अर्थ

दक्षिण कोरियाको सिओलमा ग्लोबल बैंकको अन्तक्र्रिया

 नेपालमा लगानीका लागि आग्रह गर्दै ग्लोबल आइएमई बैंकद्वारा दक्षिण कोरियाको सिओलमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ।  

बैंकले नेपालमा लगानी गर्न दक्षिण कोरिया सरकार, निजी क्षेत्र र त्यहाँ रहेका नेपालीहरूलाई आग्रह गर्दै सो कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा बैंकले दक्षिण कोरियाको राजधानी सिओलमा शाखा सञ्चालन गर्न प्रक्रिया अगाडि बढाएको बताउँदै नेपाली बैंकमा विदेशी मुद्रामा खाता सञ्चालन गर्न नेपालीहरूलाई आग्रह समेत गरेको थियो ।

उक्त कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्रा सञ्चिति घटेको अहिलेको समयमा मुलुकको अर्थतन्त्र बचाउन प्रत्यक्ष वैदेशिक लगानी र रेमिट्यान्सको अत्यन्तै ठूलो महत्व रहेको बताए। उनले कोरियामा रहेका गैरआवासीय नेपालीहरूलाई नेपालमा लगानी गर्न र वैदेशिक लगानी भित्र्याउन सहजीकरण गर्न आग्रह गरेका छन्।  

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैर आवासीय नेपालीहरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न र नेपाली बैंकमा विदेशी मुद्रामा खाता सञ्चालन गर्न आग्रह गरेका छन्।

आइएमई समूहले गैरआवासीय नेपालीहरूसँगको सहकार्यमा लमजुङमा २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजना निर्माणसम्पन्न गरेको बताउँदै उनले पर्यटन, केबलकार, होटल, जलविद्युत्लगायत अरू धेरै परियोजनाहरू पाइपलाइनमा रहेको र उद्योग वाणिज्य महासंघले पनि गैरआवासीय नेपाली संघसँगको सहकार्यमा केही आयोजनाहरूमा काम गर्न सकिने बताए।  

प्रकाशित: ३० भाद्र २०७९ ०२:४४ बिहीबार

ग्लोबल आइएमई बैंक