अर्थ

डेंगीबाट तंग्रिँदै पोखरा

फाइल तस्बिर

तीन वर्षअघि डेंगीले पोखरा क्षेत्रमा हायलकायल पार्‍यो। डेंगी नियन्त्रणका लागि त्यो बेला निकै मेहनत गर्नुपरेको थियो। पोखरा महानगरपालिका ८ नम्बरमा त्यो वर्ष सबैभन्दा बढी बिरामी भएका थिए। त्यो वर्ष पोखरामा मात्र करिब दुई हजारजनामा यो संक्रमण भएको थियो।

त्यतिखेर पोखरामा फैलिएजस्तै अहिले डेंगीले राजधानी काठमाडौंसहित तराईका जिल्लामा अत्याएको छ। तर, यतिबेला पोखरामा भने डेंगीका बिरामी छैनन्। केही दिनअघिका सीमित बिरामी पनि निको भइसकेका छन्। ७७ मध्ये ७२ जिल्लामा डेंगी फैलिएको सरकारले बताइसकेको छ। डेंगी पुग्न बाँकी जिल्लामा हिमाली भेगका छन्।

गण्डकी प्रदेशका हिमाली जिल्ला मनाङ र मुस्ताङमा डेंगीका बिरामी फेला परेका छैनन्। मौसम अनुकुल नहुँदा ती हिमाली जिल्लामा डेंगी फैलिन नपाएको जिल्लास्थित स्वास्थ्य कार्यालयले बताएका छन्। स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बद्रीराज आचार्यका अनुुसार गत साउनयता कास्कीमा २० जना डेंगीका बिरामीले उपचार गराएका थिए। उनीहरू कास्कीका मात्र नभई आसपासका जिल्लाका पनि बिरामी थिए। पर्वत, स्याङ्जालगायतका जिल्लाबाट पनि उपचारका लागि ती बिरामी पोखरा आएका थिए। तर, उपचारपछि निको भई सबैजना बिरामी घर फर्किसकेको उनले बताए।

‘यतिबेला कास्कीमा डेंगीमा एकजना पनि बिरामी भएको थाहा छैन’, उनले भने, ‘सबैतिर संक्रमण बढ्दो छ। तर, अहिले कास्कीमा कोही बिरामी छैनन्। तैपनि हामी सचेत भने हुनैपर्छ। बिरामी छैनन् भनेर हेलचेक्रयाइँ भने गर्नु हुँदैन।’ यसपटक सबैतिर डेंगीले सताउँदा पोखरामा भने बिरामी नै छैनन्। किनकि यहाँ तीन वर्षअघि गरेको नियन्त्रण प्रयासपछिको सचेतना, त्यो बेला गरिएको नियन्त्रण प्रयास र निरन्तरको वर्षाका कारण यसपटक कम संक्रमण भएको हुन सक्ने आचार्यको अनुमान छ।

तीन वर्षअघि पोखरामा डेंगी फैलिँदा व्यापक रूपमा ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान चलाइएको थियो। लामखुट्टेको टोकाइबाट सर्ने यो रोग नियन्त्रण गर्न लामखुट्टे मार्ने अभियान नै चलाइएको थियो। ‘पोखरामा निरन्तर वर्षा भएको छ। तीन वर्षअघि हामीले व्यापक रूपमा सचेतनाका कार्यक्रम ग¥यौं। त्यो बेला पानी जम्ने, टायर, ट्यांकी, नाला, गमला व्यापक रूपमा नष्ट गर्‍यौं। घरको छतमा जम्ने गरी राखिएको टायर निकाल्यौं, त्यसैको कारण अहिले नियन्त्रणमा आएको हुन सक्छ’, आचार्यले भने, ‘किनकि लामखुट्टेको टोकाइबाट सर्ने भएकाले लामखुट्टे नियन्त्रणमै त्यो बेला हाम्रो ध्यान केन्द्रित रह्यो। समुदाय नै त्यो बेला व्यापक परिचालन गरेकाले अहिले केही सहज भएको हो।’

