अर्थ

६३ स्थानीयले बजेट पेस गरेनन्

देशका ७५३ त्रिपन्न पालिकामध्ये हालसम्म ६३ स्थानीय तहले चालु आवको बजेट विवरण पेस गरेका छैनन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बजेट प्रविष्ट गराएपछि चालु आवको कारोबार सुरू भएर भुक्तानी प्रक्रिया सुरू हुनेमा हालसम्म ६३ पालिकाले बजेट विवरण पेस नगरेको मन्त्रालयको स्थानीय तह समन्वय शाखाका प्रमुख रेशम कँडेलले जानकारी दिए।  

मन्त्रालयका अनुसार हालसम्म पनि बजेट विवरण प्रविष्ट नगरेका स्थानीय तहमध्ये सबभन्दा बढी मधेस प्रदेशका ३९ स्थानीय तह छन्।

मधेस प्रदेशमा कूल १३६ वटा पालिका छन्। मन्त्रालयका अनुसार हालसम्म बजेट  विवरण प्रविष्ट नगराएका  स्थानीय तहमध्ये प्रदेश नं १ मा तीन, बागमती प्रदेशमा चार, लम्बिनीमा दश, कर्णाली प्रदेशमा तीन र सुदूरपश्चिम प्रदेशमा चार स्थानीय तह छन्।  

गण्डकी प्रदेशका सबै पालिकाले बजेट विवरण प्रविष्ट गराइसकेका छन्।

उक्त मन्त्रालयले बजेट प्रविष्ट गराएका स्थानीय तहलाई चाँडै शीर्षकअनुसार मन्त्रालयको बजेट विवरण प्रविष्ट गर्न निर्देशन गरिसकिएको प्रवक्ता एवं सहसचिव वसन्त अधिकारीले जानकारी दिए।

नियमत स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा (६) मा नगर/गाउँसभाले असार मसान्तसम्म आगामी चालु आर्थिक वर्षको बजेट पारित गरिसक्नुपर्ने व्यवस्था छ।

स्थानीय तहको सभाबाट आर्थिक वर्ष २०७९/८० को बजेट पारित भएको विवरण अनिवार्य रूपमा उक्त मन्त्रालयको पोर्टलमा प्रविष्ट गर्न बाँकी रहेका पालिककालाई पत्राचार गरिसकिएको हो।  

प्रकाशित: २७ श्रावण २०७९ ०७:२४ शुक्रबार

स्थानीय तह संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय आवको बजेट विवरण पेस