अर्थ

सगरमाथाबाहेक अन्यमा देखिएन आकर्षण

हिमाल आरोहण

यो वर्ष २७ हिमाल आरोहणमा गएका ९८६ आरोहीबाट सरकारले ४९ करोड राजस्व पाएको छ । 

सरकारले स्वदेशी तथा विदेशी नागरिकका लागि यो मौसममा २७ वटा हिमाल आरोहण गर्न स्वीकृति दिए पनि आरोहण भन्नु सगरमाथा मात्र हो भन्ने देखिएको छ। यो वर्ष हिमाल आरोहणमा आएका स्वदेशी विदेशी आरोहीको संख्या हेर्दा सगरमाथाबाहेक अन्य हिमालप्रति उनीहरूको खासै रुचि देखिदैन।

पर्यटन विभागको तथ्यांक अनुसार यस वर्ष हिमाल आरोहण गर्नेहरू मध्ये एक तिहाइले सगरमाथा आरोहण गरेका थिए। यो वर्ष (गत मे २६ सम्म) २७ वटा हिमाल आरोहण गर्न ९ सय ८६ स्वदेशी विदेशी आरोही गएकामा ३ सय २५ जना सगरमाथा आरोहणका लागि गएका थिए। सरकारले अहिलेसम्म ४ सय १४ हिमाल आरोहणका लागि खुला गरेको छ तर यो वर्ष आरोहीले २७ वटा हिमाल मात्र आरोहण गर्न अनुमति माग गरेका थिए।

‘अन्य हिमालको तुलनामा सगरमाथा आरोहणमा धेरै रुचि देखिन्छ’, नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले नागरिकसँग भने-‘आरोहीको रुचि कम भए पनि सरकारले खुला गरेका हिमाल आरोहणमा फेरि रोक लगाउने कुरा भएन।’ यो वर्ष कोरोना महामारीका कारण पनि हिमाल आरोहीको संख्या बढ्न नसकेको हो।

विभागका अनुसार यो सिजनमा हिमाल आरोहण गर्न ४४ समूहमा ९ सय ८६ जना गएका थिए। यसमध्ये २ सय ५१ पुरूष र ७४ महिला थिए। सगरमाथा आरोहण गर्ने कुल संख्या मात्र बढी होइन महिला आरोहीहरूको संख्या पनि उल्लेख्य छ। सगरमाथा आरोहण गर्न जानेहरू मध्ये कुल संख्याको २२ प्रतिशतभन्दा बढी महिला छन्।

यस्तै सरकारले हिमाल आरोहणबाट उठाउने राजस्व पनि सगरमाथाबाटै बढी असुली भएको छ। यो मौसममा सरकारले आरोहणबाट कुल ४९ करोड ३७ लाख रूपैयाँ राजस्व असुली गरेको छ। यसमध्ये सरगरमाथा आरोहणमा जानेबाट मात्र ४० करोड ७७ लाख रूपैयाँ संकलन भएको हो। यो कुल राजस्वको ८३ प्रतिशत हो।

विभागको तथ्यांक अनुसार यो मौसममा सगरमाथापछि सबैभन्दा धेरै आरोही ल्होत्से हिमाल चढ्न गएको देखिन्छ। ल्होत्से हिमाल आरोहणमा १५ टिमका १ सय ३५ जना गएकामा ३२ जना महिला थिए। सरकारले यो हिमाल आरोहणबाट २ करोड ८६ लाख रूपैयाँ राजस्व पाएको छ।

यो वर्ष सगरमाथा र ल्होत्सेबाहेक कुनै पनि हिमालले आरोहीलाई आकर्षित गर्न सकेको देखिदैन। यी दुई हिमालबाहेक अन्य २५ हिमालमध्ये कुनै पनि हिमालमा यो वर्ष एक सय जना आरोही गएका छैनन्। सरकारले २७ वटा हिमाल खुला गरे पनि यो तथ्यांकले धेरै हिमालमा आरोहीको रुचि नभएको देखाएको छ।

विभागको तथ्यांक अनुसार आरोही गएको संख्याका आधारमा तेस्रोमा परेको अमादब्लम हिमालमा यो मौसममा ९८ मात्र आरोही पुगेका छन्। यो हिमाल आरोहण गर्न १० जना समूहमा ८० पुरूष र १८ महिला गएका थिए। अमादब्लमपछि ५० जना आरोही जाने हिमाल तीन वटा मात्र छन्। यो वर्ष नुप्सेमा ७२ जना आरोही गएका थिए भने कञ्चनजंघामा ६९ जना मात्र पुगेका थिए। यस्तै मकालु हिमाल आरोहण गर्न यस वर्ष ५० जना गएका थिए।

विभागको तथ्यांक अनुसार यस वर्ष २७ वटा हिमाल आरोहणका लागि एक सय ३१ समूह गएकामा सगरमाथामा जाने समूह ४४ वटा थिए। यस्तै लोत्सेमा १५, अमादब्लममा १० र नुप्सेमा ९ समूह आरोहणका लागि गएको देखिन्छ। आरोहण गर्न एउटा मात्र समूह जाने हिमाल १३ वटा परेका छन् भने २ वटा समूह जाने तीन हिमाल रहेका छन्।

सरकारले हिमाल अनुसार आरोहण गरेको राजस्वदर पनि फरक फरक तोकेको छ। यस वर्ष आरोहणमा जाने संख्या अनुसार राजस्व संकलन भएको देखिन्छ। सरकारले विदेशीका लागि सगरमाथा आरोहण गर्न वसन्त ऋतुमा प्रतिव्यक्ति १ हजार १ सय, शरदमा ५ हजार ५ सय र अन्य सिजनमा २ हजार ७ सय ५० अमेरिकी डलर शुल्क तोकेको छ। नेपालीका लागि भने वसन्त ऋतुमा ७५ हजार, शरदमा ३७ हजार ५ सय र अन्य सिजनमा १८ हजार २ सय ५० रूपैयाँ प्रतिव्यक्ति शुल्क तोेकको छ।

यस्तै सगरमाथाबाहेक ८ हजार मिटरसम्मका अन्य हिमालमा विदेशी नागरिकलाई वसन्त ऋतुमा १ हजार ८ सय, शरदमा ९ सय र अन्य सिजनमा ४ सय ५० अमेरिकी डलर शुल्क लिने गरेको छ। नेपालीलाई भने यी हिमालमा क्रमशः १० हजार, ५ हजार र २५ सय रूपैयाँ रोयल्टी छ। ८ हजार मिटरमुनिका हिमालका लागी अझ कम रोयल्टी तिरेर हिमाल आरोहण गर्न सकिन्छ।

सगरमाथाबाहेक अन्य हिमालबाट सरकारले उल्लेख्य राजस्व पाउन सकेको छैन। सगरमाथापछि सबैभन्दा धेरै राजस्व कञ्चनजंघा हिमालबाट पाएको छ। यो हिमालबाट यस वर्ष एक लाख ८ हजार अमेरिकी डलर राजस्व उठेको हो। यस्तै नुप्सेबाट ५२ लाख ५३ हजार रूपैयाँ संकलन भएको छ।

प्रकाशित: ६ श्रावण २०७९ ०१:०६ शुक्रबार

सगरमाथाबाहेक अन्यमा देखिएन आकर्षण पर्यटन विभागको तथ्यांक