अर्थ

पोखरा उद्योग वाणिज्य संघः प्रजापति र पोखरेल प्यानल आमनेसामने

पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि घोषित पोखरेल समूह । तस्बिर: सन्देश/नागरिक

नीजि क्षेत्रका उद्योगी, व्यवसायीको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि दुई समूह चुनावी मैदानमा उत्रिएका छन्। संघको यहि भदौ २४ र २५ गते हुने ३४ औं महाधिवेशनबाट नेतृत्व लिन पवनकुमार प्रजापति र अर्जुन पोखरेल समूह बनाएरै चुनावी मैदानमा उत्रिएका हुन्।

संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका प्रजापति वर्तमान बरिष्ठ उपाध्यक्ष हुन् भने पोखरेल वर्तमान उद्योगतर्फका उपाध्यक्ष हुन्। १० वर्षअघि सदस्यबाट संघको कार्यसमितिमा प्रवेश गरेका प्रजापति कोषाध्यक्ष, उपाध्यक्षहुँदै बरिष्ठ उपाध्यक्ष भइसकेका छन्। त्यस्तै पोखरेल पनि सदस्य, उपमहासचिव, महासचिव हुँदै उपाध्यक्ष भइसकेका छन्।

प्रजापति समूहबाट बरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की तथा पोखरेल समूहबाट हरिहर अधिकारी उम्मेदवार बनेका छन्। कार्की वर्तमान उद्योगतर्फका उपाध्यक्ष हुन् भने अधिकारी वर्तमान उद्योगतर्फका कार्यकारिणी सदस्य हुन्। संघको उद्योगतर्फको उपाध्यक्षमा प्रजापति समूहबाट हिरामणी पण्डित र पोखरेल समूहबाट देवेन्द्र केसी तथा वाणिज्यतर्फको उपाध्यक्षमा प्रजापति समूहबाट उत्तममान बुद्धाचार्य र पोखरेल समूहबाट मुना बाँस्तोलाले उम्मेदवारी घोषणा गरेका छन्।

त्यस्तै, महासचिवमा प्रजापति समूहबाट बलराम आचार्य र पोखरेल समूहबाट केशवबहादुर खत्रीले उम्मेदवारी दिने भएका छन् भने कोषाध्यक्षमा प्रजापति समूहबाट दीनेशचन्द्र बाँस्तोला र पोखरेल समूहबाट हरिराज पन्त तथा उप–महासचिवमा प्रजापति समूहबाट शोभा गौतम र पोखरेल समूहबाट हर्कबहादुर अधिकारीले उम्मेदवारी घोषणा गरेका छन्।

प्रजापति समूह

त्यस्तै सदस्यमा प्रजापति समूहबाट प्रभा सुवेदी, बालकृष्ण कोईराला, विनोद केसी, भीम गौतम, मनोजकुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदीप ओझा र सुदीप प्रधानाङ्ग परेका छन्। पोखरेल समूहबाट भरत केसी, धर्मेन्द्र वाटाजु, माधव बस्ताकोटी, उदय केसी (लाहुरे दाई), दीलिप श्रेष्ठ, दुर्गा रञ्जित श्रेष्ठ, कृष्ण कोईराला र हिमनिधि लौडारी रहेका छन्।

‘संघको जिवन्तताः व्यवसायीक विकासको अभियन्ता’ मूख्य नारा तय गरेको प्रजापति समूहले व्यावसायीक वातावरण निर्माण र उद्योगी–व्यवसायीहरुको सम्मान अभिवृद्धिलाई पहिलो प्राथमिकता दिने बताएको छ। त्यस्तै डाटा बैंक स्थापना तथा व्यवसाय प्रवद्र्धन केन्द्र स्थापना, रुग्ण उद्योगहरु र नोक्सानमा चलेका व्यवसायको पुनरुत्थानका लागि बैंक तथा घरबेटीसँग छलफल गरी सहजता प्रदान गर्ने, नयाँ व्यवसाय सञ्चालन गर्नेलाई आवश्यक परामर्श र तथ्याङ्क उपलब्ध गराउने, नवप्रवर्तन र महिला उद्यमशीलता विकासलाई केन्द्रमा राखेर त्यसका लागि आवश्यक प्रविधि, पुँजी र बजारीकरणमा सघाउने गरी व्यवसाय प्रवद्र्धन केन्द्र खोल्ने जनाएको छ।

अन्र्तराष्ट्रिय सहर सुहाउँदो संघ बनाउनका लागि आर्थिक रुपमा अब्बल बनाउने विभिन्न कार्यक्रम सञ्चालन, नियमित आम्दानी आउने वातावरण, बहुउद्देश्यीय भवन निर्माण गर्ने, सचिवालयलाई प्रविधिमैत्री बनाउँदै संघका सम्पूर्ण सदस्यलाई घरमै आवश्यक सूचना र सहयोग पुग्ने प्रणालीको विकास गर्ने, संघलाई साना, मझौला र ठूला उद्योगी तथा महिला व्यवसायीहरुको साझा संस्था बनाउने प्रजापति समूहको प्रतिबद्धतामा उल्लेख छ।

पोखरेल समूहले विदेशी लगानी भित्राउनका लागि प्रदेश सरकारसँगको समन्वयमा लगानी सम्मेलन आयोजना गर्ने, पर्यटन प्रवद्र्धनका लागि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने प्रतिबद्धता पनि जनाएको छ।

प्रकाशित: ९ भाद्र २०७९ १०:५३ बिहीबार

नयाँ नेतृत्व पोखरा उद्योग वाणिज्य संघ