अर्थ

युवा उद्यमशीलता शिखर सम्मेलन आयोजना हुँदै

युवा उद्यमीलाई प्रोत्साहन गर्दै युवा उद्यमशीलता शिखर सम्मेलन आयोजना हुने भएको छ।

सरकार र निजी क्षेत्रको साझेदारीमा आगामी भदौ २८ गते काठमाडौंमा आयोजना हुने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ को टाइटल स्पोन्सरमा राष्ट्रिय वाणिज्य बैंक रहने भएको छ।

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको विशेष उपस्थितिमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र विशाल मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका मूल आयोजक समितिका संयोजक विशाल गैरेबीच टाइटल स्पोन्सरका लागि बिहीवार समझदारी पत्रमा हस्ताक्षर भएको छ।

‘आर्थिक समृद्धिका लागि नवप्रवर्तन र उद्यमशीलता’ भन्ने मूल नाराका साथ आयोजित सम्मेलनले युवाहरूलाई उत्पादन र स्वरोजगारसँग जोड्दै नेपालमै उद्यमी बनाउन प्रोत्साहन गर्ने उद्देश्य राखेको परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए।

समझदारी समारोहमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ५७ वर्ष पहिला स्थापना भएको वाणिज्य बैंक युवाहरूलाई उद्यमी बनाउन आवश्यक बिउ पुँजी, तालिम र यस्ता खाले सम्मेलनमा सधैं साथमा रहने प्रतिवद्धता व्यक्त गरे।

७७ वटै जिल्लाबाट प्रतिनिधित्व रहने गरी उद्यमी बन्न चाहने र उद्यम गरिरहेका करिब ५०० जना युवाहरू सम्मेलनमा सहभागी हुने बताउँदै आयोजकले सम्मेलनमा स्टाटअर्प स्टोरी आदानप्रदान, प्यानल डिस्कसन, समूहगत छलफल, नेटवर्किङ, सफल युवा उद्यमीहरूको प्रस्तुतिसहितको अवार्ड वितरण, उद्यमी मेला, विश्व बजारमा भइरहेका नवप्रवर्तनीय कार्यको डेमो प्रदर्शन, लगानी सम्झौता, मेन्टरिङ र लगानी सम्झौता लगायतका कार्यक्रमहरू रहेका जनाएको छ।

सम्मेलनमा नेपाल सरकारको राष्ट्रिय योजना आयोग र बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमेत साझेदार रहेको छ।

नेपाल सरकारको राष्ट्रिय युवा परिषद् र निजीक्षेत्रबाट विशाल मिडिया ग्रुपको मूल संयोजनमा शिखर सम्मेलनको दोस्रो संस्करण आयोजना हुन लागेको हो।  

प्रकाशित: २९ भाद्र २०७९ ०३:१२ बुधबार

युवा उद्यमशीलता शिखर सम्मेलन युवा उद्यमीलाई प्रोत्साहन