अर्थ

हिमालयनले काठमाडौंसँग कुवेतलाई जोड्दै

हिमालयन एअरलाइन्सले आठौं अन्तर्राष्ट्रिय निर्धारित गन्तव्य र छैठौं गल्फ सिटी कुवेतमा आफ्नो पहिलो निर्धारित उडान सफलतापूर्वक सञ्चालन गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत शुक्रबार राती १०ः३२ बजे प्रस्थान गरी कुवेतबाट फर्कने क्रममा शनिबार बिहान ९ः१७ बजे काठमाडौं अवतरण गरेको एअरलाइन्सले जनाएको छ। एअरलाइन्सले हरेक शुक्रबार काठमाडौंदेखि कुवेत र हरेक शनिबार कुवेतदेखि काठमाडौं उडान सञ्चालन गर्ने जनाएको छ।

कम्पनीका प्रशासनिक उपाध्यक्ष विजय श्रेष्ठले हिमालय एअरलाइन्स एक प्रगतिशील वायुसेवा कम्पनी भएको जनाउँदै यसले यात्रुहरूलाई प्रभावकारी अन्तर्राष्ट्रिय हवाई सेवा उपलब्ध गराउँदै आएको बताए। उनले कोभिड र युक्रेन संकटबाट प्रभावित राष्ट्रिय अर्थतन्त्र र एअरलाइन्सका लागि यस नयाँ रुटमा सेवा सुचारु गर्दा केही सहजता प्रदान हुने अपेक्षा रहेको बताए।  

नेपाल र कुवेतबीच जनवरी २३, २००६ मा हवाई सेवा सम्झौता भएको हो। यस सन्दर्भमा काठमाडौंलाई कुवेतसँग सीधा उडान जोड्ने हिमालयन एअरलाइन्स नेपालको पहिलो वायुसेवा कम्पनी बनेको छ। साथै यो क्षेत्र सञ्चालनमा आएपछि रोजगारी, व्यापार र पर्यटनका लागि दुवै देशका यात्रुहरूको आवतजावतमा थप सहजता प्रदान हुने एअरलाइन्सको विश्वास छ।  

प्रकाशित: ३ श्रावण २०७९ ०३:२५ मंगलबार

हिमालयन एअरलाइन्स