अर्थ

महानगरको अल्टिमेटमपछि ‘फनपार्क’ले बुझायो कर

काठमाडौं महागरपालिकाले बुधबार दिएको २४ घण्टे अल्टिमेटमपछि भृकुटीमण्डपस्थित काठमाडौं फनपार्कले बिहीबार मनोरन्जन कर तिरेको छ।

फनपार्कले महानगरपालिकालाई १७ लाख ३६ हजार रूपैयाँ कर तिरेको काठमाडौं महानगरपालिकाका राजस्व विभाग प्रमुख शिव अधिकारीले जानकारी दिए। महानगरपालकाले बुधबार फनपार्कलाई २४ घन्टाभित्र तिर्नुपर्ने कर तिर्न अनुरोध गरेको थियो।

यसैबीच महानगरपालिकाले त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा रहेको डिजिटल बोर्ड बिहिबार हटाएको छ। महानगर प्रहरीको टोलीले नक्सा पास र गैरकानुनी संरचना अभियानलाई निरन्तरता दिँदै बिहीबार दिउँसो वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको हो।

डिजिटल होर्डिङ बोर्डका कारण सवारी दुर्घटना बढेको भन्दै महानगरले डिजिटल होर्डिङ बोर्ड हटाउने अभियान सुरु गरेको छ। महानगरकाभित्रका मापदण्डविपरीतका सबै होर्डिङ बोर्ड हटाइने महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

प्रकाशित: १७ भाद्र २०७९ ०५:०० शुक्रबार

भृकुटीमण्डपस्थित काठमाडौं फनपार्क महानगरको अल्टिमेटम