अर्थ

आइक्यानको सपथ ग्रहण तथा बिपीए अवार्ड कार्यक्रम सम्पन्न

नेपाली लेखा व्यवसायको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को अध्यक्षमा भाष्कर सिंह लाला र उपाध्यक्षमा सुजनकुमार काफ्ले निर्वाचित भएका छन्।

केही समय अगाडि भएको निर्वाचनमा भाष्कर सिंह लाला निर्विरोध निर्वाचित भएका हुन् भने सुजनकुमार काफ्ले प्रतिद्वन्दी पियुष आनन्दलाई पराजित गर्दै उपाध्यक्ष पदमा निर्वाचित भएका हुन्। अध्यक्ष लाला यसअघि संस्थाको उपाध्यक्ष थिए।

यसैबीच अध्यक्ष लाला र उपाध्यक्ष काफ्ले दुबैले आफ्नो पद तथा गोपनियताको सपथ खाएका छन्। सपथ ग्रहणपछि कार्यक्रममा बोल्दै आइक्यानका अध्यक्ष लालाले आफ्नो कार्यकालमा समग्र लेखा व्यवसायको हितका लागि काम गर्ने बताउँदै सबैलाई साथ दिन आह्वान गरेका छन्। उनले आफ्नो कार्यकाललाई उत्कृष्ट बनाउन आफूले कुनै पनि कसर बाँकी नराख्ने समेत उद्घोष गरेका छन्।

संस्थाका उपाध्यक्ष काफ्लेले उपाध्यक्ष भएसँगै जिम्मेवारी पनि बढेको आभाष भएको बताउँदै उनले आफूले भ्याएसम्मको काम गरेर आफ्नो कार्यकालमा लेखा व्यवसायको सेवा गर्ने बताएका छन्।

साथै कार्यक्रममा २० वर्षभन्दा बढी आइक्यानमा रहेर काम गर्ने कर्मचारीहरूलाई दीर्घसेवा पदकले सम्मानसमेत गरिएको थियो भने संस्थामा सुरुवाती चरणदेखि नै महत्वपूर्ण भूमिका खेलेको भन्दै संस्थाका पूर्व कार्यकारी निर्देशक लगायतलाई सम्मानसमेत गरिएको थियो।

कार्यक्रममा उत्कृष्ट वित्तीय प्रतिवेदन सार्वजनिक गर्ने संस्थाहरूलाई बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बिपीए) अवार्डसमेत प्रदान गरिएको थियो। सो अवार्ड बैंकिङ क्षेत्रतर्फ सिद्धार्थ बैंकले पाएको छ भने मेगा बैंक लिमिटेड र सनराइज बैंकले क्रमशः दोश्रो र तेश्रो अवार्ड प्राप्त गरेका छन्।  

प्रकाशित: ९ श्रावण २०७९ ०५:१२ सोमबार

नेपाली लेखा व्यवसाय चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)