अर्थ

नेप्से परिसूचक २१.९७ अंकले गिरावट

मंगलबार सामान्य अंकले वृद्धि भएको नेप्से परिसूचक बुधबार उच्च अंकले घटेको छ।

बुधबार नेप्से सूचक २१.९७ अंकले घटेर १९७३.३८ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.३६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ अंकले घटेको छ।

बुधवार कारोबारमा आएका २२४ कम्पनीको २९ लाख ९२ हजार ८७३ कित्ता शेयर १ अर्ब १२ करोड ६२ लाख १८ हजार ८६१ रुपैयाँ बराबरको कारोबार भएको छ। मंगलवारको भन्दा बुधबार कारोबार रकम भने सामान्य बढेको छ। मंगलबार १ अर्ब १ करोड ९५ लाख १६ हजार ६९६ रुपैयाँ बराबरको कारोबार भएको थियो।  

बुधवार नेप्सेका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ। जसमा हाइड्रोपावर र फाइनान्स उपसमूहको सूचकमा बढी घटेको देखिन्छ।

बुधबार नेप्से घटेपनि  हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। उन्नती सहकार्य लघुवित्तको १.६१ प्रतिशत,गणपति लघुवित्तको १.४० प्रतिशत,दोर्दी हाइड्रोपावरको १.२५ प्रतिशत र मैलुङ खोला जलविद्युतको १.१८ प्रतिशतले बढेको छ। तर यता हिमालयन पावर पार्टनरको शेयरमूल्य सबैभन्दा धेरै ६.८६ प्रतिशतले घटेको छ भने अपर सोलु हाइड्रोपावरको ५.२२ प्रतिशत र खानी खोला हाइड्रोपावरको ५.०७ प्रतिशतले घटेको छ। बुधवार नेपाल दूरसञ्चार कम्पनीको सबैभन्दा धेरै १० करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

प्रकाशित: १५ भाद्र २०७९ ११:३० बुधबार

नेप्से परिसूचक