अर्थ

एमसीसी परियोजना २०८० भदौदेखि निर्माण सुरु, हालसम्मको खर्च ४ अर्ब ७७ करोड

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) कम्प्याक्टअन्तर्गतको परियोजना २०८० को भदौदेखि कार्यान्वयनमा जाने भएको छ। मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) का कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले बिहीबार आयोजित पत्रकार सम्मेलनमा एमसीसी परियोजना २०८० देखि निर्माण हुन थाल्ने बताएका छन्।

‘यो आयोजना इन्ट्री टु फोर्स सन् २०२३ को अग्रष्ट महिनादेखि गर्ने कार्यतालिका बनाएका छौं,’ उनले भने-‘एमसीसीको ६ पूर्वशर्तमध्ये अहिलेसम्म ५ वटा शर्त पूरा भइसकेको छ। जग्गा प्राप्ति, रुख कटानी र  निर्माण क्षेत्रमा पहुँच लगायतको एउटा शर्त मात्रै पूरा गर्न बाँकी छ। सम्भवतः यो कार्य पनि एक वर्षभित्रै सम्पन्न गरिसक्ने लक्ष्य राखेका छौं।’

कार्यकारी निर्देशक विष्टले ३१५ किलोमिटर प्रसारण लाइनमध्ये करिब २८.५ किलोमिटरमा पुनर्सर्वेक्षणको काम भइरहेको बताए। ‘यो आयोजनाअन्तर्गत करिब २ लाख रुख काट्नुपर्ने हुन्छ,’ उनले भने-‘३१५ किलोमिटर प्रसारण लाइनमध्ये दायाँबायाँ २३-२३ मिटर छाडेर प्रसारण लाइन निर्माण गर्नुपर्नेछ।

कार्यकारी निर्देशक विष्टले एमसीसी परियोजनामा हालसम्म ४ अर्ब ७७ करोड रूपैयाँ खर्च भएको छ। एमसिए नेपालले आगामी मंसिरदेखि पुससम्मको अवधिमा अन्तराष्ट्रिय स्तरको टेण्डर प्रक्रिया खुलाउने तयारी गरिरहेको छ।

यो प्रसारण लाइन काठमाडौंको लप्सेफेदी र नुवाकोटको रातमाटे सबस्टेसन, मकवानपुर, धादिङ, तनहुँ, पाल्पा, चितवन, नवलपरासी हुँदै भारतको महेशपुरसम्म पुग्नेछ। यो प्रसारण लाइन आयोजना उच्च भोल्टेज अर्थात् ४०० केभी बिजुली लैजानको लागि निर्माण गर्न लागिएको हो।

एमसिए नेपालका खरिद म्यानेजर महेन्द्रकुमार श्रेष्ठले एमसीसी परियोजनाको ठेक्का प्रक्रिया पारदर्शी प्रकृतिको हुने दाबी गरे। ‘एमसीसीको ठेक्का प्रक्रिया फेडिक एलो बुक अनुसार आह्वान गरिनेछ,’ उनले भने-‘नेपालको खरिद ऐनअनुसार सबैभन्दा कम रकम कबोल गर्ने ठेकेदार कम्पनी छनोट हुने गर्छ तर एमसीसीको टेण्डर प्रक्रिया केही पृथक छ,’ उनले भने-‘यो एमसीसीको प्रोग्राम प्रोक्योर मेन्ट गाइडलाइन अनुसार टेण्डर गरिनेछ। यसमा सबैभन्दा कम वा धेरै रकम कबोल गर्नेभन्दा पनि ठेकेदार कम्पनीले काम गर्ने सक्ने वा नसक्ने पक्षलाई विशेष गरेर हेर्ने गरिन्छ।’

यो टेण्डर प्रक्रिया ४२ दिनदेखि १८० दिनसम्मको हुनेछ। एमसीसीको ठेक्का प्रक्रियामा इरान, इराक, उत्तर कोरिया लगायतका मुलुकले भने प्रतिष्पर्धा गर्न पाउने छैन। ‘एमसीसीको अन्तर्राष्ट्रिय टेण्डरमा सरकारी निकायबाहेक अन्य जुनसुकै निर्माण व्यवसायी पनि प्रतिष्पर्धा गर्न पाउनेछन्,’ उनले भने-‘छिमेकी मुलुक चीन समेत प्रतिष्पर्धा गर्न सक्नेछ।’

यो ठेक्का बिल्ट एण्ड डिजाइनअन्तर्गत लगाइनेछ। एमसिए नेपालका प्रमुख वित्त अधिकृत निर्मल खतिवडाले एमसीसी परियोजनाअन्तर्गत ६३० मिलियन अमेरिकी डलरमध्ये आयोजनाको आयोजनाको प्रशासनिक खर्चतर्फ भने ७.४६ प्रतिशत अर्थात् ४६.९९ मिलियन अमेरिकी डलर खर्च लाग्ने बताए। ‘एमसीसी परियोजनाको पूर्वतयारीको लागि १२.७८ प्रतिशत रकम खर्च गर्नुपर्नेछ,’ उनले भने-‘आयोजना कार्यान्वयनको चरणमा भने ८२.४० प्रतिशत रकम खर्चिनुपर्नेछ।’

प्रस्तावित आयोजना ४०० सय केभीको डबल सर्किट ३१५ किलोमिटर लामो विद्युत् प्रसारण लाइनको हो। यो प्रसारण लाइन काठमाडौंको लप्सेफेदी र नुवाकोटको रातमाटे सबस्टेसन, मकवानपुर, धादिङ, तनहुँ, पाल्पा, चितवन, नवलपरासी हुँदै भारतको महेशपुरसम्म पुग्नेछ। यो प्रसारण लाइन आयोजना उच्च भोल्टेज अर्थात् ४०० केभी बिजुली लैजानको लागि निर्माण गर्न लागिएको हो।

निर्माणाधीन प्रसारण लाइनबाट ३ हजार मेगावाट बिजुली आदानप्रदान गर्न सकिन्छ। प्रसारण लाइनको लागि दायाँबायाँ २३-२३ मिटर चौडा भोगाधिकार (राइटवे) भित्र आठ सय ५४ वटा टावर निर्माण गरिनेछ। यो प्रसारण लाइनअन्तर्गतका टावरको उचाइ मात्रै ४३ देखि ९२.५ मिटर अग्लो हुनेछ। प्रत्येक टावरमा भूमिगत तार समेत रहनेछ।

यो परियोजनाअन्तर्गत ७७ किलोमिटर सडक पनि निर्माण गर्ने योजना रहेको छ। दाङको धानखोलादेखि शिवखोलासम्मको ७७ किलोमिटर सडकमा अत्याधुनिक खालको सडक कालोपत्रे गरिनेछ। एमसिए नेपालले परियोजनाको सबस्टेशन र प्रसारण लाइनको डिजाइन तयार भइसकेको जनाएको छ। 

प्रकाशित: ३ भाद्र २०७९ ०४:४२ शुक्रबार

एमसीसी परियोजना २०८० फेडिक एलो बुक