाई अझै आधुनिक बनाउन आवश्यक छ।
बेलाबेला नेपाल सस्तो गन्तव्य हो भन्छन्। के नेपाल साँच्चिकै सस्तो गन्तव्य हो वा मूल्यवान गन्तव्य हो?
म यसमा सस्तोभन्दा मूल्यवान शब्द राख्न रुचाउँछु। सस्तोको अर्थले कसैलाई फाइदा गर्दैन। त्यसकारण सबैले नेपाललाई मूल्यवान गन्तव्य, धेरै नै प्रोत्साहित बजार र यहाँ धेरैभन्दा धेरै मोलमोलाई गर्न सकिन्छ भन्नुपर्छ र यसको अर्थ सस्तो बजार भन्ने चाहिँ होइन। हामीले संसारलाई हाम्रो प्राविधिक भाषा भन्न सक्नुपर्छ। त्यसकारण हामीले व्यावसायिक मान्छेलाई सही शब्द चयन गरी नेपालको पर्यटन प्रवर्द्धन अभियानको ढाँचा तयार गर्न लगाउनुपर्छ। नेपालले उच्च मूल्यको प्याकेज दिइरहेको छ तर कोठा भाडादर केही कम भए पनि यसले विस्तारै गति लिने र व्यापार बढ्ने विश्वास छ। यो प्राकृतिक कुरा हो।
नेपाल सुरक्षित गन्तव्य भन्ने अभियान के हो? के यसबाट प्रतिफल मिल्न सक्छ?
यो अहिले व्यक्तिगत तहमा रहेको छ। यसले जनमानसमाझ नेपाल प्रवर्द्धन गर्न सहयोग गर्छ। यसले सकारात्मक काम गरेको छ तर मेरो विचारमा अझै बढी प्रवर्द्धनका काम गर्न बाँकी नै छ। यसमा सरकारले ठूलो समूहमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारलाई नेपाल घुमाउन ल्याउने लगायत कार्यक्रम गर्नुपर्छ। यसको निष्कर्ष भनेको नेपाल पर्यटकका लागि सुरक्षित गन्तव्य हो भन्ने सन्देश संसारलाई दिनु नै हो। उदाहरणका लागि गत वर्ष भूकम्पका कारण रोकिएका सगरमाथा आरोही अहिले फर्केर आएका छन्। तर, तिनलाई कति प्रचार दिइयो त? हामीले बिबिसी, सिएनएन, नेसनल जियोग्राफीलगायत ठूला मिडियाका पत्रकारलाई ल्याएर यहाँको प्रचारप्रसार गर्न सक्छौं। उनीहरू धेरै विश्वसनीय स्रोत हुन्। हामीलाई यस्तै विश्वसनीय स्रोतको आवश्यकता छ जसले नेपाल व्यापारका लागि पुरानै अवस्थामा फर्किएको संसारलाई बताउन सक्छन्। त्यस्तै हामीसँग पर्यटकलाई सुहलियत दिने चलन कमै छ। हामी अहिले पनि पर्यटकलाई पर्यटन विकास शुल्कका नाममा महँगो शुल्क असुलिरहेका छौं। उदाहरणका लागि थाइल्यान्डले सुनामीपछि होटललाई दिएको सहुलियत लिनसक्छौं। त्यस्तै पर्यटन पूर्वाधार निर्माण पनि कुनै सहुलियत छैन। पर्यटन ठूलो संख्यामा रोजगारी सिर्जना गर्नसक्ने उद्योग हो। त्यसकारण यसलाई भिन्नै तरिकाले सम्बोधन गर्नुपर्छ। जस्तै, केही अवधिका लागि कर मिनाहा, विदेशी मुद्रा आर्जन गरेवापत सामान आयातमा भन्सार निःशुल्क गर्नुपर्छ तर सरकारको राजस्वमा प्रभाव नपर्ने गरी। त्यसैले बढीभन्दा बढी पर्यटन पूर्वाधार निर्माण गर्न हातेमालो गरौं। पर्यटन अन्य उद्योगभन्दा भिन्नै छ। यहाँ पर्यटक आउँछन र विदेशी मुद्रा खर्च गर्छन् र फर्केर जान्छन्। त्यसैलाई पर्यटनलाई भिन्नै तरिकारले हेरिनुपर्छ र विशेष व्यवहार गरिनुपर्छ।
नेपालमा पर्यटनको तुलनात्मक र प्रतिस्पर्धात्मक दुवै फाइदा छन् तर, अझै पनि सोचेजति प्रगति गर्न सेकेको छैन, किन होला?
