अर्थ

झुलाघाट भन्सारबाट आयात मात्र, निर्यात शून्य

बैतडीको झुलाघाट भन्सार नाकाबाट सामग्री आयात मात्रै भएको छ। गत आर्थिक वर्षमा करिब ८१ लाख २१ हजार ३ सय १४ रुपैयाँको सामान भित्रिए पनि निर्यात भने शून्य रहेको छ। आर्थिक वर्ष २०७८÷०७९ मा भारतबाट उक्त रकम भन्सार शुल्क तिरेर समान भित्रिए पनि नेपालबाट भने निर्यात नभएको महाकाली भन्सार कार्यालय  झुलाघाटका नासु प्रेमप्रसाद काफ्लेले जानकारी दिए।

उनका अनुसार श्रावण महिनामा भारतबाट ८ लाख ५५ हजार ५ सय २० रुपैँया, भदौमा १० लाख ५३ हजार ९ सय ३ रुपैँया, असोजमा १३ लाख ३४ हजार ९ सय ८३ रुपैँया, कार्तिकमा ९ लाख १९ हजार ३ सय ८२ रुपैँया, मंसिरमा १० लाख ५५ हजार २२ रुपैँया, पुसमा २ लाख ३८ हजार ३ सय ६३ रुपैयाँको सामान आयात भएको छ। यस्तै माघ महिनामा ४ लाख ९१ हजार ३ सय ७२रुपैँया, फागुनमा ५ लाख ८४ हजार ३ सय ८२ रुपैँया, चैत्रमा ३ लाख ४ हजार ९ सय ५२ रुपैँया, शाखमा २ लाख ३३ हजार ८९ रुपैँया, जेठमा ४ लाख २९ हजार ५ सय २४ रुपैँया  र असारमा ६ लाख २० हजार ६ सय २२ रुपैयाँको सामान भित्रिएको भन्सार कार्यालयले जनाएको छ।

भारतबाट दैनिक उपभोग्य सामाग्री दाल, चिनी, तेल, मसला, भाँडाकुँडा, कपडा, चप्पल लगायतका सामानहरु आयात भएका छन्। जिल्लामा उत्पादन हुने कृषि उपजसमेत भारत जान सकेको छैन।

केही वर्ष अघिसम्म घिउ, तरकारी खसीबाख्रा निर्यात हुने गरेको थियो। तर अहिले त्यो पनि बन्द भएको छ। भैंसीपालन व्यवसाय घट्दै गएपछि घिउ उत्पादन नहुँदा निर्यात हुन छोडेको व्यवसायी बताउँछन्। अहिले व्यापारीहरुले पनि झुुलाघाटबाट ल्याउने समानको मात्र घटेको छ। सीमा नाकामा मोटरेबल पुल नभएकाले अहिले व्यापारीहरुले तराईको  बाटो भएर  सामान ल्याउने  गरेका छन् । सीमा क्षेत्रमा नेपाली ग्राहक लक्षित रहेको भारतीय बजार झुलाघाटको व्यापार पनि घट्दै गएको व्यापारीहरुले बताएका छन्। तराईका जिल्लाबाट दैनिक उपभोग्य समाग्रीदेखि अन्य समान आउन थालेपछि यहाँको बजार घट्दै गएको हो।

महाकाली भन्सार कार्यालय झुलाघाटले आर्थिक वर्ष २०७८÷०७९ मा २३ लाख ६६ हजार ८ सय ९७ रुपैँया राजस्व संकलन गरेको छ। कार्यालयले राखेको लक्ष्यभन्दा आधा मात्रै राजश्व संकलन भएको छ। भन्सार कार्यालयले गत आर्थिक वर्षमा भन्सार महशुलबाट १६ लाख ३ हजार ८ सय ७३ रुपैँया, भन्सार सेवा दस्तुरबाट ८७ हजार ५ सय रुपैँया, मूल्य अभिवृद्धिकर ६ लाख ६३ हजार ४ सय ६८ रुपैँया, अन्तरशुल्कबाट १२ हजार ५६ रुपैँया राजस्व संकलन गरेको बताएको  छ।

प्रकाशित: १९ श्रावण २०७९ १२:३२ बिहीबार

महाकाली भन्सार कार्यालय