अर्थ

चीनसँगका दुई नाकाबाट ३० गाडी छुटे

फाइल तस्बिर

चीनले बन्द गरेका दुई नाका अल्पकालीन रूपमा खुलेका छन्। नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुमाथि नाका बन्दको विषयमा नैतिक प्रश्न उठेपछि चीनले बिहीबारदेखि नाका खोलेको हो। ट्रान्जिटमा रोकिएका सामान छोड्नका लागि मात्र नाका खोलेको बताइएको छ।

नाका खोलेको पहिलो दिन रसुवागढीबाट चीनतर्फ रोकिएका २८ गाडी र तातोपानी नाकाबाट २ वटा गाडीमा सामान आएको भन्सार कार्यालयले जनाएका छन्। कोभिडको बहाना देखाएर एकतर्फी रूपमा नेपालसँगका दुई नाका बन्द गरेको चीनले ‘ट्रान्जिट’मा रहेका कन्टेरन मात्र छाड्ने जनाएको छ। पहिलो दिन २८ गाडी सामान छुटेको रसुवागढी भन्सार कार्यालयका प्रमुख रामप्रसाद मैनालीले बताए। ‘ट्रान्जिटमा रोकिएका सामान पठाउन सुरू भएको छ,’ मैनालीले भने-‘रोकिएका सामान छोड्न मात्र नाका खोलेको सूचना आएको छ।’

नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष लीमाथि नेपालको राजनीतिक नेतृत्वले नाका खोल्न अनुरोध गरेपछि झारा टार्न केही दिनका लागि मात्र नाका खोलेको हो। कोभिडको बहाना बनाएर चीनले गत महिनादेखि तातोपानी र रसुवागढी नाका बन्द गरेको थियो। ट्रान्जिटमा रोकिएका सामान पठाएर समस्याको समाधान नहुने व्यवसायीले बताएका छन्।

चीनले दुई मुलुकबीचका प्रमुख व्यापारिक नाका तातोपानी–खासा र रसुवागढी–केरूङ बन्द गर्दा नेपाली व्यवसायी ठूलो मर्कामा परेका छन्। अन्तर्राष्ट्रिय कानुन अनुसार भूपेरिवेष्ठित मुलुकलाई पारवहन सुविधामा अवरोध गर्न नपाइने भए पनि चीनले विभिन्न बहाना बनाएर बन्द गर्दै आएको छ।

भूपरिवेष्टित मुलुक नेपाललाई पारवहन सुविधा दिन सहमत भएको चीनले पटकपटक व्यापारिक नाका बन्द गर्दै आएको छ। सन् २०१६ मा नेपाल र चीनबीच पारवहन सुविधा उपलब्ध गराउनेगरी सम्झौता समेत भएको थियो। नेपालले चिनियाँ सडक मार्ग हुँदै समुद्रसम्मको पहुँच सुविधा पाए पनि यसलाई पूर्ण उपयोग गर्न पाएको छैन।

नाकाको प्रयोग गरेर फ्रि तिब्बत गतिविधि बढ्न सक्ने चीनको बुझाइको कारण विभिन्न बहाना बनाएर नाकामा कडाइ गर्दै आएको हो। नाका बन्द भएपछि नेपाल र चीनबीचको व्यापारमा पटक-पटक समस्या आए पनि दीर्घकालीन समस्याको समाधान हुन सकेको छैन। भूकम्पपछि सुरू भएको चीनको व्यापारिक अवरोध अहिलेसम्म विभिन्न वहानामा भैरहेको छ।

प्रकाशित: ३१ भाद्र २०७९ ०५:४१ शुक्रबार

विभिन्न बहाना बनाएर नाकामा कडाइ