अर्थ

सोलुखुम्बु-लुक्ला उडान अब रामेछापको मन्थली विमास्थलबाट

त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट हुँदै आएको सोलुखुम्बु–लुक्ला उडान अब रामेछापको मन्थली विमास्थलबाट हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले केही समय अगाडि नै काठमाडौं–लुक्ला उडानलाई मन्थली विमानस्थलबाट रामेछाप–लुक्ला उडान सुरु गर्ने निर्णय गरेको हो। 

प्राधिकरणको निर्णय अनुसार रामेछाप–लुक्ला उडानको लागि विमानस्थलमा आवश्वयक पर्ने संरचना तथा सेवा सुविधाका लागि विमानस्थल निर्माणको कार्य भइरहेको छ। निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीले समेत असोज ९ गतेदेखि रामेछाप–लुक्ला उडान सुरु गर्ने तयारी गरिसकेका छन्।

बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठ, नेपाल नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी सहितको टोलीले रामेछाप मन्थली विमानस्थलको स्थलगत निरीक्षण गरेका छन्। रामेछाप–लुक्ला नियमित उडानको लागि मन्थली विमानस्थल व्यवस्थित भए नभएको बारेमा मन्त्री श्रेष्ठले स्थलगत निरिक्षण गरेका छन्। 

मन्थली विमानस्थलको स्थलगत निरीक्षणपछि सञ्चार कर्मीहरुसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले प्राधिकरणले लुक्ला उडानलाई रामेछाप मन्थली विमानस्थललाई बेस बनाएर रामेछाप–लुक्ला उडानलाई व्यवस्थित बनाउने बताए। उनले विमानस्थल विस्तारको काम सकारात्मक रहेको भन्दै हवाई यात्रुहरुको लागि विमानस्थलमा आवश्वक संरचना निर्माण गरिने बताए।

मन्त्री श्रेष्ठले मन्थली विमानस्थलबाट लुक्ला उडान गर्ने यात्रुहरु बढी विदेशी पर्यटकहरु हुने भएको भन्दै मन्थली विमानस्थललाई व्यवस्थित बनाउन आवश्यक रहेको बताए। उनले विदेशी तथा स्वदेशी नागरिकहरु विमानस्थलमा आउने वातावरण बनाउन विमानस्थलमा सेवा सुविधाहरु व्यवस्थित बनाउन निर्देशन दिए। मन्त्री श्रेष्ठले सरकारले मन्थली विमानस्थललाई व्यवस्थित गर्ने काममा कुनै कमि हुन नदिने बताए। उनले मन्थली विमानस्थलमा सर्वसाधरण जनताको लागि नियमित काठमाडौं उडान गर्ने विषयमा मन्त्रालयले चाँडै निर्णय गर्ने प्रतिवद्धता जनाए।

त्यस्तै,बिहीबार नै पर्यटन मन्त्री श्रेष्ठले दाङको टरिगाउँ विमानस्थलको पनि निरीक्षण गरेका छन्। मन्त्री श्रेष्ठले विमानस्थलमा पुगेर दाङको जनधनत्व र सहरीकरण बढ्दै गएकाले विमानस्थलमा ७२ सिट क्षमताको प्लेन ल्याण्डिङ गर्ने गरी धावनमार्ग बनाउनुपर्छ भनेर प्राथमिकतामा राखेको बताए। उनले विमानस्थल बिस्तार गर्दै ७२ सिटे हवाईजहाज बस्न सक्नेगरी धावनमार्ग बिस्तार गर्ने प्रतिवद्धता जनाए। उनले वर्तमान सरकारले एउटा जिल्लालाई मात्रै साधन स्रोत बनाउने भन्दा पनि सबै जिल्लामा समानुपातिक स्रोत साधनको विकास गर्ने उद्देश्य रहेको बताए। उनले अघिल्लो सरकारले सबै स्रोत र साधन झापा जिल्लामा मात्रै लगेको आरोप लगाए।

मन्त्री श्रेष्ठले विमानस्थलमो निरीक्षणपछि विमानस्थलको विस्तार गरी ७२ सिट क्षमताको प्लेन ल्याण्डिङ गर्ने गरी धावनमार्ग लामो बनाउनुपर्ने आवश्यकता देखिएको बताए। उनले ७२ सिट क्षमताको प्लेन ल्याण्डिङ गर्ने १५/१६ सय मिटरको धावनमार्ग बनाउनुपर्ने देखिएको बताए। मन्त्री श्रष्ठले विमानस्थलको थप सर्वेक्षण गरेर डिटेल रिपोर्ट आउने बित्तिकै प्रक्रिया अगाडि बढाउने बताए। उनले विमानस्थलको सर्वे सकेसम्म दशैँ अगाडि नभए दशैँपछि लगतै सर्वेको काम गर्ने बताए।

मन्त्री श्रेष्ठले विमानस्थल बिस्तार गरेर नियमित उडानको लागि धेरै समय दाङका जनता निराश हुन नपर्ने बताए। उनले काठमाडौं पुगेपछि विमानस्थलको बारेमा अर्थमन्त्रीसँग बजेट सुनिश्चिताको लागि कुरा गर्ने बताए। मन्त्री श्रेष्ठले नेपालको भौगोलिक अवस्थाका कारण सबै क्षेत्रलाई जोड्न हवाई सेवा उपयुक्त रहेकाले देशका विभिन्न ठाउँमा एयरपोर्ट बनाउन लागिएको बताए।

दाङको टरिगाउँ विमानस्थल वि.सं. २०१७ सालदेखि नियमित सञ्चालनमा आए पनि समयमा नै स्तरवृद्धि हुन नसक्दा नियमित उडान हुन सकेको छैन। त्यहाँका स्थानीयहरुले विमानस्थलको थप बिस्तार गरी विमानस्थल सञ्चालनमा ल्याउन माग गर्दै आएका छन्। विमानस्थल नजिकै प्युठानमा स्वर्गद्वारी जस्ता महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्रहरु रहेका छन्। तर टरिगाउँ विमानस्थल प्रत्येक निर्वाचन पिच्छे चुनावी एजेण्डा बन्ने तर विमानस्थल अहिलेसम्म विमानस्थल बन्नसकेको छैन।

प्रकाशित: ६ आश्विन २०७९ १२:१८ बिहीबार