अर्थ

'होडिङ बोर्ड' विज्ञापनको लागि हुने ठेक्का प्रथा रोकिनुपर्छः लक्ष्मण हुमागाईं

विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईंले स्थलगत (होडिङ बोर्ड) विज्ञापनको लागि हुने ठेक्का प्रथा रोक्ने तयारीमा रहेको बताएका छन्।

आइतबार नेपाल उद्योग वाणिज्य महासंघसँग विज्ञापन आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यकारी अध्यक्ष हुमागाईंले स्थलगत विज्ञापनको लागि अझैपनि ठेकेदारी प्रचलन गरेको भन्दै अब बोर्डले ठेकेदारी प्रचलन रोक्ने कानून बनाएर लागू गर्ने बताए।

अध्यक्ष हुमागाईंले होडिङ बोर्ड विज्ञापनमार्फत उठ्ने राजश्व ठेकेदारले उठाउने गरेकाले अब विज्ञापन वापतको राजश्व ठेकदारले उठाउन नपाउने व्यवस्था लागू गर्ने पक्षमा बोर्ड रहेको बताए। उनले विज्ञापनको राजश्व उठाउने अधिकार स्थानीय स्वायत्ता ऐनले स्थानीय सरकारलाई दिएपनि ठेकेदारहरुले उठाइरहेको बताए।

अध्यक्ष हुमागाईंले गाउँपालिका, नगरपालिका र सरकारबीचको समन्वयको कमीले गर्दा ठेकेदारबीचको द्वोन्द्वको चपेटा रहेको भन्दै विज्ञापन आचारसंहिताले समेट्न नसकेको बताए। उनले यसको लागि निर्वाचन अगाडि नै स्थलगत विज्ञापनको राजश्व स्थानीय सरकारले उठाउन पाउने गरी कानून मन्त्रीपरिषद्ले पास गर्ने बताए।

उनले बोर्डले यो वर्ष डिजिटल मिडियाको ऐन बनाएर नै व्यवस्थापन  गर्ने बताए। अध्यक्ष हुमागाईंले बढीमा चार पाँच महिना भित्र डिजिटल मिडिया व्यवस्थापन गर्ने गरी काम भईरहेको बताए। उनले डिजिटल मिडिया व्यवस्थापनको लागि विज्ञापन संघ, विज्ञापन सोसाइटी, उद्योग वाणिज्य संघ र उपभोत्ताको ठूलो सहयोग भएपनि सरकारी कर्मचारीहरुको नै असहयोग रहेको बताए।

अध्यक्ष हुमागाईंले बोर्डको पहलमा चालु आर्थिक वर्षदेखि सरकारी विज्ञापनमा मिडियाको बिलमार्फत भुक्तानी गर्ने पाउनेगरी सञ्चार मन्त्रालयले परिपत्र जारी गरेको बताए। उनले मिडियाको बिलबाट नै भुक्तानी पाउने नियम  तत्काल लागू हुने बताए।

त्यस्तै अध्यक्ष हुमागाईंले विदेशी विज्ञापन तत्काल नियन्त्रण गर्नपनि बताए। उनले डविङ विज्ञापन बोर्डले रोकेको भन्दै यदि कही डविङ विज्ञापन बजेको छ भने खबर गर्न व्यवसायीहरुसँग आग्रह गरे।

प्रकाशित: २७ भाद्र २०७९ ०७:२२ सोमबार

विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईं नेपाल उद्योग वाणिज्य महासंघ