अर्थ

वीपी प्रतिष्ठान आर्थिकरुपमा धरासायी, १ अर्ब ४१ करोड ऋणात्मक

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आर्थिकरुपमा टाट पल्टने अवस्था आएपछि श्वेत पत्र जारी गरेको छ। प्रतिष्ठानका नवनियुक्त रजिष्ट्रार डा. सुर्यप्रसाद संग्रौलाले श्वेत पत्र जारी गर्दै करिब डेढ अर्ब बराबर रकम ऋणात्मक भएको जनाएका छन्।

रजिष्ट्रार संग्रौलाका अनुसार विगतको दायित्व, साउन महिनामा नियमित तलब भत्ता र सञ्चालन खर्चसमेत गरेर कुल १ अर्ब ४१ करोड रकम बराबर प्रतिष्ठान ऋणात्मक रहेको छ। ‘आर्थिक अवस्था नाजुक भएको कारणले प्रतिष्ठानले अस्पताल सञ्चालन, परीक्षाको कार्यक्रम र अत्यावश्यक सेवाबाहेक शिक्षक कर्मचारीले पाइराखेको सुविधासमेत स्थगित गर्नुपरेको छ,’ श्वेतपत्रमा भनिएको छ, ‘प्रतिष्ठानका विशेषज्ञ र अनुभवी चिकित्सक एवं प्राध्यापकहरुमा निराशा उत्पन्न भइ पलायन हुने अवस्था सृर्जना भएको छ।’

रजिष्ट्रार संग्रौलाले प्रतिष्ठानको पछिल्लो ४ आर्थिक वर्षको आयव्यय पनि सार्वजनिक गरेका छन्। आर्थिकरुपमा विकराल अवस्थामा पनि संस्था कसरी बाँचेको छ भनेर सम्बन्धित निकाय र सर्वसाधारणलाई जानकारी दिन आफूले आयव्यय सार्वजनिक गरेको रजिष्ट्रार संगौलाले प्रतिक्रिया दिए। उनले भने, ‘प्रतिष्ठानको खस्कदै गएको आर्थिक अवस्थालाई स्पष्ट पारोस् भनेर सार्वजनिक गरेको हो।’

उनका अनुसार कोभिड महामारी पछि लगातार पछिल्लो ३ आर्थिक वर्षमा आम्दानी घट्न गएर प्रतिष्ठान आर्थिक संकटमा फसेको हो। त्यसमाथि स्वास्थ्य विमा कार्यक्रमअन्र्तगत बीमा बोर्डबाट दाबी गरिए अनुसार रकम उपलब्ध नहुँदा पनि प्रतिष्ठानको आर्थिक अवस्था धरासायी हुँदै गएको छ।

प्रतिष्ठानका अनुसार विगत २ वर्षदेखि आम्दानी १ अर्बभन्दा बढीले घटेको छ। प्रतिष्ठानका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा कोभिड नभएको कारण ५८ करोड ६६ लाख रुपैयाँ बचत भएको थियो। आर्थिक वर्ष २०७६/०७७ मा कोभिड महामारी सुरु भएपछि प्रतिष्ठानको आम्दानीलाई पनि असर गर्न थालेको थियो।

उक्त आर्थिक वर्षमा प्रतिष्ठानको अवस्था २९ करोड ४३ लाख ऋणात्मक भएको थियो। अन्तरिक आय र नेपाल सरकारबाट समेत गरी २ अर्ब १९ करोड ८५ लाख आम्दानी गरेको प्रतिष्ठानले उक्त वर्ष सञ्चालन खर्चतर्फ २ अर्ब ४९ करोड २८ लाख रुपैयाँ खर्च गरेको थियो। यसैगरी, आर्थिक वर्ष २०७७÷०७८ मा प्रतिष्ठान ९१ करोड ४३ लाख रुपैयाँ ऋणात्मक अवस्थामा पुगेको थियो।

कोभिड महामारीकै कारण उक्त वर्ष आम्दानी १ अर्ब ९१ करोड ६ लाखमा खुम्चिएको थियो भने सञ्चालन खर्च २ अर्ब ८२ करोड ४९ लाख पुगेको थियो। यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा पनि प्रतिष्ठानको आर्थिक अवस्था ४१ करोड ऋणात्मक रहेको थियो। यो वर्ष कुल आम्दानी २ अर्ब ७१ करोड ४४ लाख पुगेपनि सञ्चालन खर्च वृद्धि भएर ३ अर्ब १२ करोड ४४ लाख पुगेको छ।

प्रतिष्ठान स्वयत्त निकाय भएकोले तलब, भत्तासहित सञ्चालन खर्च आफैले व्यवस्थापन गर्नुपर्ने हुन्छ। सरकारले विगतको अनुपातमा प्रतिष्ठानलाई सहयोग गर्ने बजेट क्रमशः घटाउँदै जानु, सेवा विस्तारसँगै जनशक्ति थप गर्नुपर्ने र समयाअनुकुल शिक्षक, कर्मचारीहरुको तलब तथा सुविधा वृद्धि गर्नुपर्दा प्रतिष्ठानको व्ययभार बढ्दै गएको छ।

शैक्षिक सत्र २०१९ देखि चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षा सञ्चालन गरेर शैक्षिक कार्यक्रमको सिट संख्या तथा शुल्क समेत न्युनरुपमा निर्धारण गरेको छ भने विदेशी विद्यार्थीको कोटासमेत न्युन तोकेपछि प्रतिष्ठानको आम्दानी घटेको छ।

‘बीमा बोर्डबाट हामीले दाबी गरेअनुसारको रकम भुक्तानी नपाउँदा पनि समस्या भइरहेको छ,’ रजिष्ट्रार संग्रौलाले भने,‘बीमा बोर्डबाट अझैं हामीले ३० करोडभन्दा बढी रकम पाउन बाँकी छ।’ रजिष्ट्रार संग्रौलाले प्रतिष्ठानको वर्तमान अवस्था जटिल र चुनौतीपूर्ण बन्दै गइरहेकोले माथि उठ्न केही समय लाग्ने जनाएका छन्।

शिक्षक कर्मचारीहरुले इमान्दारितापूर्वक पारदर्शिताका साथ काम गर्न आवश्यक भएको रजिष्ट्रार संगौलाले औल्याएका छन् भने राजनीतिक दल, समाज, स्थानीय, प्रदेश र संघीय सरकार सबैबाट सकरात्मक सोच राखेर सहयोग गर्न पनि आग्रह गरेका छन्।

प्रकाशित: ३१ श्रावण २०७९ १०:०२ मंगलबार

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान श्वेत पत्र