उनका अनुसार डेंगी फैलाउने लामखुट्टे नियन्त्रणका लागि भाडामा कम्तीमा एक सातासम्म पानी जम्न दिनु हुँदैन। वर्षाका कारण जमेको पानी पनि छिटोछिटो फेरिएकाले डेंगी फैलाउने लामखुट्टे फैलिन नपाएको हुन सक्ने उनले बताए। ठूलो मेहनतका साथ घरघरमा पुगेर नियन्त्रण अभियान चलाएकै कारण अहिले संक्रमण फैलिन नपाएको अनुमान रहेको उनले बताए।

गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. नारायण श्रेष्ठले गण्डकी प्रदेशका जिल्लामा यतिबेला डेंगी संक्रमण कम भएको बताए। उनले पनि तीन वर्षअघिको मेहनत र सचेतनाका कारण योपटक केही नियन्त्रण भएको बताए। ‘घरघरमा पुगेर त्यो बेला नियन्त्रण गरिएको थियो। तर, वर्षाको सिजन अझै बाँकी भएकाले अहिल्यै हेलचक्रयाइँ भने गर्नु हुँदैन। सचेत भने हुनपर्छ’, श्रेष्ठले भने, ‘तीन वर्षअघि पोखरा क्षेत्रमा डुंगी फैलिँदा नियन्त्रणका लागि घरघरमा पुगेर संकलित पानी फ्याँक्ने, नाला सफा गर्ने, गमला फुटाउने, टायर खाली गर्नेलगायतका काम गर्दा अहिले नियन्त्रणमा सहज भएको हो।’

चिकित्सकका अनुसार एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेंगी सर्छ। यो लामखुट्टेले दिनको समयमा मात्र टोक्छ। यो लामखुट्टे फैलिनका लागि २० देखि ३० डिग्री सेन्टिग्रेड तापक्रम उपयुक्त मानिन्छ। पोखराको यतिबेलाको तापक्रम न्यूनतम २० र अधिकतम ३२ डिग्री सेन्टिग्रेड रहेको छ।

त्यस्तै यो लामखुट्टे फैलनाका लागि ह्युमिडिटी (सापेक्षित आद्रता) ६० प्रतिशत आवश्यक पर्छ। ६० प्रतिशत ह्युमिडिटी भनेको वायुमण्डलमा हुने पानीको मात्रा बुझिन्छ। ६० प्रतिशत ह्युमिडिटीले यो लामखुट्टे फैलाउन सघाउने चिकित्सकले बताउने गरेका छन्। फूलबारी, गमला, एसी, फ्रिज, छत, कौसीको पानी जम्ने ठाउँमा यस्तो लामखुट्टेले फुल पार्ने र त्यो फुल एक वर्षसम्म पनि रहन सक्ने भएकाले सधैंभरि जोखिम भने रहिरहने स्वास्थ्यकर्मीको भनाइ छ।

पोखरामा २०७२/७३ सालदेखि डेंगी देखिन थालेको थियो। सुरुका तीन वर्ष एकएकजना मात्र डेंगीका बिरामी भेटिएकोमा चौथो वर्षमा ५७१ जना बिरामी परेका थिए। त्यसपछिको वर्ष भने त्यो संख्या झन्डै २ हजार पुगेको थियो। डेंगी फैलाउने यो लामखुट्टेले सफा पानी जमेको ठाउँमा मात्र फुल पार्ने गर्छ। खासगरी वर्षाको पानी जम्ने भाँडाकुँडा, टिनका बट्टा, पुराना टायर, खाली ड्रम, फूलदानी, गमला, पानी ट्यांकीलगायतका भाडामा फुल पार्छ। त्यसैले वर्षाको पानी जम्ने सिजनमा यो रोग फैलिने गरेको चिकित्सकले बताएका छन्।

चिकित्सकका अनुसार डेंगी लागेपछि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्छ। त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिँजा तथा शरीरका अन्य अंगबाट रगत बग्ने सम्भावना रहेको चिकित्सकले बताएका छन्।

प्रकाशित: २६ भाद्र २०७९ ०२:०७ आइतबार

डेंगी पोखरा