अर्थ

‘बा-आमाको नामका ट्रष्टका लागि छुट्याएको रकम स्वरोजगार उत्पादनमा खर्च गरौँ’

प्रेरणा नेपालले बिहीबार पोखरामा आयोजना गरेको कार्यक्रममा सहभागि अतिथिहरु।

बा-आमाको नाममा खुलेका ट्रष्टका लागि विनियोजित बजेट स्वरोजगार उत्पादनमा खर्चिन सरोकारवालाहरुले आग्रह गरेका छन्।

प्रेरणा नेपालले बिहीबार पोखरामा आयोजना गरेको ‘स्वरोजगार प्रवर्द्धनमा सरकार, गैरसरकारी, राजनीतिक दल र नीति क्षेत्रको भूमिका’ विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले मुख्यमन्त्री, मन्त्री र नेताहरुको बुबाआमाको नाममा खुलेका ट्रष्टका लागि विनियोजित बजेट स्वरोजगार उत्पादनमा लगाउन आग्रह गरेका हुन्।

गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री र सत्तारुढ नेताहरुको बा–आमाको नाममा खुलेका ट्रष्टलाई करोडौं रुपैयाँ बजेट विनियोजित गरेको छ। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका पिता गोवर्द्धन शर्माको नाममा स्मृति कोष बनाउन ५० लाख, मुख्यमन्त्री पोखरेलकै पिताको नाममा दमौली अस्पतालमा रहेको ‘गोवर्द्धन शर्मा मेमोरियल आँखा उपचार तथा अनुसन्धान केन्द्र’बारे सम्भाव्यता अध्ययन गर्नका लागि भन्दै थप १० लाख, प्रदेशकै शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको माता स्व.धनकुमारी श्रेष्ठ र पीता पुननारायण श्रेष्ठको नाममा खोलिएको ट्रष्टको लागि र भवन निर्माणको लागि भनेर फरक-फरक दुई वटा शिर्षकमा ५०/५० लाख विनियोजन गरिएको छ।

यसैगरी, कांग्रेस नेता स्व. डिल्लीराम लामिछानेको नाममा पनि प्रतिष्ठान बनाउनका लागि २० लाख, नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा पराजित नेता अर्जुनप्रसाद जोशीका पिता स्व.अमृतप्रसाद जोशीको नाममा निर्माण गरिन लागेको स्मृति पार्क निर्माणका लागि २० लाख रुपैयाँ विनियोजन गरेको छ। ती बाहेक अन्य नेताका बा–आमाको नाममा खोलिएका ट्रष्टका नाममा पनि बजेट विनियोजित छ।

बजेट विनियोजन भएपनि जनस्तरबाट आलोचना भएपछि उक्त बजेट कटौती गरी अन्य सामाजिक र उत्पादनमूलक कार्यमा लगाउने भनिएको छ  सोही फिर्ता भएको बजेट स्वरोजगार उत्पादनमा लगाउन पोखरेलीहरुले सुझाव दिएका हुन्।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य मोहनप्रसाद रेग्मीले ट्रष्टलाई बजेट विनियोजित गर्नुको सट्टा उक्त बजेट स्वरोजगार उत्पादनमा लगाउनु उपयुक्त हुने बताए। ‘बजेट कहाँ लगाउने भन्ने कुरा सरकार, त्यसका मन्त्रीलाई थाहा हुनुपर्छ। नेता र मन्त्रीका बा–आमाको नाममा खोलिएको ट्रष्टलाई छुट्याएको बजेट रोजगारीपनि सिर्जना हुने र स्वरोजगारपनि उत्पादन हुने क्षेत्रमा लगाउनुपर्छ’ उनले भने।

पत्रकार कमल पौडेल अथकले नेता र मन्त्रीका बा–आमाका नाममा खोलिएका ट्रष्टका लागि विनियोजित बजेट स्वरोजगार उत्पादनका क्षेत्रमा लगाउन माग गरे। उनले भने, ‘आफ्नो हात जगन्नाथ गर्न पाइदैन। ट्रष्टका लागि विनियोजित बजेट फिर्ता गरेको सामाजिक सञ्जाल र भाषणमा त आयो तर त्यसरी त्यो फिर्ता हुँदैन। अब प्रक्रिया पुर्‍याएर स्वरोजगार उत्पादन गर्ने क्षेत्रमा रकमान्तर गर्नुपर्छ।’

