अर्थ

सामसुङको फ्याक्ट्री नवलपरासीमा

मुलुककै प्रतिष्ठित व्यापारिक घराना गोल्छा ग्रुपले नवलपरासीको रामग्राम नगरपालिकामा सामसुङ टेलिभिजनको फ्याक्ट्री सञ्चालनमा ल्याउने भएको छ। गोल्छा ग्रुपले दक्षिण कोरियाली बहुर्राष्ट्रिय कम्पनी सामसुङ इलेक्ट्रोनिक्सको प्राविधिक सुपरीवेक्षणमा सामसुङ टेलिभिजन उत्पादन गर्ने फ्याक्ट्री सन् २०२२ भित्रै स्थापना गर्नका लागि आवश्यक काम अगाडि बढाइरहेको छ।

फ्याक्ट्रीको लागि आवश्यक बाहिरी संरचना लगभग तयार भइसकेको छ। अन्य संरचनाको काम पनि अबको चार महिनाभित्रै सक्ने योजनासहित काम भइरहेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बुधबार नवलपरासीमा आयोजित एक कार्यक्रमबीच सामसुङको फ्याक्ट्रीको शिलान्यास गरेका थिए।

गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छाले सामसुङका फ्याक्ट्रीले सन् २०२३ देखि टेलिभिजन उत्पादन गर्ने बताएका छन्। ‘हामीले विश्वप्रसिद्ध सामसुङ इलोक्ट्रोनिक्ससँग सहकार्य गरेर नेपालमै टेलिभिजन उत्पादन गर्ने फ्याक्ट्री सञ्चालन गर्ने जमर्काे गरेका छौं,’ गोल्छाले भने-‘यसले स्वदेशमा रोजगारीको अवसर पनि सिर्जना गर्नेछ।’

अध्यक्ष गोल्छाले फ्याक्ट्री स्थापना भएसँगै नेपालको अर्थतन्त्र विस्तारमा सघाउ पुर्‍याउने बताए। ‘यसले मुलुकको अर्थतन्त्रमा मात्रै होइन, मुलुकमा प्राविधिक जनशक्ति उत्पादन गर्नमा पनि ठूलो अर्थ राख्नेछ,’ उनले भने-‘नेपालको फ्याक्ट्रीबाट उत्पादन भएको वस्तुले अन्तर्राष्ट्रिय मार्केटसँग पनि प्रतिस्पर्धा गर्ने क्षमता राख्नेछ।’

ग्रुपका अध्यक्ष गोल्छाले सामसुङसँग २२ वर्षे साझेदारीकै कारणले नेपालमा फ्याक्ट्री स्थापना गर्न सम्भव भएको बताए। ‘सामसुङसँग हाम्रो सहकार्य २२ वर्षभन्दा लामो छ। यही सहकार्यको कारणले अहिले फ्याक्ट्री स्थापनाको चरणमा आइपुगेका हौं,’ उनले भने-‘यो नयाँ टिभी कारखाना नेपालको लागि एउटा कोसेढुङ्गा साबित हुनेछ। कारखानाको स्थापनाले देशमा उद्योगधन्दाको विकाससँगै दक्षता र उत्पादकत्वमा वृद्धि भई विश्व बजारमा थप प्रतिस्पर्धी बनाउन मदत पुग्नेछ।’

सामसुङ फ्याक्ट्रीबाट दैनिक एक हजार थान टेलिभिजन उत्पादन गर्ने लक्ष्य राखिएको छ। फ्याक्ट्रीले ३२ इन्चदेखि ८५ इन्चसम्मका एक हजार टेलिभिजन सेट दैनिक उत्पादन गर्नेछ। यसअघि हामीले सामसुङ टेलिभिजन सेट एसेम्बलिङ गर्ने काम गर्थ्यौं तर अबदेखि टेलिभिजनको महत्वपूर्ण मानिने प्यानल समेत नेपालमै उत्पादन गर्ने भएका छौं। ऐसेम्बलिङको कामलाई पनि निरन्तरता दिइरहने कम्पनीले जनाएको छ।

फ्याक्ट्रीले पूर्ण क्षमतामा टेलिभिजन उत्पादन गरेसँगै उपभोक्ताले पनि सुलभ दररेटमा गुणस्तरीय टेलिभिजन सेट पाउने कम्पनीले जनाएको छ। नेपालमा अझै पनि सबै जनताको पहुँचमा टेलिभिजन पुगिसकेको छैन। त्यसैले पनि नेपालमा टेलिभिजनको ठूलो मार्केट रहेको छ। गोल्छा ग्रुपका अनुसार यो फ्याक्ट्री करिब ४ बिघा जग्गामा रहेको छ।

यो नवलपरासीको रामग्राम नगरपालिकास्थित भूमेरोडमा अवस्थित छ। सामसुङ दक्षिण पश्चिम एसियाका क्षेत्रीय अध्यक्ष एवं सिइओ केन काङले सामसुङ कम्पनीले लामो समयदेखि हिम इलोक्ट्रोनिक्ससँग सहकार्य र समझदारी गरिरहेका कारणले पनि फ्याक्ट्री स्थापना गर्ने चरणसम्म आइपुगेको बताए। ‘हाम्रो लामो समयदेखिको साझेदार हिम इलेकट्रोनिक्ससँग मिलेर हामीले नवलपरासीमा स्थापना गर्न लागेको यो नयाँ एलइडी टिभी कारखाना नेपाली जनताप्रतिको हाम्रो निरन्तर प्रतिबद्धताका साथै सामसुङका उत्पादनहरू प्रति उपभोक्ताले देखाउनु भएको बढ्दो विश्वास एवं मायाको प्रतिक हो’-उनले भने।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले सरकारले वैदेशिक लगानी भित्र्याउनका लागि स्वदेशमा लगानीको वातावरण बनाउँदै आइरहेको बताए। ‘स्वदेशमै उद्योगधन्दा खोल्न सरकारले प्रोत्साहन गर्ने नीति अबलम्बन गर्दै आइरहेको छ,’ उनले भने-‘दक्षिण कोरियाबाट मुलुकमा पर्याप्त मात्रामा विदेशी लगानी भित्रिएको छ। आगामी दिनमा पनि सहकार्य गर्दै अघि बढ्न पाइयोस्।’ दक्षिण कोरियाका राजदूत पार्क चोँग सुकले नेपालमा कोरियाको चर्चित ब्राण्डको फ्याक्ट्री खोल्नु दुवै मुलुकको लागि सुखद खबर भएको बताए।

नेपालमा सामसुङ सन् १९९७ देखि भित्रिएको हो। सामसुङले पछिल्लो समय नेपालमा टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रोवेव र स्मार्ट फोनहरू लगायतका वस्तु तथा सेवा बिक्री वितरण गर्दै आइरहेको छ।

प्रकाशित: ९ भाद्र २०७९ ०१:५५ बिहीबार

मुलुककै प्रतिष्ठित व्यापारिक घराना गोल्छा ग्रुप