अर्थ

दया फाउन्डेसनले गर्‍यो कल्चरल भिडियो कन्टेस्ट नेवारी संस्करणको उद्घाटन

दया फाउन्डेसनले नेवारी परम्परा, संस्कृति, मूल्यमान्यतामा आधारित विषयवस्तुहरू झल्काउने सम्बन्धी कल्चरल भिडियो कन्टेस्टको घोषणा गरेको छ।  

सो कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले गरेका हुन्। इन्द्रजात्राको अवसरमा सुरु गरिएको यस प्रतियोगिताका प्रतियोगीहरूले ३ मिनेटसम्मको उल्लेखित विषयवस्तुमा आधारित भिडियो बनाई प्रस्तुत गर्नुपर्नेछ।

उक्त प्रतियोगिताको पहिलो चरणमा ०७९ आश्विन १५ का दिन बेलुकी ६ बजे जुम मिटिङमार्फत प्रतियोगीहरूको छनोट गरिनेछ र पहिलो चरणमा छनोट भएका प्रतियोगीहरूहरूले पुस १६ भित्र आफुले तयार गरेको भिडियो दया फाउन्डेसनको इमेलमा पठाइसक्नुपर्नेछ।  

यस प्रतियोगिताको विजेताको घोषणा ०७९ माघ १ गतेका दिन गरिने फाउण्डेसनले जनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले यस प्रकारको कार्यक्रमले मौलिक परम्परा तथा संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका निमित्त एकदमै ठूलो टेवा पुर्‍याउने बताए। साथै, उनले दया फाउन्डेसनलाई यस्तो उदाहरणीय प्रतियोगिताको आयोजना गरेकोमा विशेष धन्यवाद व्यक्त गरे।  

उक्त कार्यक्रममा प्रमुख अतिथिलगायत दया फाउन्डेसनका अध्यक्ष राजेशबहादुर प्रधान, काठमाडौँ महानगरपालिका–१८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन, वडा–२२ का अध्यक्ष चिनीकाजी महर्जन तथा विभिन्न नेवारी समाजका अध्यक्षहरूलगायत सो क्षेत्रका स्थानीयको उपस्थिति रहेको थियो।

प्रकाशित: २७ भाद्र २०७९ ०८:४० सोमबार

दया फाउन्डेसन