अर्थ

आकाशिएको महँगीले जनजीवन कष्टकर बन्दै

गाईघाटमा बेच्न राखेको तरकारी । तस्विरः महेश्वर

बजारमा सवारी साधनमा हाल्ने इन्धनको मूल्य वृद्धिको मात्र चर्चा चल्ने गरेको छ। तर, त्योभन्दा धेरै मूल्य भान्सा चलाउने उपभोग्य बस्तुको वृद्धि भएको कुराले भने चर्चा पाउन सकेको छैन।  

चालु वर्षको बजेटले कर्मचारीलाई १५ प्रतिशत तलबभत्ता बढाइदिएका कारण कर्मचारीलाई मँहगीको उति मार परेको छैन र उनीहरुको भान्सा सहजै चलेर पनि होला। तर, सर्वसाधारण नागरिकलाई चुल्हो धान्न गाह््रो भईरहेको छ। दैनिक उपभोग्य सामग्रीको मूल्य डेढीदेखि दोब्बरसम्म वृद्धि भएपछि बिपन्न, गरिव, दैनिक ज्यालादरी मजदुर र आम्दानी थोर हुने सर्वसाधारणलाई परिवार धान्न चर्को परेको गुनासो बढ्दो छ।  

खानेतेल सबभन्दा बढी महँगिएको उपभोग्यबस्तुमध्ये एक हो। ३ महिनाअघि ६० रुपैँया पर्ने आधा लिटर खाने तेलको मूल्य अहिले १ सय १० पुगेको छ। दाल, चामल, गेडागुडी सबैको भाउ बढेको छ। लसुन, प्याज, अदुवाजस्ता मसलाजन्य बस्तु सबैको भाउ बढेको बेला हरियो तरकारी छोइनसक्नु भएको छ। १ हजारको नोट लिएर बजार निस्कदा एक झोला तरकारी पाउन गाह्रो हुने गरेको गृहिणीहरु बताउँछन्।  

गाईघाटकी उमा राई अचाक्ली महँगी बढेपछि भान्सा चलाउन हम्मे भएको बताउँछिन्। पुख्र्यौली घर दिक्तेल भएर ज्याला मजदुरी गर्न सहर झरेको उनका श्रीमान्ले दैनिक मजदुरी गरेर ल्याउने ५ सय कमाईले एक छोरीसहित ३ जनाको हातमुख जोड्न गाह्रो परेको उनी बताउँछिन्। सबै दिन काम हुँदा सहजै भए पनि वर्षायाम भएकाले काम गर्न नपाउँदा जीवन शैली थप कष्टकर बन्न पुगेको उनको भनाइ छ।  

गमला बनाउने र नर्सरी चलाउने व्यवसाय गर्दै आएकी चन्चलामाया बोटलाई पनि महँगीको मारले उठ्नै नसक्ने गरी थिचेको छ। गमला बनाउने कच्चा पदार्थ सबैको भाउ आकाशिएको छ, यता दैनिक उपभोग्य बस्तुको त्यस्तै। भाउ बढेर सामान बनाउन नसकेपछि बिक्ने कुरा भएन, यता हातमुख त जोड्नै पर्छ। जतिसुकै महँगो भए पनि खान त पर्छ नै, उच्च रक्तचापले थलिएका श्रीमान्लाई पाल्ने माध्यम त्यहीँ नर्सरी र गमला कारखाना खस्केपछि बोटले आफ्नो भान्सा चल्नै नसक्ने अवस्था सिर्जना भएको सुनाइन्।

राई र बोट उदारण मात्र हुन्। उनीहरुजस्ता हजारौँ ज्याला मजदुरी र निम्न आय भएका गरिब र विपन्न वर्ग गाईघाटमा बसोबास गर्छन् । सदरमुकाम र सहरोन्मुख भएकाले गाउँबाट अस्थायी कमाई गर्न दैनिक ज्याला मजदुरी गर्न आउनेहरु झण्डै १५ प्रतिशत हाराहारी संख्यामा आउने गरेको नेपाल बिजुली प्लम्बर तथा पेन्टर संघ (क्युपेक)ले जनाएको छ। क्युपेकका पूर्व अध्यक्ष कृष्ण मगरका अनुसार अचाक्ली बढेको महँगीले ज्याला मजदुरी गर्न आउने बाहिरका कामदारको जीवनशैली अत्यन्त पीडादायक भएको बताए। उनका अनुसार चामल, तेल, दालदेखि हरियो तरकारीसम्मको भाउ दोब्बर बढेको छ भने यता ज्याला नबढ्दा मजदुरहरु परिवार पाल्नै नसक्ने अवस्थामा पुगेका छन्।  

व्यापारीहरुको भनाई अनुसार गएको १० वर्षमा सबभन्दा धेरै भाउ बढेको यसै वर्ष हो। लगातार २ वर्ष कोभिड कहर, त्यसपछि राजनीतिक सुझबुझको कमीले यसरी बेलगाम मूल्य बढेको बजारशास्त्रीहरुको बुझाई छ। त्रियुगा उद्योग बाणिज्य संघका पूर्व उपाध्यक्ष भरत राईले कोभिड कहरले थलिएको अर्थतन्त्रमा एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी ओलीले ०७७ पुस ५ गते संसद विघटन गरेपछि भएको लगातारको आन्दोलन हुँदै स्थानीयतह चुनावसम्म झण्डै डेढ वर्ष अनुत्पादक खर्च भएकाले महँगी बढेको बताए। 

उनका अनुसार संसद विघटनविरुद्ध र समर्थनमा भएका देशव्यापी आमसभा र शक्ति प्रदर्शनमा अर्बौँको अनुत्पादक खर्च भएको अनुमान गर्न सकिन्छ। आन्दोलनमा सहभागी हुन कार्यकर्तालाइ भरणपोषण तथा गाडी आउजाउ गर्दा अर्बौं रकम अनुत्पादक खर्च हुनुले पनि अर्थतन्त्र डामाडोल भएको र त्यसैको उपज धान्नै नसक्ने गरी महँगी बढेको राईको विश्लेषन छ।

प्रकाशित: १४ श्रावण २०७९ ०५:०५ शनिबार

मूल्य वृद्धि