अर्थ

तस्करी हुँदै गरेको चुरोट प्रहरी नियन्त्रणमा

विरगञ्जको सुक्खा बन्दरगाहामा दुबैबाट भारत हुँदै आएको कन्टेनरमा ठूलो मात्रामा विदेशी चुरोट बरामद भएको छ। मुङको दाल भनि जाँचपास गराउन खोजेको कन्टेनरमा ५८ लाख भन्दा धेरै गुडाङ गरम र मोन्ड भेरियन्स ब्रान्डको चुरोट फेला परेको छ। गुडाङ गरम नामको चुरोट बजारमा प्रशस्त पाइए पनि भन्सारमा तस्कारी हुँदै गर्दा पक्राउ परेको घटना पहिलो हो।

नेपालमा विगत ५ वर्षमा चुरोटमा लाग्ने कर २ देखि ४ गुणा बढाएपछि चुरोट महँगो भएको हुँदा अत्यधिक कर लाग्ने भएकाले तस्करी गर्दा अधिक फाइदा हुने भएकाले चुरोटको तस्करी ह्वात्तै बढेको व्यावसायीहरूको आरोप छ। नेपालमा उत्पादन भई बिक्री हुने चुरोटमा कुल बिक्री मूल्यको ५५ देखि ७०% सम्म कर लाग्ने गरेको छ भने चुरोटमा स्वास्थ्य जोखिम कर, भन्सार, अन्तःशुल्क स्टिकर लगायतका कर सरकारले लिँदै आएको छ।

नेपालमा तेस्रो मुलुकबाट गैरकानुनी रूपमा तस्करी भइ काठमाडौं पोखरालगायतका शहरमा हुने अन्तर्राष्ट्रीय ब्राण्डहरू र सीमावर्ती क्षेत्रमा सीमापारबाट नेपाली ब्राण्डकै नक्कली चुरोट बनाइ गैरकानुनी रूपमा व्यापार हुने गर्दछ। सीमा क्षेत्रमा भने नेपालकै सबैभन्दा धेरै बिक्ने खुकुरी, शिखर लगायतका चुरोटहरू भारतमा गैरकानुनी रूपमा बनाइ नेपालमा तस्करी गरी सस्तो मूल्यमा बिक्री हुने गरेको व्यवसायीहरूले बताएका छन्।

गत वर्ष सूर्य नेपाल प्रालिको निवेदनमा भारतको मुजफरपुरमा रहेको नक्कली चुरोट उत्पादन गर्ने एक कम्पनीलाई कारबाही समेत भएको थियो। यी सबका बाबजुद धेरै कर लाग्ने उत्पादन भएकाले कर छल्दा ठूलो मुनाफा हुने भएको हुँदा तस्करी नियन्त्रण हुन सकेको छैन। जानकार स्रोतका अनुसार नेपालमा हुने अवैध चुरोट, खैनी, गुट्खा लगायतका अन्य सुर्तिजन्य पदार्थको तस्करी र अवैध व्यापारका कारण राज्यले एक वर्षमा कारिब ९५० करोडको राजस्व गुमाइ रहेको तथ्याङ्कले देखाएको छ।

प्रकाशित: ५ श्रावण २०७९ ०१:२४ बिहीबार

प्रहरी नियन्त्रणमा सुक्खा बन्दरगाहा