गण्डकी प्रदेश सभा सदस्य तथा एमाले नेता धनञ्जय दवाडीले स्वरोजगारहुँदै रोजगारी सिर्जना गर्ने, उत्पादन बढाउने क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउनुपर्ने बताए। पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापतीले संघले स्वरोजगार उत्पादनका लागि तालिम दिने र उनीहरुलाई रोजगारी र स्वरोजगार बनाउनका लागि वातावरण निर्माण गर्ने काम गरिरहेको बताए।

तर सरकारले सो कामका लागि नसघाएको उनले गुनासो गरे। ‘महिला दिदी बहिनीले सामान उत्पादन गर्नु भएको छ तर बिक्री भएको छैन। बजारीकरणमा अब सरकारले सघाओस्, उनले भने । उनले आफूहरु रोजगारी सिर्जना गर्ने, स्वरोजगार जन्माउने काममा लाग्ने तर त्यसका लागि राज्यलेपनि वातावरण बनाइदिनुपर्नेमा उनले जोड दिए।

पोखरा चेम्बर अफ कमर्सका उपाध्यक्ष उमनाथ बास्तोलाले स्वरोजगार उत्पादनमा राज्यले चासो नदेखाएको आरोप लगाए। उनले महिला उद्यमी कर्जा, स्वरोजगार प्रवद्र्धन कोष, सहुलियत कर्जालगायतको दुरुपयोग भएको दाबी गरे। त्यसलाई सदूपयोग गर्दै स्वरोजगार उत्पादनका क्षेत्रमा काम गर्नुपर्ने उनको भनाइ थियो।

घरेलु तथा साना उद्योग कार्यालय पोखराका प्रमुख शेषकान्त पौडेलले तालिमका लागि इच्छुक जनशक्ति कम हुँदै गएको बताए। ‘भत्ता भयो भने तालिममा आउँछन्। नत्र सीप सिक्ने भनेर आउनेको संख्या एकदमै कम छ,’ उनले भने।

रुपा गाउँपालिका प्रमुख नवराज ओझाले आफ्नो गाउँपालिकाले यस वर्षलाई रोजगारी वर्षको रुपमा मनाईरहेको बताए। ‘जो जे सिक्न चाहन्छ उसलाई त्यही तालिम दिन्छौं। जो जे गर्न चाहन्छ हामी त्यही गर्नसक्ने वातावरण निर्माणमा लागेका छौँ,’ उनले भने।

क्यूपेक नेपाल, कास्कीकी महिला समितिकी सचिव दुर्गा भुजेलले कामको सम्मान नहुँदा महिलालाई रोजगारी र स्वरोजगार बन्न समस्या भएको बताईन् । ‘म कण्डक्टर हुँ तर मलाई खलासी भनेर हेप्छन्। यहाँ काम र सीपको सम्मान नै छैन अनि कसरी काम गर्नु?’ उनले भनिन्।

जिफण्ड गण्डकी प्रदेश अध्यक्ष रुद्रबहादुर खत्रीले नीति नियम बनेपनि कार्यान्वयन नहुँदा स्वरोजगार प्रवर्द्धन हुन नसकेको टिप्पणी गरे। उनले श्रमिकको पहिचान नभएको, श्रमको सम्मान नहुने, उचित ज्याला नपाउनेलगायतका कारण युवाहरु पलायन भइरहेको बताए। अनौपचारिक क्षेत्रलाई व्यवस्थित गर्न सके त्यहीबाट स्वरोजगारतर्फ उन्मुख गराउन सकिने उनको भनाइ थियो।

प्रेरणा नेपालकी अध्यक्ष तथा गण्डकी प्रदेश सभा सदस्य मीना गुरुङले दलहरुले चुनावमा स्वरोजगार उत्पादन र रोजगारी सिर्जना गर्ने भनेर आकर्षक नारा लगाउने तर कार्यान्वयनमा नजाने प्रवृत्ति देखिएको टिप्पणी गरिन्। उनले स्वरोजगार बनाउनका लागि हुने तालिम पनि ‘तालिमका लागि तालिम’जस्तो हुने गरेको बताइन्।

प्रकाशित: १९ श्रावण २०७९ १२:५१ बिहीबार

‘स्वरोजगार प्रवर्द्धनमा सरकार गैरसरकारी राजनीतिक दल र नीति क्षेत्रको भूमिका’ मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका पिता गोवर्द्धन शर्माको नाममा स्मृति कोष