चितवनमा विषादी बिक्री गर्ने खुद्रा बिक्रेताको संख्या बढ्दै गएको छ। किसानहरूले विषादीको प्रयोग बढाउँदै गएपछि बिक्रेताको संख्या पनि बढ्दै गएको हो।
कृषि ज्ञान केन्द्र चितवनका अनुसार यो वर्षमात्रै ५६ वटा विषादी बिक्रेता थपिएका छन्। ‘हामीकहाँ विषादी बिक्री अनुमती दिनप र्यो भन्दै दैनिक २ वटा निवेदन आउने गर्दछन्,’ कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले भने– ‘हालसम्म चितवनमा ३७५ जनाले विषादी बिक्री गर्न अनुमती पाइसकेका छन्।’ पाण्डेका अनुसार अहिले गाउँगाउँसम्म विषादी बिक्री गर्ने एग्रोभेटहरू पुगिसकेका छन्।
जलवायु परिर्वतनका कारण पनि विषादी बढी प्रयोग हुँदै आएको उनले बताए। ‘क्लाइमेट चेञ्ज हुँदा खेतीपातीमा रोग किरा बढी देखिएका छन्। त्यसलाई निवारण गर्न कृषि प्राविधिकहरूले नै विषादी प्रयोग गर्न अनुमती दिनपरेको छ,’ उनले भने– ‘यसको प्रयोग बढ्नुमा कृषिमा व्यावसायीकरण हुनु पनि प्रमुख कारण हो।’ माटोमा सूक्ष्म खाद्य तत्वको कमी, रासायनिक मलको प्रयोग, उन्नत बीउको प्रयोगसँगै विषादीको प्रयोग बढ्दै गएको उनले बताए।
रोजगारीका लागि पनि मानिसहरूले पसलहरू थप्दै लगेको बताए। अन्य पेशा गर्न कठिन छ। ‘विषादी बेच्नका लागि सात दिने तालिम लिए पुग्छ,’ उनले भने– ‘पढाइ पनि कक्षा १० पास भए हुन्छ।’ उनले विषादी बिक्रेताको अनुमगन समेत हुन नसक्दा विषादीको जथाभाबी प्रयोग भैरहेको बताए। ‘विषादी बिक्रीको अनुमित दिने र अनुमगन गर्ने अधिकार बाली संरक्षण अधिकृतलाई छ। हामीसँग बाली संरक्षण अधिकृत नै छैनन्,’ उनले भने– ‘काठमाडौंबाट महिनामा दुई दिन अनुगमन गर्न आउने गरी व्यवस्था गर्नुपरेको छ।’ २०४८ को विषादी नियन्त्रण ऐन अनुसार तीन महिनामा उनीहरूको लाइसेन्स नवीकरण हुँदै आएको छ।
विगतभन्दा विषादी बढी प्रयोग गर्न किसान पनि बाध्य छन्। जसका कारण लागत मूल्य समेत बढ्दै गएको खैरहनी नगरपालिका १० खुरखुरेका तरकारी किसान सीताराम अर्याल बताउँछन्। साढे दुई बिघामा तरकारी खेती छ। प्रत्येक वर्ष विषादीको मात्रा बढाइरहनु परेको छ। यो वर्ष १ लाख ५० हजारको विषादी मात्रै प्रयोग गर्नुप र्यो, उनले भने– चार वर्षअघिसम्म ५० हजार रूपैयाँभन्दा बढी खर्च हुँदैनथ्यो।’ नयाँ नयाँ रोग देखा पर्दा समस्या थपिँदै गएको उनले सुनाए।
अधिकांश तरकारीमा विषादी
विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला नारायणगढमा विषादी मापन गर्दा पनि अधिकांश वस्तुमा विषादी नै देखिएको छ। ७३४ वटा नमुना परीक्षण गर्दा ७१२ वटामा विषादी देखिएको छ। त्यसमध्ये ३५ प्रतिशत भन्दा कम विषादी भेटिएको थियो। यसलाई खान योग्य मानिन्छ। ७ वटा नमुनामा ४५ प्रतिशतसम्म विषादी भेटिएको थियो। केही दिन क्वारेन्टाइनमा राखेर खान मिल्ने कृषि ज्ञान केन्द्रले जनाएको छ। त्यस्तै १५ वटा नमुना नष्ट गर्नुपर्ने अवस्थाका रहेका थिए।
नेपालमा वार्षिक आठ सय मेट्रिक टन विषादी खपत
नेपालमा विषादीको खपत पनि बढ्दै गएको छ। प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुँमागाइका अनुसार, नेपालमा वार्षिक ८ सय मेट्रिक टन विषादी प्रयोग भएको छ। ‘जिल्लाको मात्र तथ्याङ्क हामीले राखेका छैनौं, नेपालमा सन् २०१९ मा ६८५ मेट्रिकटन विषादी प्रयोग भएको थियो,’ हुँमागाइँले भने– ‘यसवर्ष ८०० मेट्रिक टन प्रयोग भैरहेको छ।’ उनका अनुसार तरकारी खेतीमा ढुसीनासक विषादी सबैभन्दा बढी प्रयोग हुँदै आएको छ। नेपालमा कीटनाशक, ढुसीनाशक, झारपात नाशक, व्याक्टेरिया नाशक, भाइरस नाशक विषादी बढी प्रयोग हुँदै आएका छन्। राज्यले २४ प्रकारका विषादी बेच्न प्रतिबन्ध लगाएको छ। विषादी प्रयोगमा कम गर्न जनचेतनामूलक काम आवश्यक रहेको उनले बताए। विषादीको प्रयोग गरेपछि समयको ख्याल गर्न उनले किसानहरूलाई समेत सुझाव दिएका छन्।
बढ्दो विषादी प्रयोगका कारण मानव स्वास्थ्यमा समेत असर देखिँदै आएको छ। भरतपुर बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका उपनिर्देशक डा. कृष्णसागर शर्मा अहिले विषादी प्रयोगबाट हुने क्यान्सरहरू बढ्दै गएको बताए। विषादीका कारण छालाको क्यान्सर बढी हुने सम्भावना हुन्छ। विषादी प्रयोग गरेको फलफूल तथा तरकारीले मधुमेह, पार्किन्सन्स जस्ता रोगहरू पनि देखा पर्ने उनले बताए।
प्रकाशित: ४ श्रावण २०७९ ०३:२१ बुधबार