अवश्य हो, नेपालसँग वृहत प्राकृतिक विविधता छ जुन संसारमा अन्त कतै छैन। ८० किलोमिटरको दुरीमा प्रचण्ड गर्मी हुने तराईदेखि हातखुट्टा जम्ने उच्च हिमाल रहेका छन्। यसबाट फाइदा लिन सकिन्छ तर हामीसँग एउटामात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ। यसको सुधार र विस्तारको काम पनि मन्द गतिमा छ। यो महँगो विमानस्थल पनि हो। अन्य छिमेकी देशका विमानस्थलसँग तुलना गर्दा काठमाडौं विमानस्थलमा उडान–अवतरण र ग्राउन्ड ह्यान्डलिङ महँगो छ। त्यसकारण वायुसेवा कम्पनीले हवाई भाडा घटाउन सकिँदैन भनेका हुन्। त्यसैगरी काठमाडौंबाट उपत्यकाबाट बाहिर जान पनि सडकको कारण समस्या छ। आरामदायी यात्रा गर्न सवारीसाधन पनि कम छन्। अहिले भने काठमाडौंमा नयाँ ट्याक्सी दर्ता भएका छन्। यसले यात्रुलाई केही सहज बनाए पनि पर्याप्त छैन। उता भूकम्पपछिको पुनर्निर्माणको काम तीव्र गतिमा हुनुपर्ने आवश्यकता पनि छ। यसो भए पर्यटक ती गन्तव्यमा जान सक्छन्। भत्किएका सम्पदा पुनर्निर्माण गर्न सार्वजनिक–निजी साझेदारीबाट काम गर्नुपर्छ। हामी सबै हातेमालो गर्न तयार छौं। पुनर्निर्माणमा काम गर्न विज्ञहरू निःशुल्क उपलब्ध हुनसक्छन् तर खर्च गर्ने रकम त्यहाँ हुनुपर्छ। निजी क्षेत्रले यसमा केही काम गर्न थाले पनि सरकार भने मौखिक काममात्र गरिरहेको छ। जब पुनर्निर्माण सुरु हुन्छ तब अर्थतन्त्र पनि अगाडि बढ्ने छ। त्यसैगरी नेपालमा मध्यमखाले होटलको आवश्यकता छ किनभने अहिलेका पर्यटक मध्यमवर्गका बढी छन्।
एउटा ठूलो होटल भएको नाताले नाकाबन्दीका बेला कसरी व्यवस्थापन गर्नुभयो?
नाकाबन्दीका बेला हामीले चार काम गर्यौं । हामीले आफ्ना कर्मचारी, पाहुना, सरकारी अधिकारीलाई सहभागी गराएर वैकल्पिक ऊर्जाको खोजी गर्यौं । पहिलो, हामीले अप्ठेरो अवस्थामा पनि काम गर्न कर्मचारीलाई आग्रह गर्यौं । कर्मचारीको खाना पकाउन प्रयोग गर्ने ग्यास कटौती गर्यौंल। दोस्रो, ग्राहकसँग सहकार्य गरी धेरै फजुल कटौती गर्यौं , एउटा 'विङ' र तीनवटा रेस्टरेन्ट पनि बन्द गर्यौं।। तेस्रो, हामीले सरकारी निकायसँग सहकार्य गर्यौं। नियमित इन्धन आपूर्तिका लागि पर्यटन र आपूर्ति मन्त्रालयमा निरन्तर लबिङ गरिरह्यौं। हामीले कालोबजारबाट एक थोपा पनि इन्धन खरिद गरेनौं। मन्त्रालयले पनि हामीलाई सहयोग गरे। चौथो, हामीले वैकल्पिक ऊर्जा खोज्यौं। विद्युत, इन्डक्सन चुल्होदेखि दाउरासम्म प्रयोग गरियो। कर्मचारी, पाहुना र सकारको सहयोगबाट हामी सफल भयौं। नाकाबन्दीबाट हामीले धेरै अनुभव लियौं।
होटल विस्तारको कुनै योजना छ?
हामी वर्षैपिच्छे नियमित होटलको भित्री बनावट परिवर्तन गरिरहन्छौं। त्यसबाहेक पहिलो पटक हामीले काठमाडौं बाहिर नेपालगन्जमा नयाँ होटल सञ्चालन गर्दै छौं। यो सन् २०१७ बाट सञ्चालनमा आउने गरी काम भइरहेको छ र विस्तारै अन्य सहरमा पनि लगानी गर्दै जाने योजना छ। सोल्टीको आतिथ्यता अन्य सहरमा पनि लैजाने हाम्रो उद्देश्य छ।
प्रकाशित: १७ वैशाख २०७३ ००:१९ शुक्रबार