अर्थ

नेप्से परिसूचक ४.२९ अंकले गिरावट, कारोबार रकम करोडमा झर्‍यो

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकसँगै कारोबार रकमसमेत घटेको छ। आइतबार सामान्य अंक बढेर बन्द भएको नेप्से परिसूचक सोमबार ४.२९ अंक घटेर १९७३.०१ बिन्दुमा झरेको छ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.८२ अंक, फ्लोट इण्डेक्स ०.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंक घटेको छ। सोमबार कारोबारमा आएका २२४ कम्पनीको २४ लाख ४४ हजार कित्ता शेयर ९० करोड ९९ लाख ४ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ।

आइतबारको कारोबारमा १ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज ९० करोड बराबरको मात्रै कारोबार भएको छ। सोमबार नेप्सका १३ उपसमूह मध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको घटेको छ।

जसमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.०४ प्रतिशत र लघुवित्त उपसमूहको ०.०६ प्रतिशत बढेको छ। तर यता अन्य उपसमूहको परिसूचक १.०४ प्रतिशत र वित्तको ०.५९ प्रतिशत घटेको छ। सोमबार नेप्से सामान्य अंकले घटेपनि मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य ७.४३ प्रतिशत बढेको छ।

त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्स र रिडी पावरको शेयर मूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ। तर यता रुरु जलविद्युत परियोजनाको ६.५५ घटेको छ। सोमबार रिडी पावर कम्पनीको ९ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

प्रकाशित: २० भाद्र २०७९ ११:१२ सोमबार

नेप्से परिसूचक शेयर मूल्य