अर्थ

वर्षाले मेलम्चीको अस्थायी पुल र ट्रयाक क्षतिग्रस्त

वर्षा याम सुरु भएसँगै मेलम्ची नदीमा आएको बाढी पहिरोले मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स जाने सडक र तीनवटा अस्थायी पुलमा क्षति पुर्‍याएको छ।

गत जेठ दोस्रो सातादेखि आयोजनाको हेडवर्क्स क्षेत्रमा रहेको संरचना र सुरुङ जोगाउन आयोजनाले मेलम्चीको सुरुङमा पानी पथान्तरण कार्य बन्द गरेको छ। यति गर्दा पनि मेलम्ची नदीमा आएको भेलले फेरि मेलम्ची आयोजना जाने ट्रयाक र तीन वटा अस्थायी पुलमा क्षति पुर्‍याएको छ।

 मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्तले वर्षा यामको नदीको भेलले मेलम्चीको हेडवर्क्स जाने अस्थायी ट्रयाकमा क्षति पुर्‍याएको बताए। ‘अघिल्लो वर्ष मेलम्चीको बाढीपहिरोले क्षतिग्रस्त भएको सडक हेलम्बु गाउँपालिकाले बनाएको थियो,’ उनले भने-‘तर अहिलेको वर्षाले फेरि भत्काएर पहिले जस्तै बनाइदिएको छ।’

२०७८ सालको असार १ गते र साउन १५ गते आएको बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स जाने अम्बाथानको पहुँच मार्गको फरड्यामसहित हेडवर्क्समा ठूलो क्षति पुर्‍याएको थियो।  पहुँच मार्गमा भने चनौटेको पुलदेखि हेडवर्क्ससम्म क्षतविक्षत बनाएको थियो। मेलम्चीमा आएको बाढीपहिरोले अघिल्लो वर्ष करिब आठ किलोमिटर पहुँचमार्ग र ६ वटा पुलका संरचनामा क्षति पुर्‍याएको थियो।

मेलम्ची नदीको पानी डाइभर्सन गर्नका लागि निर्माण गरिएको वैकल्पिक रूपमा पानी पथान्तरणको लागि प्रयोग गरिएको कफरड्याम समेत बाढीपहिरोसँगै आएको गेग्रानले पुरिएको छ। हेडवर्क्समा रहेको कफरड्यामदेखि अम्बाथान पोर्टलसम्मको करिब दुई किलोमिटर नदी खण्डमा १० मिटरभन्दा धेरै क्षेत्रफल ढुंगा गिट्टी तथा गेग्र्यागानले भरिएको थियो।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्याल्मोले वर्षायाम सुरु भएसँगै मेलम्ची नदीमा आएको बाढीपहिरोले मेलम्ची आयोजना वरपर निर्माण गरिएको ट्रयाक लगायतका संरचनामा क्षति पुर्‍याएको बताए।

‘अघिल्लो वर्ष मेलम्ची नदीमा आएको बाढी पहिरोले धेरै धनजनको क्षति भयो तर संघीय सरकारले बाढीपहिरोले पीडित जनताको घाउमा मलम लगाउने काम समेत गरेको छैन’, अध्यक्ष ह्याल्मोले नागरिकसँग भने-‘संघीय सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत मेलम्ची बाढी प्रभावित जनताको समस्याको विषयमा सम्बोधन नगरेकाले मेलम्ची आयोजनालाई नै रोक्ने तयारी गरेका छौं।’ मेलम्ची नदीमा आएको बाढीपहिरोले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका धेरै क्षति पुर्‍याएको थियो।

अध्यक्ष ह्याल्मोले संघीय सरकारले बाढी प्रभावित हेलम्बुबासीलाई बेवास्ता गरेकाले मेलम्ची आयोजना फेरि मेलम्चीको पानी लैजानलाई अवरोध गरिने दाबी गर्छन्। ‘संघीय सरकारले मेलम्ची नदीको पानी काठमाडौं लगेर जनतालाई निःशुल्क वितरण गर्छ भने हामीलाई केही पनि दिनुपर्दैन,’ उनले भने-‘काठमाडौं उपत्यकाबासीसँग शुल्क लिएर पानी वितरण गर्ने हो भने सो शुल्कको २५ प्रतिशत रकम हेलम्बु गाउँपालिकालाई उपलब्ध गराउनुपर्छ।’

सरकारले गत वर्षको हिउँदमा झण्डै ३६ करोड रूपैयाँ खर्च गरेर केही महिनाको लागि मेलम्ची नदीको पानी अस्थायी रूपमा काठमाडौं ल्याएको थियो। गत वैशाख ११ गतेदेखि मेलम्चीको पानी केही समय उपत्यकामा वितरण गरिएको थियो।

मेलम्चीको पानी वितरण गरेको ३५ दिन नबित्दै फेरि बन्द गरिएको थियो। मेलम्ची नदीको जलाधार क्षेत्रमा थुप्रिएको गेग्य्रानले मेलम्ची आयोजनाको संरचनामा क्षति पुर्‍याउन सक्ने संभावनालाई मध्यनजर गर्दै मेलम्चीको सुरुङमा पानी पठाउन रोक लगाइएको हो।

आयोजनाले मेलम्ची नदीमा बाढीपहिरो आउनुअगावै आयोजनाको सुरुङ परीक्षणको क्रममा सुरुङमा पानी प्रवेश गर्न रोक लगाएकै कारणले मेलम्चीको सुरुङमार्ग ठूलो क्षति हुनबाट जोगिएको थियो।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पन्तले वर्षायाम सकिएसँगै मेलम्ची आयोजनाको पानी उपत्यका ल्याउनको लागि आवश्यक तयारी थाल्ने बताए। ‘अहिले मेलम्चीको हेडवर्क्स क्षेत्रमा जान सकिएको छैन,’ उनले भने-‘यो वर्षायामको मनसुन सकिएसँगै मेलम्चीको पानी उपत्यका ल्याउने आवश्यक तयारी थालिनेछ।’

बाढीपहिरोको जोखिम कम भएपछि मात्रै मेलम्चीको पानी सुरुङमा पथान्तरण गर्ने आयोजनाले जनाएको छ। एकातर्फ मेलम्चीको जलाधार क्षेत्रको कमजोर भूवनोटको कारणले अहिले मेलम्चीको सुरुङमा पानी खसाल्न रोकिएको हो।

अर्काेतर्फ मेलम्चीको जलाधार क्षेत्रमा ढुंगामाटो बालुवासहितको गेग्य्रान थ्रुपिएकाले जुनसुकै बेला बगेर मेलम्चीको हेडवर्क्स क्षेत्रमा क्षति पुर्‍याउने भएको हुँदा सुरुङमार्ग जोगाउनकै लागि भए पनि पानी रोक लगाइएको हो।

‘वर्षाको पानीसहितको गेग्य्रान सुरुङमा नपसोस् भनेर बन्द गरेका हौं,’ उनले भने-‘स्टिलको प्लेटहरू बनाएर गेट थुन्ने काम गरिन्छ। यसले सुरुङभित्र नदीको पानी र ग्रेगान प्रवेशमा रोक्ने आशा राखेका छौं।’ आयोजनाका अनुसार गेट नम्बर एक अहिले वैकल्पिक माध्यमबाट मेलम्चीमा पानी प्रवेश गराइने अस्थायी गेट हो। मेलम्चीको गेट नम्बर ३८ भने सुरुङ प्रवेश गर्ने मुख्य गेट हो। 

प्रकाशित: ६ भाद्र २०७९ ०२:३४ सोमबार

बाढी पहिरो आयोजनाको हेडवर्क्स क्षेत्र