अर्थ

पोखरा महानगरमा १५ करोडको स्वरोजगार कोष

७५० युवालाई स्वरोजगार बनाईने

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य (बीचमा), युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी (बायाँ) र मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रधुम्न पोखरेल (दाँया)।

पोखरा महानगरपालिकाले १५ करोड रुपैयाँको स्वरोजगार कोष स्थापना गरेको छ। युवा स्वरोजगार कोष र मुक्तिनाथ विकास बैंकसँगको सहकार्यमा पोखरा महानगरपालिकाले सो रकमको स्वरोजगार कोष स्थापना गरेको हो। महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम र बजेटमै ५ करोड रुपैयाँ विनियोजन गरिसकेको छ। कोषमार्फत युवा स्वरोजगार जन्माउने महानगरको योजना छ। महानगरले सो योजनामार्फत ७५० जना युवा तथा साना व्यवसायी स्वरोजगार उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ।

कोष सञ्चालन गर्न त्रिपक्षीय सम्झौताका लागि सैद्धाान्तिक सहमति जुटिसकेको महानगरले जनाएको छ। युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी, मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रधुम्न पोखरेल र महानगरका मेयर आचार्यबीच यस्तो सहमति जुटेको हो। अब छिट्टै सम्झौता गरेर कोषमार्फत कार्यक्रम आगडि बढाईने पोखरा महानगरका प्रमुख (मेयर) धनराज आचार्यले जानकारी दिए।  

‘हामी छिट्टै बसेर औपचारिक सम्झौता गर्छौं र कार्यक्रम अगाडि बढाउँछा,ैं’ उनले भने। उनले कोषमार्फत अगाडि बढाईने कार्यक्रममा कृषि क्षेत्रमा लागेका युवा उद्यमीलाई प्राथमिकता दिइने बताए। ‘हामी हाम्रो लगानी कृषि क्षेत्रमा लागेका युवा उद्यमीलाई प्राथमिकतामा राखेर लगानी गर्छौं,’ उनले भने।

मेयर आचार्यले कोषमार्फत हुने लगानीले कृषि उद्यमको माध्यमबाट रोजगारीसमेत अभिबृद्धि गर्ने दाबी गरे। उनले भने,‘कृषि उद्यममा लगानी भएपछि स्वरोजगार त हुने नै भयो। त्यसमा रोजगारीपनि अभिवृद्धि हुन्छ।’ युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले अगामी चार वर्षसम्म यो कार्यक्रमलाई अगाडि बढाउने उद्देश्यका साथ आफूहरु अगाडि बढेको बताए। ‘यो कार्यक्रम मार्फत न्युन वर्ग र बेरोजगार युवालार्ई समेट्ने योजना हो’ उनले भने।  

कार्यकारी निर्देशक अधिकारीले कोषका लागि सैद्धान्तिक सहमति भएपनि औपचारिक सम्झौता भएर कार्यान्वयनमा जान करीब एक महिना लाग्ने बताए। ‘हामी जतिसक्दो छिटो औपचारिक सम्झौता गरेर कार्यक्रम अगाडि बढाउँछौं,’ उनले भने।

प्रकाशित: ८ श्रावण २०७९ १०:२४ आइतबार

युवा स्वरोजगार कोष