अर्थ

विकास आयोजना र ठूला उद्योगमा मात्रै वैदेशिक लगानी भित्राउन सुझाव

विकासका ठूला आयोजनाहरू र ठूला उद्योगहरूमा मात्रै वैदेशिक लगानीलाई प्रोत्साहन गर्ने नीति लिन विज्ञहरूले सुझाव दिएका छन्। स्वदेशमै आत्म निर्भर भएका उद्योगहरू, साना र कम प्रतिफल भएका आयोजनामा  वैदेशिक लगानी जरुरी नभएको उनीहरूको धारणा छ।  

सोसल इन्क्लुजन एण्ड फेडेरेलिजमले बुधबार विराटनगरमा आयोजना गरेको प्रदेश विकासमा वैदेशिक लगानी संभावना र चुनौति विषयक छलफलमा सहभागिहरूले जथाभावि वैदेशिक लगानी भित्राउँदा र वैदेशिक ऋण लिंदा समस्या आउनेतर्फ सचेत गराए। कार्यक्रममा आर्थिक विज्ञ महेश दाहालले प्रदेश १मा बैदेशिक लगानी भित्राउनका लागि थुप्रै अवसरहरू भए पनि त्यसलाई उपयोग गर्न नसकिएको बताए। 

कुन–कुन क्षेत्रमा कति र कस्तो खालको लगानी आबश्यक छ भन्ने विषयमासमेत अझै अध्ययन र स्पष्ट नीति नभएका कारण प्रदेशमा प्रयाप्त लगानी ल्याउन नसकिएको उनले बताए। उनले भने‘कुन क्षेत्रमा  वैदेशिक लगानी आबश्यक छ। के के संभावना छ भन्ने विषयमा नै क्लियर नभइसकेका कारण लगानी ल्याउन सकिएको छैन।’ उनले नेपालका दुईवटा ठूला छिमेकी देशहरू भारत र चीन भए पनि दुवैको स्वार्थ अलग भएकाले बुद्धिमतापूर्ण आर्थिक कुटनीतिको प्रयोग आबश्यक रहेको  बताए।  

कार्यक्रममा प्रदेश सांसद उमिता वरायलीले संघीय कानुनले नै काम गर्ने भएकाले प्रदेशमा छुट्टै कानुन आबश्यक नरहेको बताइन्। विराट व्यापार संघका पूर्व अध्यक्ष सुजन थापाले सरकारको नीति अस्थिर हुँदा लगानीकर्ताको विश्वास जित्न नसकेको धारणा राखे। अस्थिर नीतिकै  कारण  वैदेशिक लगानी प्रयाप्त भित्रन नसकेको उनले बताए।। उनले सरकारले सीमित व्यवसायीको स्वार्थ अनुकुल अधिकाँशलाई असर गर्नेगरी कानुन निर्माणगर्दा नेपालको उद्योग व्यवसायको क्षेत्रमै नकारात्मक प्रभाव पारिरहेको बताए। मोरङ व्यापार संघका उपाध्यक्ष अनिल साहले प्रदेश १ मा उद्योग भन्दा पूर्वाधार क्षेत्रमा वैदेशिक लगानी आबश्यक रहेको बताए। 

ठूला विकासका पूर्वाधार आयोजनाहरू, जलविद्युत आयोजना, खानीजन्य ठूला आयोजना र ठूला उद्योगमा मात्रै वैदेशिक लगानी आबश्यक रहेको बताए। उनले भने, ‘उद्योगमा भन्दा पूर्वाधार निर्माणमा वैदेशिक लगानी भित्राउन  जोड दिनुपर्छ।’ प्राध्यापक घनश्यामलाल दासले बैदेशिक लगानी भित्राउन कुन क्षेत्रमा कति लगानी भित्राउने भन्ने विषय स्पष्ट हुनुपर्ने बताए। उनले लगानीको सुरक्षाको प्रत्याभुति र सरकारको दीर्घकालिन नीति पनि जरुरी रहेको दासले स्पष्ट पारे। एकिकृत  समाजवादी पार्टीका केन्द्रीय सदस्य महेश रेग्मीले राजनीतिक परिवर्तका लागि आन्दोलन भए पनि आर्थिक परिवर्तनका लागि आन्दोलन आबश्यक रहेको बताए।

प्रकाशित: ८ भाद्र २०७९ १६:११ बुधबार