बगंलादेशका पावर, इनर्जी एन्ड मिनिरल रिसोर्सेस मन्त्रालयका सचिव मोहमद हबिबुर रेहमानले नेपालमा उत्पादन भएको बिजुली बंगलादेश लैजान पहल गरिरहेको बताए।
बंगलादेशको प्रतिनिधिमण्डलले सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भेटघाट गर्दै सो प्रतिबद्धता जनाएका हुन्। सचिव रेहमानले नेपालमा उत्पादन भएको स्वच्छ ऊर्जा आफ्नो देशका लागि आवश्यक भएको बताउँदै आफूहरूले नेपालको विद्युतीय ऊर्जा बङ्गलादेश लैजान चाहेको स्पष्ट पारे।
सचिव रेहमानले नेपाल, भारत र बङ्गला देशमाझ सहकार्य गरेर विद्युत् आफ्नो देशमा लैजान पहल गरिरहेकाजानकारी गराए। बुधबारदेखि काठमाडौंमा हुने नेपाल–बङ्गलादेशको संयुक्त निर्देशक समितिको बैठकका लागि नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलले मन्त्री भुसालसँग भेटघाट गर्दै सो प्रतिबद्धता व्यक्त गरेका हुन्।
मन्त्री भुसालले दुई देशबीच हुने नियमित बैठकले अनुभव आदानप्रदान हुनुका साथै आपसी सम्बन्ध विस्तार गर्ने विश्वास व्यक्त गरिन्। उनले नेपालसँग जलविद्युत् पर्याप्त रहेको र मित्रराष्ट्र बङ्गलादेशलाई स्वच्छ ऊर्जाको आवश्यकता परेको वर्तमान अवस्थामा त्यसका लागि नेपाल, भारत र बङ्गलादेशमाझ सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन्।
ऊर्जा क्षेत्रको उत्पादन, प्रशारण लाइनको निर्माण र व्यापारका लागि बङ्गलादेश, भुटान, भारत र नेपाल(बिबिआइएन) माझ सहकार्य हुँदा सदस्य मुलुकलाई फाइदा पुग्ने उल्लेख गर्दै उहाँले बिबिआइएनलाई सक्रिय तुल्याउन बङ्गलादेशले महत्वपूर्ण पहल लिन सक्ने बताए।
बैठकमा ऊर्जा सचिव सुशीलचन्द्र तिवारी, सहसहिच मधु भेटुवाल, बाबुराम भण्डारीसहित परराष्ट्र प्रनिनिधिको सहभागिता रहेको थियो।
प्रकाशित: ७ भाद्र २०७९ ०२:४३ मंगलबार