अर्थ

नेप्से परिसूचक आज अन्तिम समयमा वृद्धि भएर कारोबार बन्द

नेप्से परिसूचक २३.८३ अंकले वृद्धि

(हिजाे) मंगलबार उच्च अंकले गिरावट भएको नेप्से परिसूचक बुधबार अन्तिम समयमा वृद्धि भएर कारोबार बन्द भएको छ। बुधबार नेप्से सूचक २३.८३ अंकले बढेर २१११.९९ बिन्दुमा पुगेको छ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.५३ अंकले बढेको छ भने फ्लोटइण्डेक्स १.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४४ अंक बढेको छ। बुधबार कारोबारमा आएका २२७ कम्पनीको ७५ लाख ८ हजार १८८ कित्ता शेयर ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४१ रुपैयाँ बराबरको कारोबार भएको छ।

मंगलबार ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ रुपैयाँ बराबरको कारोबार भएको थियो। बुधबार फाइनान्स र हाइड्रोपावर कम्पनीहरुमा नै लगथानीकर्ताको बढी आकर्षण देखिन्छ। विकास बैंक, माइक्रोफाइनान्स र अन्य उपसमूहका कम्पनीहरुमा पनि लगानीकर्ताको आकर्षण केही बढेको देखिन्छ।

नेप्सेका १३ वटा उपसमूहमा व्यापार उपसमूह बाहेक १२ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ। जसमा फाइनान्स उपसमूहको सबैभन्दा धेरै ४.१३ प्रतिशतले बढेको छ। व्यापार उपसमूहको ०.५८ प्रतिशतले गिरावट आएको छ।

बुधबार कारोबारमा आएका जानकी फाइनान्स, युनाइटेड मोदि र राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। नेष्डो लघुवित्तको ९.९७ प्रतिशत र जाल्पा सामुदायीक लघुवित्तको ९.८४ प्रतिशतले बढेको छ।

बुधबार शिवम सिमेन्टको सबैभन्दा धेरै १७ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अरुण कावेली हाइड्रोपावरको १२ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

प्रकाशित: ११ श्रावण २०७९ १३:३२ बुधबार

नेप्से परिसूचक