अर्थ

धरानको बानेटारमा जलाशय बनाउन अध्ययन गरिँदै

नसाने–सर्दु दोभानस्थित खानेपानी ट्यांकी निर्माणस्थल। तस्बिर : रोहित/नागरिक

सर्दु, खर्दु र निसाने खोलामा बगेर खेर गइरहेको पानीलाई स्टोर गरेर खुवाउनका लागि ट्यांकी बन्न लागेको हो। ट्यांकी निर्माण सकिएपछि १० इन्चको पाइपमार्फत पानी स्वास्तिका चोकको ट्यांकीमा पुर्‍याएर वितरण गरिने खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले बताए।

धरानको वडा नम्बर २० स्थित बानेटारमा जलाशय बनाउन सम्भाव्यता अध्ययन कार्य शुरु भएको छ। धरान नगरपालिकाले खानेपानी समस्या हल गर्न जलाशय बनाउनको लागि सम्भाव्यता अध्ययन गर्ने प्रस्ताव पारित गरेको थियो। उक्त प्रस्तावलाई मूर्तरूप दिन अध्ययन कार्य शुरु भएको धरान उपमहानगरपालिकाका योजना तथा इञ्जिनियरिङ महाशाखा प्रमुख वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठले जानकारी दिए। श्रेष्ठ, धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक एवं इञ्जिनियर राजु पोखरेलसहितका प्राविधिकहरूको टोलीले बानेटारको फिल्ड भिजिट गरेका छन्। श्रेष्ठले भने ‘फिजिवल छ छैन, कति क्षमताको बन्न सक्छ। माटोको अवस्था कस्तो छ भनेर अध्ययन गर्नुपर्ने भएकोले फिल्ड भिजिट गरेका छौं।’  

श्रेष्ठका अनुसार बानेटारमा करिब २५ देखि ३० करोड लिटर पानी जम्मा गर्न सकिने प्रारम्भिक अनुमान गरिएको छ। जलाशयको लागि डिपिआर बनाउन परामर्शदाताहरूसँग कुरा पनि भइरहेको उनले जानकारी दिए। ‘डिपिआरअघि सम्भाव्यता अध्ययन गर्नुपर्ने हुन्छ। जिओलोजिकल र जिओटेक्निकल अध्ययन गर्छौं। फिजिवल छ भन्ने पक्का भएपछि डिपिआर बन्छ,’ श्रेष्ठले भने– ‘विज्ञहरूसँग सल्लाह भइरहेको छ। सम्भाव्यता अध्ययन र डिपिआरसँगसँगै लैजान्छौं। डिपिआर बनेपछि स्रोत व्यवस्थापनको काम हुन्छ र त्यसपछि निर्माणको काम अघि बढ्छ।’  

खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले बानेटारमा जलाशय बनेपछि हिउँदमा हुने पानीको समस्या धेरै कम हुने बताए। उनका अनुसार उक्त जलाशयमा सर्दुको पानी भण्डारण गरेर राखिनेछ, र त्यही पानी सुक्खायाम चैत, वैशाख र जेठमा वितरण हुनेछ। ‘बर्खायामको पानी स्टोर गरेर हिउँदमा लैजाने हो। सर्दुको पानी पम्प गर्नुपर्दैन, ग्राभिटी फ्लोबाटै जलाशयसम्म पुग्छ’, पोखरेलले भने– ‘फागुन अन्तिमदेखि चैत, वैशाख र मध्य जेठसम्म धेरै समस्या हुन्छ। ३० करोड लिटर पानी जम्मा हुँदा दिनको ५० लाख लिटर मात्र दैनिकरूपमा पठायौं भने धेरै राहत मिल्छ ।’

पानी शुद्धिकरणको लागि पनि प्रक्रिया थालेको उनले बताए। सर्दुबाट एउटा कुलो बनाएर पानी ल्याएको र त्यो कहिल्यै फोहोर नहुने पनि उनले बताए। एक ठाउँमा पहिरो गएको कारण धमिलो पानी आइरहेको भन्दै उनले उक्त पहिरोलाई प्रोटेक्सन गर्न सकेमा सफा पानी ल्याउन सकिने बताए।  

मेयर हर्कराज राई (साम्पाङ)ले सम्भाव्यता अध्ययन र डिपिआर तयार भएपछि निर्माणको काम शुरु गर्ने बताए। ‘अर्थमन्त्रीले पनि डिपिआर ल्याउनु सहयोग गर्छौं भन्नुभएको छ। आशा गर्ने आधार छ। बन्दै गएपछि सबैको लगानी हुन्छ। जनताबाट पनि अनुदान हुन्छ’– मेयर साम्पाङले भने ।

निसाने दोभानमा ट्यांकी बनाउन शुरु

सर्दु–निसाने खोला दोभानमा खानेपानी ट्यांकी निर्माण कार्य शुरु भएको छ। गोर्खा पिस फाउण्डेसन युके र मेयर हर्क साम्पाङ सपोर्ट कमिटी युकेको आर्थिक सहयोगमा उक्त ट्यांकी निर्माण कार्य शुरु भएको हो।  

यो ट्यांकी २ लाख १० हजार लिटर बढी क्षमताको हुने प्रोजेक्ट मेनेजर पूर्णप्रसाद लिम्बुले जानकारी दिए। उनका अनुसार अढाइ लाख लिटर क्षमताको ट्यांकी निर्माण गर्ने योजना भए पनि प्राविधिक कारणले २ लाख १० हजारभन्दा केही बढी क्षमताको निर्माण हुने भएको छ। यसको लागत एस्टिमेट ५५ लाख ९० हजार २३३ रूपैयाँ अनुमान गरिएको छ। यो कुल लागतको ८८ प्रतिशत हो।  

नगरपालिका वा खानेपानी बोर्डबाट जनश्रमदान ११.८८ प्रतिशत अर्थात् ७ लाख ४७ हजार ७ सय बराबरको हुने पनि लिम्बुले बताए। ‘कुल हिसाब गर्दा ६३ लाख ३६ हजार ९३६ रूपैया बराबरको हुन्छ’ उनले भने– ‘तीन महिनाभित्र निर्माण कार्य सकेर ट्यांकी हस्तान्तरण गरिने छ।’

सर्दु, खर्दु र निसाने खोलामा बगेर खेर गइरहेको पानीलाई स्टोर गरेर खुवाउनको लागि यो ट्यांकी बन्न लागेको हो। ट्यांकी निर्माण कार्य सकिएपछि १० इञ्चको पाइपमार्फत पानी स्वास्तिका चोकको ट्यांकीमा पुर्याएर वितरण गरिने खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले बताए। उनका अनुसार अहिलेसम्म स्वास्तिका चोकमा जंगलबाट पम्पिङ गरेर मात्र पानी आपूर्ति भइरहेको छ। यो ट्यांकी निर्माण भएर पानी थपिएपछि धरान १०, १२, ११, १७, १८, १९ वडामा राहत पुग्ने उनले बताए।

प्रकाशित: १२ भाद्र २०७९ ०१:४० आइतबार

धरानको बानेटारमा जलाशय धरान