अर्थ

सुस्तायो सेयर बजार

लगानीकर्ता विश्वस्त हुन नसकेपछि सेयर कारोबारको गति सामान्य बनेको छ।

साताको पहिलो दिन आइतबार ५४.५८ अंकले परिसूचक बढे पनि त्यस पछिका २ दिनमा कारोबारको गति सामान्य देखिएको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार १.१५ अंकले मात्र बढेको परिसूचक मंगलबार २.७६ अंकले घटेर २१९३.४८ बिन्दुमा पुगेको छ।

एक्सचेन्जका अनुसार मंगलबार २१९८ बिन्दुबाट सुरु भएको कारोबारमा दिनभर जसो उतारचढाव आएको थियो। दिनभरको कारोबारमा परिसूचक न्यूनतम २१७० बिन्दुसम्म झरेको थियो भने अधिकतम २२०२ बिन्दुसम्म पुगेको थियो। बजार बन्द हुँदा भने नेप्से २१९३ बिन्दुमा रोकिएको हो।

एक्सचेन्जका अनुसार मंगलबार नेप्सेका अतिरिक्त प्रमुख तीन सूचकमध्ये सेन्सेटिभ सूचकमा कुनै परिवर्तन भएको छैन। फ्लोट सूचक ०.१० अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट ०.१३ बिन्दुले बढेको छ।

यस्तै सेयर बजारका अन्य १३ उपसूचक मध्ये ६ वटा बढेका छन् भने ७ वटा उपसूचक घटेका छन्। कारोबार बढ्ने मध्ये सबैभन्दा धेरै व्यापार उपसूचकको भएको छ। यो उपसूचक ४३ अंकले बढेको हो। यस्तै लघुवित्त ४१, जलविद्युत् २८ र फाइनान्स २४ अंकले बढेका छन्। उत्पादन तथा प्रशोधन र सामूहिक लगानी कोष १ अंकभन्दा पनि कमले बढेका छन्।

कारोबारमा गिरावट आउने ७ उपसूचकमध्ये सबैभन्दा धेरैले जीवन बिमा ६२ अंकले घटेको छ। यस्तै होटल तथा पर्यटन २८, विकास बैंक २२ र अन्य उपसूचक १७ अंकले घटेका छन्। बैंकिङ उपसूचक ६ अंकले घटेको छ।

एक्सचेन्जका अनुसार मंगलबार ३ वटा कम्पनीको प्रतिसेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ भने १ कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरैले बढेको छ। सबैभन्दा धेरै प्रतिसेयर मूल्य बढ्नेमा विन्दवासिनी हाइड्रो परेको छ।

यस्तै कारोबार भएका कम्पनीमध्ये प्रतिसेयर मूल्य सबैभन्दा धेरैले घट्नेमा राष्ट्र उत्थान लघुवित्त परेको छ। यसको सेयर मूल्य ४.२४ प्रतिशतले घटेको हो। एक्सचेन्जका अनुसार रकमका आधारमा सबैभन्दा धेरै रकमको कारोबार शिवम् सिमेन्टको भएको छ। यसको २९ करोड ३२ लाख रूपैयाँको सेयर कारोबार भएको हो।

यस्तै सेयर खरिद बिक्रीका आधारमा सबैभन्दा धेरै कित्ता सेयर पनि शिवम् सिमेन्टकै भएको छ। यसका ३ लाख ५२ हजार ४ सय २९ कित्ता सेयर बिक्री भएका छन्।

एक्सचेन्जका अनुसार मंगलबार २१७ कम्पनीका ७८ लाख १३ हजार १ सय २ कित्ता सेयर बिक्री भएका छन्। यसका लागि ३ अर्ब २९ करोड ३२ लाख रूपैयाँको कारोबार भएको छ। बजार पुँजीकरण घटेर ३१ खर्ब ३२ अर्ब रूपैयाँमा झरेको छ।  

प्रकाशित: १८ श्रावण २०७९ ०१:३७ बुधबार

सुस्तायो सेयर बजार सेयर कारोबारको गति सामान्य