अर्थ

लगानीलाई केन्द्रित गरी मधेसमा औद्योगिक सम्मेलन

फाइल तस्बिर

आर्थिक वृद्धि एवं लगानीको विषयलाई केन्द्रित गरी मधेश प्रदेशमा औद्योगिक सम्मेलन आयोजना गरिएको छ। मधेश प्रदेश सरकार, नेपाल उद्योग परिसंघ र यूकेएड सीप परियोजनाको संयुक्त आयोजनामा सम्मेलन आयोजना गरिएको हो।  

बाराको सिमरामा आयोजित सम्मेलन उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले उद्योग मैत्री वातावरण नै प्रदेशको समृद्धिको मूल आधार भएको बताए। उद्योगमैत्री वातावरणविना प्रदेश वा देशको समृद्धिको परिकल्पना गर्न नसकिने उनले बताए।  

उद्योगहरूको स्थापनादेखि सञ्चालनसम्म उत्पन्न विभिन्न समस्यालाई समाधान गर्न प्रदेश सरकार एकद्वार प्रणालीमार्फत अघि बढेको भन्दै उनले विरगञ्जमा उद्योग विभाग स्थापनाको निर्णय गरेको जानकारी गराए। उनले प्रदेशमा रोजगारी बढाउन उद्योगीहरूलाई आग्रह गरे।  

‘सबैभन्दा बढी मानव जनशक्ति विदेश जाने प्रदेशको रूपमा मधेश प्रदेश रहेको छ। यहाँका युवाहरूलाई उचित तालिमको व्यवस्था गरी स्वदेश मै रोजगारी उपलब्ध गराउन प्रदेश सरकारको योजनामा सहकार्य गर्न उद्योगीहरूलाई आग्रह गर्छु’ उनले भने।

सम्मेलनमा परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले मधेश प्रदेशका उद्योगीले अन्य प्रदेशमा बिजुली उत्पादन गरेर मधेश प्रदेशमा ल्याउन सक्ने बताए। उनले अन्य प्रदेशका विद्युत् उत्पादकसँग मधेश प्रदेशका उद्योगहरूले सोझै विद्युत् खरिद गर्न पाउने गरी व्यवस्था मिलाउन उनले आग्रह गरे।  

यस्तै परिसंघका उपाध्यक्ष राजेश अग्रवालले समृद्धिका लागि निजी क्षेत्रसँग निरन्तर वार्ता, छलफल आवश्यक पर्ने बताए। लगानीकर्तालाई लगानी ल्याउने, विस्तार गर्ने वातावरणमा सहजिकरण आवश्यक पर्ने भन्दै उनले निजी क्षेत्रलाई नयाँ कानुन र नियमावलीको बारेमा जानकारी गराउनुपर्ने बताए। ‘उत्पादन लागत घट्यो भने मात्रै नेपाली उद्योग स्वदेशी एवं अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी हुन सक्छन्। पूर्वाधार विकासको महत्वपूर्ण आधार हुँदाहुँदै हाम्रा लागि यो ठूलो चुनौती रहँदै आएको छ। विशेष आर्थिक क्षेत्र र औद्योगिक करिडोरको लागि नयाँ अभियानले उद्योगहरूको लागत प्रतिस्पर्धी बन्न सहयोग गर्नेछ’ उनले भने– ‘सिमराको विशेष आर्थिक क्षेत्र पीपीपी मोडलबाट सञ्चालनमा ल्याउन खोज्नु प्रशंसनीय छ।’

यस्तै परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले पूर्वाधार विकासको महत्वपूर्ण आधार भएकाले पूर्वाधार क्षेत्रमा लगानीको आवश्यकता, नीतिगतलगायत सुधारका लागि सरकार एवं सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन परिसंघले नेपाल पूर्वाधार सम्मेलन आयोजना गर्दै आइरहेको जानकारी दिए। उनले आगामी भदौ २३ र २४ गते चौथो नेपाल पूर्वाधार सम्मेलन हुने जानकारी गराउँदै उक्त सम्मेलनमा भाग लिन मधेश प्रदेश सरकारसहित उद्योगी व्यवसायीहरूलाई आग्रह गरे।  

नेपालका लागी बेलायती राजदूत निकोला पोलिटले मधेश प्रदेशमा ठूलो आर्थिक सम्भावना रहेको बताए। यो सम्मेलन सार्वजनिक निजी संवाद र सहयोगको लागि महत्वपूर्ण प्लेटफर्म भएको उनको भनाइ थियो।  

प्रकाशित: १९ श्रावण २०७९ ०२:२४ बिहीबार

मधेश प्रदेश औद्योगिक सम्मेलन