अर्थ

आइतबारको नेप्से परिसूचक: नेप्सेमा ३३ अंकको गिरावट

गत साता २७ अंकले गिरावट आएको सेयर बजार आइतबार थप घटेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से परिसूचक ३३.९७ अंकले घटेको हो। यो गिरावटपछि परिसूचक १८७६.४१ बिन्दुमा आएको छ। कारोबार डेढ अर्ब रूपैयाँमाथि पुगेको छ।

एक्सचेन्जका अनुसार आइतबार १९११ बिन्दुबाट बजार सुरु भएको थियो। बजार खुले लगत्तै कारोबारमा गिरावट आउन सुरु गरेको थियो। यो क्रम बजार बन्द हुँदासम्म रोकिएन।

एक्सचेन्जका अनुसार आइतबार नेप्सेसँगै अन्य प्रमुख तीन सूचक सबै घटेका छन्। सेन्सेटिभ सूचक ६.०४ अंकले घटेको छ भने फ्लोट २.३३ र सेन्सेटिभ फ्लोट २.३६ अंकले घटेका छन्। प्रतिशतका आधारमा हेर्दा सबैभन्दा धेरै सेन्सेटिभ फ्लोट १.९४ प्रतिशतले घटेको छ।

यस्तै सेयर बजारका अन्य १३ उपसूचकमध्ये सबैको कारोबार घटेको छ। कारोबारमा गिरावट आउने उपसूचकमध्ये सबैभन्दा बढी जीवन बिमा परेको छ। यो २२१ अंकले घटेको हो। यसपछि धेरै अंकले घट्नेमा निर्जीवन बिमा उपसूचक परेको छ। यो १२४ अंकले घटेको हो। सबैभन्दा कम अंकले कारोबारमा गिरावट आउनेमा सामूहिक लगानी कोष ०.३० अंक रहेको छ।

यस्तै कारोबारलाई प्रतिशतका आधारमा हेर्दा सबैभन्दा धेरै प्रतिशतले घट्नेमा व्यापार उपसूचक परेको छ। यो ३.२४ प्रतिशतले घटेको हो।

एक्सचेन्जका अनुसार आइतबार प्रतिसेयर मूल्य सबैभन्दा धेरै प्रतिशतले बढ्ने कम्पनीमा ग्लोवल आइएमई समुन्नत स्किम १ परेको छ। यसको सेयर मूल्य ५.३५ प्रतिशतले बढेको हो। यसपछि सबैभन्दा धेरै प्रतिशतले सेयर मूल्य बढ्नेमा नेपाल ल्युव आयल रहेको छ। यसको सेयर ४ प्रतिशतले बढेको हो।

यस्तै आइतबार कारोबार भएका कम्पनीमध्ये सबैभन्दा धेरै प्रतिशतले सेयर मूल्य घट्ने कम्पनीमा बलेफी जलविद्युत् परेको छ। यसको सेयर मूल्य ७.८५ प्रतिशतले घटेको हो। यसपछि धेरै प्रतिशतले मूल्य घट्नेमा राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सन परेको छ। यसको सेयर मूल्य ७.३० प्रतिशतले घटेको हो।

एक्सचेन्जका अनुसार रकमका आधारमा सबै भन्दा धेरै रकमको कारोबार हुने कम्पनीमा लक्ष्मी बैंक परेको छ। यसको २१ करोड ३८ लाख ४४ हजार रूपैयाँको सेयर कारोबार भएको हो। यसपछि सबैभन्दा धेरै रकमको कारोबार प्रभु बैंकको प्रमोटर सेयरको भएको छ। यसको १९ करोड ५८ लाख ४५ हजार रूपैयाँको कारोबार भएको हो।

यस्तै सेयर खरिद बिक्रीका आधारमा सबैभन्दा धेरै कित्ता सेयर प्रभु बैंकको प्रमोटर सेयरको भएको छ। यसका १३ लाख ५० हजार कित्ता सेयर बिक्री भएका हुन्। यसपछि लक्ष्मी बैंक परेको छ। यसका ११ लाख ३५ हजार ६ सय ४९ कित्ता सेयर बिक्री भएका हुन्।

एक्सचेन्जका अनुसार आइतबार २२९ कम्पनीका सेयर खरिद बिक्री भएको छ। यी कम्पनीका ६२ लाख ९६ हजार ४ सय ४५ कित्ता सेयर बिक्री भएका हुन्। यी सेयर खरिद गर्न १ अर्ब ६० करोड १८ लाख रूपैयाँको कारोबार भएको छ। बजार पुँजीकरण २६ खर्ब ९६ अर्ब रूपैयाँमा झरेको छ।   

प्रकाशित: ३ आश्विन २०७९ ०२:३९ सोमबार

आइतबारको नेप्से परिसूचक नेप्सेमा ३३ अंकको गिरावट