अर्थ

उत्तरी गोरखाको स्याउ हेलिकप्टरबाट ल्याएर सदरमुकामको मेलामा बेचिँदै

उत्तरी गोरखामा फलेको स्याउ हेलिकप्टर चार्टर गरेर सदरमुकाममा ल्याइएको छ। चुमनुब्री गाउँपालिका ४ नाम्रुङमा उत्पादित स्याउ गोरखा सदरमुकाममा अहिले चलिरहेको तेस्रो गोरखकाली मेलामा गाला र गोल्डेन स्याउ बिक्रीका लागि ल्याइएको हो।  

‘२७ सय मिटर उचाईमा फलेको स्याउ हो’ ब्यवशायी लाक्पडुण्डुप लामाले भने ‘चिसो हावापानीमा फलेकाले यो निकै स्वादिलो छ।’ उनले प्रतिकिलो पाँच सय रुपैयाँमा बिक्री गरिरहेका छन्। चुमनुब्री तिब्बत सँग जोडिएको हिमाली पालिका हो। त्यहाँ अहिलेसम्म सडक सञ्जाल जोडिएको छैन।  हेलिकप्टरबाट ढुवानी गर्नुपर्दा महँगो पर्न गएको उनले बताए। ‘काठमाण्डौँमा प्रतिकिलो आठ सय रुपैयाँमा बिक्री गर्छौँ’ उनले भने।  

उत्तरी गोरखाको स्याउलाई ‘चुमनुब्री स्याउ’ नम दिइएको छ। ‘उत्तरी गोरखामा पनि स्याउ फल्छ र त्यहाँ उत्पादित स्याउ स्वादिष्ट छ भन्ने प्रचार गर्न, गोरखाबासीलाई जानकारी दिन मेलामा ल्याइएको हो’ उनले भने।  मेलामा बिक्रीकालागि तीन हजार केजी स्याउ हेलिकप्टरबाट ल्याइएको छ। ‘ब्राण्डिङ र स्थानीय उत्पादनको प्रर्वद्धन गर्न मेलामा स्याउ बिक्री गर्न ल्याइएको हो’ व्यवसायी लामाले भने। चिसो हावापानीमा उत्पादन भएकाले स्याउ निकै स्वादिलो छ। गोरखा बजारमा अन्यत्रबाट आउने स्याउ भन्दा केही महँगो भएपनि निकै स्वादिलो भएको उपभोक्ताले बताएका छन्।  

बगैँचामा प्रतिकिलो तीन सय ५० मा स्याउ बिक्री गर्ने गरिएको छ। उत्तरी गोरखामा स्याउ ब्यवशायी लाक्पाडुण्डुप लामाले गोल्डेन, गाला, किङरेड डेलिसियस, रेड डेलिसियस र फुजी गरी पाँच प्रकारको स्याउ उत्पादन गर्दै आएका छन्। गण्डकी प्रदेश सरकारको कृषि मन्त्रालय र किसानको लागत साझेदारीमा इटलीबाट विरुवा ल्याएर नाम्रुङमा स्याउ खेती गरिएको हो।  

एउटा बोटमा पाँच किलो सम्म स्याउ फलेको छ। गत वर्ष दुई हजार किलो स्याउ काठमाण्डौँ लगेर बिक्री गरिएको लामाले बताए। अहिले उनीसँग चार हजार तीन सय ७० वटा स्याउको बोट रहेको र यो वर्ष ती बोटबाट २१ हजार केजी स्याउ फल्ने अनुमान गरिएको छ।  

स्थानीय स्तरमा उत्पादित स्याउबाट वाइन, जुस, रक्सी, केक, जेली, जाम गरी १० प्रकारको खाद्यपदार्थ बनाउने गरिएको उनले बताए।  चुमनुब्रीमा रहेको आफ्नै होटलमा सिजनका बेलामा स्याउबाट बनेको केक र वाइनको राम्रो व्यापार हुने गरेको उनले बताए।  

एक सय ५० रोपनीबाट क्षेत्रफलमा उत्पादित स्याउ बोटलाई यो वर्ष थप विस्तार गरेको छ। उनले यो वर्ष ८ हजार नयाँ स्याउका बेर्ना रोपेका छन्। योसँगै तीन सय रोपनी क्षेत्रफलमा स्याउ खेती गरिएको छ। उनले स्याउ खेती सुरु गरेपछि अन्य चारजना कृषकले करिब पाँच हजार स्याउको विरुवा रोपेका छन्। हरमटारी क्लवले आयोजना गरेको तेस्रो गोरखकाली मेलामा उत्तरी गोरखाको स्याउ बिक्रीकालागि राखिएको छ।  असोज ४ गतेदेखि सुरु भएको मेला १४ गते सम्म चल्नेछ।

प्रकाशित: ६ आश्विन २०७९ ०८:४१ बिहीबार