अर्थ

सञ्चालनमा आयो पहिलो विद्युतीय चार्जिङ स्टेसन

विद्युत् खपत प्रबर्द्धन गर्न तथा विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने उद्देश्य स्वरुप नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको रत्नपार्कमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ।

ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा स्थापना भएको चार्जिङ स्टेसनको उद्घाटन गरेकी हुन्।  

प्राधिकरणका अनुसार देशका प्रमुख शहर तथा राजमार्गहरुमा पनि द्रुत सवारी चार्जिङ स्टेसनहरुको स्थापना गर्ने तयारी भइरहेको छ। देशका विभिन्‍न स्थानमा ५१ वटा चार्जिङ स्टेसन स्थापना गर्ने कार्य भइरहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले बिर्तामोड, दमक, विराटनगर, इटहरी, बेलाका, सुनसरी बसपार्क, लाहान, बर्दिबास र सिन्धुलीमाडीमा चार्जिङ स्टेसन स्थापना गर्दैछ। खुर्कोट, बनेपा, पथलैया, हेटौंडा, चितवन, मुग्लिन, धार्के, पोखरा, बर्दघाट, बुटवाल, भैरहवा, चन्द्रौटा, लमही, कोहलपुर, लम्की, अत्तरीया, महेन्द्रनगर र सुर्खेतमा चार्जिङ स्टेसन राखिंदैछ। काठमाडौंको साझा पुल्चोक, साझा बल्खु, हल्चोक र त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि चार्जिङ स्टेसन जोडिंदैछ।

प्रकाशित: १४ भाद्र २०७९ ०८:२५ मंगलबार