समाज

म्याग्दीमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या पाँच पुग्यो

हराएका तीन जनाको शव पनि भेटियो

म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा परेर हराइरहेका थप तीनजनाको शव पनि भेटिएको छ। पहिरोमा परेर मृत्यु हुनेको संख्या पाँच पुगेको छ। मृतकहरु एकै परिवारका हुन्। पहिरोमा परेर दुईजना घाइते भएका छन्।

मृत्यु हुनेमध्ये दुइजनाको शव बिहान फेला परेको थियो। बाँकी हराईरहेका तीनजनाको शव दिउँसो फेला परेको प्रहरीले बताएको छ। तमिङका ३७ वर्षिय घामबहादुर बिकको परिवार पहिरोमा परेको थियो। पहिरोले घामबहादुर सहित श्रीमति राममाया विक र छोरी रोजी विकको शव मध्यान्ह फेला परेको प्रहरीले बताएको छ। घामबहादुरका छोराहरु नविन र रुजन विकको शव बिहान फेला परेको थियो।

मंगलबार विहान करिब ३ बजे बस्ती माथिबाट खसेको पहिरोले दुई घर बगाएपछि उनीहरु हराएका थिए। वडा सदस्य भक्तबहादुर पुनले सम्पर्कविहिन भएका एकैपरिवारका तीन जनाको पुरिएको अवस्थामा शव फेला परेको बताए। ‘हराएका तीनजनाकै शव फेला परेको छ। मृतक सबै एकै परिवारका हुन,’ वडा सदस्य पुनले भने। खोज तथा उद्धारमा विहानैदेखि खटिएपनि भीषण बर्षा र निरन्तरको पहिरोले उद्धारमा समस्या भएको थियो।

बस्तीमाथिबाट पहिरो खसेको आवाज आएपछि भाग्दाभाग्दै गोठे र गोरी विक भने घाईते भएका थिए। पहिरोस्थलबाटै गोरीको उद्धार गरिएको थियो भने गोठे नजिकै घाईते अवस्थामा भेटिएका थिए। घाइतेको उपचारका लागि दरवाङ ल्याउने तयारी भएको छ। 

प्रकाशित: १७ श्रावण २०७९ ०७:५३ मंगलबार

म्याग्दीमा पहिरो