अर्थ

जलविद्युत् आयोजनाको डिजाइन संशोधन गरिने

फाइल तस्बिर

सरकारले अर्धजलाशय (पीआरओआर) र नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् आयोजनाको डिजाइन डिस्चार्ज (क्यू) संशोधन गर्ने भएको छ। सरकारले अहिले अर्धजलाशय तथा नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाहरू डिजाइन डिस्चार्ज(क्यू) ४० लाई संशोधन गरेर क्यू २५ मा झार्ने तयारी गरेको छ।  

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठन भएको कार्यदलले जलविद्युत् आयोजनाको विकास, सर्वेक्षण एवं उत्पादन अनुमतिपत्र र निर्देशिका तथा विद्युत् खरिद बिक्री सम्झौतामा अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्था सम्बन्धी प्रतिवेदनमा पनि जलविद्युत् आयोजना क्यू ४० बाट क्यू २५ मा निर्माण गर्न सकिने सुझाव दिएको थियो।  

सोही सुझावको आधारमा मन्त्रालयले आवश्यक निर्देशिका संशोधन गरेर जलविद्युत् आयोजनाको क्यू ४० बाट क्यू २५ मा झार्ने तयारी गरिरहेको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले भारतमा बिजुली निर्यात गर्न थालेपछि जलविद्युत् आयोजनाको क्यू परिवर्तन गर्न लागेको बताए। ‘भारतमा बिजुली निर्यात हुन थालेसँगै नेपालका जलविद्युत् आयोजनाको क्यू परिवर्तन गर्न लागिएको हो,’ उनले भने– ‘क्यू परिवर्तन गरेसँगै नेपालले भारतमा बिजुली निर्यात गर्ने क्षमतामा पनि धेरै वृद्धि हुनेछ।’

कार्यदलको प्रतिवेदनमा क्यू ४० को आयोजना क्यू २५ मा झार्दा औषतमा आयोजनाको जडित क्षमता ८५.४ प्रतिशतले बढ्न सक्ने सुझाव दिइएको छ। ‘क्यू ४० को आयोजना क्यू २५ मा झर्दा औषतमा आयोजनाको जडित क्षमता ८५.४ प्रतिशतले बढ्न सक्नेछ,’ कार्यदलको प्रतिवेदनमा भनिएको छ– ‘आयोजनाबाट वार्षिक उत्पादन हुने ऊर्जा ४०.२ प्रतिशत र वर्षायामको ऊर्जा ५९.३ प्रतिशतले बढ्न सक्नेछ।’  

आयोजनाको प्लान्ट फ्याक्टर ६८.२ प्रतिशतबाट ५९.३ प्रतिशत हुने अनुमान गरिएको छ। कार्यदलको प्रतिवेदनले आयोजनाको स्पेसिफिक प्रोजेक्ट लागत १५६० अमेरिकी डलर प्रतिकिलोवाटबाट घटेर एक हजार ९२ डलरप्रति किलोवाट हुने प्रक्षेपण गरिएको छ। क्यू ४० अनुसार नेपालका जलविद्युत् आयोजना निर्माण गर्दा कम्तिमा ४३ हजार मेगावाट बिजुली उत्पादन हुन सक्छ तर क्यू घटाएर निर्माण गर्ने हो भने कम्तिमा ७५ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिन्छ।  

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न गरिसकेका तर निर्माणमा नगएका आयोजनाहरूले पनि आफ्नो डिजाइन डिस्चार्ज परिवर्तन गरी आयोजना निर्माण गर्न चाहेमा परिवर्तन गर्न दिने भएको छ। मन्त्रालयले वर्षायाममा थप हुने ऊर्जाको रेट प्रति युनिट ३.६१ रूपैयाँ कायम गर्ने प्रस्ताव गरेको छ। यसअघि वर्षातको समयमा ४.८० रूपैयाँ प्रति युनिट बिजुली खरिद गर्ने दररेट कायम गरिएको थियो।

मन्त्रिपरिषद्को २०७९ असार २४ गतेको बैठकले ऊर्जा सम्मिश्रणको अधिकतम सीमा ६ हजार ७ सय ५० मेगावाट क्षमता नपुगेसम्म साविकको पीपीए रेट अनुसार नै वर्षायाममा ४.८० रूपैयाँ र हिउँदेयाममा ८.४० नदी प्रवाहमा आधारित आयोजनाको पिपिए गर्ने निर्णय गरेको थियो। त्यसैगरी पिपिए गरिसकेपछि प्रवद्र्धकले क्यू परिवर्तन गर्न चाहेमा वर्षायाममा थप हुने ऊर्जाको रेट प्रति युनिट ३.६१ रूपैयाँ कायम हुने गरी परिवर्तन गर्न अनुमति दिने निर्णय गरेको छ।

सरकारले ऊर्जा सम्मिश्रणको अधिकतम सीमा ६७ सय ५० मेगावाट पुगेपछि पिपिए गर्ने आयोजनाको हकमा जुनसुकै डिजाइन डिस्चार्जमा आयोजना निर्माण गर्ने भए पनि वर्षायाममको विद्युत् खरिद दर प्रतियुनिट ४.२४ रूपैयाँ कायम गरेको छ।

पीआरओआर आयोजनाको हकमा समेत मन्त्रिपरिषद्को निर्णय अनुसार कायम सीमा ४५०० मेगावाटसम्म हालकै व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको छ। त्यसैगरी पिपिए गरिसकेपछि प्रवद्र्धकले क्यू परिवर्तन गर्न चाहेमा वर्षायाममा थप हुने ऊर्जाको रेट प्रतियुनिट रु ३.६१ कायम हुने गरी परिवर्तन गर्न अनुमति दिने निर्णय गरेको छ। सो सीमा पश्चात् पीपीए गर्ने आयोजनाको हकमा जुनसुकै डिजाइन डिस्चार्जमा आयोजना निर्माण गर्ने भए पनि वर्षायामको विद्युत् खरिद दर प्रतियुनिट ४.२४ हुने कायम गरेको छ।

क्यू भनेको के हो ?

जलविद्युत् आयोजनामा प्रयोग हुने क्यूले आयोजनाको डिजाइन डिस्चार्जलाई बुझाउने गर्छ। कुनै पनि जलविद्युत् आयोजना क्यू ४० मा डिजाइन गर्दा सो जलविद्युत् आयोजनाले ४० प्रतिशत समय अर्थात् ४.८ महिना क्यू ४० मै बिजुली उत्पादन हुने गर्छ। अरू समयमा भने सो क्षमताभन्दा कममा बिजुली उत्पादन हुने गर्छ। सामान्यतया ४० क्यूभन्दा माथि पुगेपछि लगभग शतप्रतिशत विद्युत् उत्पादन अवधि बढ्दै जानेछ। हालसम्म नेपालमा क्यू ४० कै आधारमा जलविद्युत् आयोजनाको अध्ययन गरेर विद्युत् विकास विभागबाट अनुमतिपत्र जारी गर्ने प्रचलन रहँदै आइरहेको छ।

प्रकाशित: १४ भाद्र २०७९ ०२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App