अर्थ

सातामा ८ बिन्दुले मात्र बढ्यो नेप्से

गत साताका ६ दिनमध्ये ४ दिनको कारोबारमा सुधार आए पनि नेप्से परिसूचक करिब ८ बिन्दुले मात्र बढेको छ। सेयर कारोबार ४ दिन लगातार बढ्दा नेप्से परिसूचक ४१ बिन्दुले बढेको थियो। तर, पछिल्ला दुई दिनमा आएको गिरावटका कारण साताभरमा परिसूचक ८ बिन्दुले मात्र बढेको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार १.९३, सोमबार १८.०३, मंगलबार १६.२७ र बुधबार ४.८९ अंकले नेप्से बढेको थियो। तर, बिहीबार ५.८७ अंक र शुक्रबार २७.२६ अंकले गिरावट आएपछि साताभरको सुधार सामान्य मात्र देखिएको हो।

राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति कसिलो ल्याउने हल्ला चलेपछि पछिल्ला दुई साताको सेयर कारोबारको गति सामान्य मात्र रहेको थियो। लगानीकर्ता सेयर खरिद वा बिक्रीका लागि अन्योलमा परेका थिए। यही कारण बजारको गति सामान्य अवस्थाबाट हिँडिरहेको हो।

एक्सचेन्जका अनुसार राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको दिन शुक्रबार कारोबारमा २७.२६ अंकले गिरावट आएको थियो। योसँगै नेप्से २०१७.४६ बिन्दुमा आएको छ।

एक्सचेन्जका अनुसार शुक्रबारको बजार २०४७ बिन्दुबाट सुरु भएको थियो। बजार सुरु भएलगत्तै कारोबारमा गिरावट आएकाले नेप्से २८ अंकले घटेर २०१९ बिन्दुमा आएको थियो। त्यसपछि केही सुधार आए पनि अन्तसम्ममा यो कायम रहन सकेको थिएन। बजार बन्द हुँदा परिसूचक २०१७ मा आएर रोकिएको थियो। त्यसअघि नेप्से २०१४ सम्म झरेको थियो।

एक्सचेन्जका अनुसार शुक्रबार नेप्सेसँगै अन्य तीन प्रमुख सूचक सबैको कारोबारमा गिरावट आएको छ। सेन्सेटिभ सूचक ५.४० बिन्दुले घटेको छ भने फ्लोट १.८९ र सेन्सेटिभ फ्लोट पनि १.८९ बिन्दुले घटेका छन्। यी तीन सूचकलाई प्रतिशतले हेर्दा सबैभन्दा बढी सेन्सेटिभ फ्लोट १.४७ प्रतिशतले बढेको छ।

यस्तै सेयर बजारका अन्य १३ उपसूचकमध्ये सबैको कारोबारमा गिरावट आएको छ। उपसूचक १३ मध्ये २ वटाको कारोबार १ सयभन्दा धेरै अंकले घटेको छ। उत्पादन तथा प्रशोधन ११२ र जीवन बिमा १०९ अंकले घटेका हुन्।

यस्तै, तीनवटा उपसूचकको कारोबारमा ५० अंकभन्दा धेरैले गिरावट आएको छ। विकास बैंक ७१, होटल तथा पर्यटन ५८ र व्यापार ५० अंकले घटेका हुन्। यस्तै, निर्जीवन बिमा र अन्य उपसूचक ३२/३२ अंकले घटेका छन् भने लघुवित्त ४८ र जलविद्युत्मा ३५ अंकले गिरावट आएको छ।

कारोबारमा सबैभन्दा कम बिन्दुले गिरावट आउनेमा सामूहिक लगानी कोष परेको छ। यो ०.१७ अंकले घटेको हो। बैंकिङ उपसूचक पनि १५ अंकले घटेको छ। सेयर कारोबारलाई प्रतिशतका आधारमा हेर्दा सबैभन्दा धेरै प्रतिशतले व्यापार उपसूचक घटेको छ। यो २.४८ प्रतिशतले घटेको हो। सबैभन्दा कम प्रतिशतले कारोबार घट्नेमा निर्जीवन बिमा उपसूचक ०.४० अंक रहेको छ।

एक्सचेन्जका अनुसार शुक्रबार २१२ कम्पनीको ३३ लाख २० हजार ५ सय १२ कित्ता सेयर बिक्री भएको छ। यसका लागि १ अर्ब ४४ करोड ३४ लाख रूपैयाँको कारोबार  भएको छ।   

प्रकाशित: ८ श्रावण २०७९ ००:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App