अर्थ

नेप्सेमा ४४ अंकको गिरावट, कारोबार पौने ४ अर्ब

मौद्रिक नीति सार्वजनिक भए पछिका दुई दिन लगातार बढेको बजार तेस्रो दिनमा गिरावट आएको छ।

आइतबार र सोमबार गरेर एक सय १५ अंकले बढेको सेयर बजार मंगलबार ४४ अंकले घटेको हो। चालु आवको मौद्रिक नीतिलाई देखाएर २ दिनसम्म बजार बढाइएको थियो। मौद्रिक नीतिमा बजारलाई धेरै सहयोग गर्ने व्यवस्था आएका छैनन्।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार परिसूचक ४४.८० अंकले घटेर २०८८.१६ बिन्दुमा आएको छ। यो २.१० प्रतिशतको गिरावट हो। एक्सचेन्जका अनुसार मंगलबार २१३४ बिन्दुबाट सुरू भएको बजारमा उच्चदरले उतार चढाव आएको थियो।

बजार सुरू भएको १९ मिनेट भित्र परिसूचक २१०७ मा झरेकामा अर्को १३ मिनेटमा फेरि २१४१ बिन्दुसम्म पुगेको थियो। त्यसपछि पनि दिनभर जसो कारोबारमा उतारचढाव आइरह्यो। बजार बन्द हुँदा परिसूचक २०८८ मा रोकिएको हो।

एक्सचेन्जका अनुसार मंगलबार नेप्सेका अतिरिक्त तीनै सूचकमा गिरावट आएको छ। तीनमध्ये सेन्सेटिभ सूचक ८.९९ घटेको छ भने फ्लोट ३.२१ र सेन्सेटिभ फ्लोट ३.३२ अंकले घटेका छन्। प्रतिशतका आधारमा हेर्दा सबैभन्दा बढी सेन्सेटिभ फ्लोट २.४६ ले घटेको छ।

एक्सचेन्जका अनुसार सेयर बजारका अन्य १३ उपसूचक सबै घटेका छन्। यी १३ उपसूचकमध्ये एक सयभन्दा धेरै अंकले कारोबारमा गिरावट आउनेमा ४ वटा उपसूचक परेका छन्। यस्तै ५० अंक भन्दा बढीले कारोबार घट्नेमा ५ उपसूचक परेका छन्।

विकास बैंक, जीवन र निर्जीवन बिमा र लघुवित्त १ सय अंक भन्दा धेरैले गिरावट आउने उपसूचक हुन्। यी उपसूचक क्रमशः ११४, १३३, १०३ र ११० अंकले घट्ने हुन्। यस्तै ५० भन्दा बढी अंकले कारोबारमा गिरावट आउने उपसूचकहरूमा व्यापार ५०, अन्य ५७, उत्पादन तथा प्रशोधन ९४, फाइनान्स ५२ र होटल तथा पर्यटन ७८ रहेका छन्।

यस्तै जलविद्युत् ४८ र बैंकिङ उपसूचक २५ अंकले घटेका छन्। सबैभन्दा कमले कारोबारमा गिरावट आउनेमा सामूहिक लगानी कोष ०.१९ अंक रहेको छ।

कारोबारलाई प्रतिशतका आधारमा हेर्दा सबैभन्दा धेरैले अन्य ३.५६ प्रतिशतले घटेको छ भने सबैभन्दा कम सामूहिक लगानी कोषमा १.२३ प्रतिशतले गिरावट आएको छ।

एक्सचेन्जका अनुसार मंगलबार मल्टिपर्पोज फाइनान्सको प्रतिसेयर मूल्य सबैभन्दा धेरै प्रतिशतले बढेको छ। यसको सेयर ९.३२ प्रतिशतले घटेको हो। यस्तै सूर्योदय लघुवित्त ६.७२, युनाइटेड मोदी जलविद्युत ६.१९ र सम्वृद्धि फाइनान्स ३.२३ प्रतिशतले घटेको हो।

यस्तै कारोबार भएका कम्पनीमध्ये सबैभन्दा धेरै प्रतिसेयर मूल्य घट्नेमा गणपति लघुवित्त परेको छ। यो ६.८२ प्रतिशतले घटेको हो। यस्तै रिभर फल्स पावर ५.९९, सबैको लघुवित्त ५.१३ र पोखरा फाइनान्स ५.१० प्रतिशतले घटेका हुन्।

एक्सचेन्जका अनुसार रकमका आधारमा सबैभन्दा धेरै रकमको कारोबार शिवम् सिमेन्टको भएको छ। यसको १९ करोड ३६ लाख रूपैयाँको सेयर कारोबार भएको हो। यस्तै अरूण कावेली १५ करोड ५७ लाख, अरूण भ्याली जलविद्युत् १० करोड २४ लाख र हिमालयन डिष्टिलरीको ९ करोड ८० लाख रूपैयाँको कारोबार भएको छ।

यस्तै सेयर खरिद बिक्रीका आधारमा सबैभन्दा धेरै कित्ता सेयर अरूण कावेली कम्पनीको भएको छ। यसका ३ लाख १० हजार ७ सय १३ कित्ता सेयर बिक्री भएका हुन्। यस्तै युनाइटेड मोदीको २ लाख ९९ हजार ४ सय ७४ कित्ता सेयर बिक्री भएका छन्।

एक्सचेन्जका अनुसार मंगलबार २२२ कम्पनीका ८७ लाख ४० हजार ५ सय ५१ कित्ता सेयर बिक्री भएका छन्। यसका लागि ३ अर्ब ७० करोड ४९ लाख रूपैयाँको कारोबार भएको छ। बजार पुँजीकरण घटेर २९ खर्ब ८१ अर्ब रूपैयाँ पुगेको छ। 

प्रकाशित: ११ श्रावण २०७९ ०१:०१ बुधबार

नेप्सेमा ४४ अंकको गिरावट कारोबार पौने ४ अर्ब